टोकियो । जापानको प्रमुख कन्विनियन्स स्टोर चेन फ्यामिलि मार्टले आफ्ना हजारौँ शाखामा क्रेन गेम (क्ल–मेसिन) र केही कोइन–अप भिडियो गेमहरू स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। यो निर्णय स्टोरको भित्री स्थान (फ्लोर स्पेस) प्रयोगको रणनीतिमा भइरहेको परिवर्तनको हिस्साका रूपमा आएको हो।

गत वर्ष फ्यामिलीमार्टले धेरै शाखाबाट भित्रै बसेर खाने ‘इट–इन’ स्पेस क्रमशः हटाउने घोषणा गरेको थियो। त्यसैगरी, यस वसन्तदेखि हजारौँ शाखामा छापिएका म्यागजिनहरूको बिक्री पनि बन्द गरिएको थियो। अब भने ग्राहकलाई खाना, पेय पदार्थ र दैनिक उपभोग्य सामग्रीबाहेक पनि स्टोरमा रोकिएर रमाइलो गर्ने नयाँ कारण दिन क्रेन गेमलाई अघि सारिएको कम्पनीले जनाएको छ।

प्रचार सामग्रीमा देखाइए अनुसार फ्यामिलीमार्टमा राखिने क्रेन गेमहरू परम्परागत गेम सेन्टरका ठूला मेसिनभन्दा साना हुनेछन्। यस्ता साना मेसिनहरू एकअर्कामाथि राख्न मिल्ने भएकाले धेरै स्थान नओगटिकन विभिन्न प्रकारका पुरस्कारहरू राख्न सकिनेछ। यस्ता क्रेन मेसिनहरू सामान्यतया सपिङ मल र पर्यटकीय क्षेत्रमा देखिने गर्छन्।

फ्यामिलीमार्टका अनुसार यो कदमको एउटा प्रमुख उद्देश्य जापान भ्रमणमा आउने विदेशी पर्यटकहरूको माग पूरा गर्नु हो। जापान भ्रमण गर्दा क्रेन गेम खेल्नु धेरै पर्यटकहरूको ‘गर्नैपर्ने अनुभव’ को सूचीमा पर्ने भएकाले, विशेष गरी ठूला सहरका डाउनटाउन क्षेत्रका शाखामा यी मेसिनहरू बढी राखिनेछन्। साथै, उपनगरीय क्षेत्रमा परिवार र बालबालिकालाई आकर्षित गर्ने लक्ष्य पनि राखिएको छ। एक पटक खेल्न लाग्ने शुल्क १०० येन मात्र हुने बताइएको छ।

क्रेन गेमसँगै, फ्यामिलीमार्टले केही शाखामा पोकेमोन फ्राइन्दा नामक कोइन–अप गेम मेसिन पनि राख्ने योजना बनाएको छ। तर यो गेम खेल्न जापानी भाषा पढ्न सक्नुपर्ने र छुट्टै फिजिकल कार्ड आवश्यक पर्ने भएकाले, विदेशी पर्यटक केन्द्रित शाखामा भने सीमित मात्रामा राखिनेछ। हाल टोकियोका दुई शाखामा मात्रै यी पोकेमोन मेसिन सञ्चालनमा छन्।

फ्यामिलीमार्टले करिब ५ हजार शाखा, अर्थात् जापानमा रहेका आफ्ना हरेक तीनमध्ये एक शाखामा क्रेन गेम विस्तार गर्ने लक्ष्य लिएको छ। प्रतिस्पर्धी लसोन पनि हालै क्रेन गेमतर्फ आकर्षित भइसकेको अवस्थामा, अब सेभेनइलेवेनले पनि यस्तै कदम चाल्छ कि चाल्दैन भन्ने चासो बढेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार