टोकियो,जापान। जापानमा नयाँ वर्ष केवल पात्रोको मिति फेरिने समय होइन, यो जीवन, सम्बन्ध र संस्कृतिलाई पुनःसम्झिने तथा नयाँ संकल्पसहित अघि बढ्ने महत्वपूर्ण अवसर हो। जापानी समाजमा नयाँ वर्षलाई वर्षकै सबैभन्दा पवित्र र अर्थपूर्ण समयका रूपमा लिइन्छ। त्यसैले यहाँ नयाँ वर्षको तयारी हप्तौँ अगावै सुरु हुन्छ र यसको प्रभाव व्यक्तिगत जीवनदेखि पारिवारिक, सामाजिक तथा व्यवसायिक तहसम्म देखिन्छ।

नयाँ वर्ष सुरु हुनु अघि जापानमा घर–घरमा ओसोउजी(大掃除)अर्थात् ठूलो(बृहत)सरसफाइ गरिन्छ(हाम्रोमा दशैँमा जस्तै)। यसले पुरानो वर्षका नकारात्मकता, थकान र अव्यवस्थालाई विदा गरी नयाँ वर्षलाई सफा मन र वातावरणसहित स्वागत गर्ने भाव झल्काउँछ। घर, कार्यालय, पसल सबै ठाउँमा सरसफाइ गर्नु केवल व्यवहारिक काम होइन, यो मानसिक शुद्धताको प्रतीक पनि हो।

नयाँ वर्षको दिन परिवारसँगै बसेर विशेष परिकार खाने चलन छ। ओसेचि र्योरी (御節料理)जस्ता परम्परागत खानामा स्वास्थ्य, दीर्घायु, समृद्धि र सफलताको कामना लुकेको हुन्छ। साथै, नयाँ वर्षमा मन्दिर वा श्राइन गएर गरिने हात्सुमोदे ले मानिसलाई आत्मचिन्तन, आशा र नयाँ संकल्पसँग जोड्छ।

जापानी नयाँ वर्षको अर्को महत्वपूर्ण पक्ष भनेको पुस्ताबीचको सम्बन्ध हो। ठूलाले सानालाई ओतोसि दामा(御年玉)दिने परम्पराले माया, जिम्मेवारी र आशीर्वादलाई जोड्छ। यसले बालबालिकामा नयाँ वर्षप्रति उत्साह बढाउनुका साथै पारिवारिक न्यानोपनलाई मजबुत बनाउँछ।

निष्कर्षमा भन्नुपर्दा, जापानमा नयाँ वर्ष उत्सव मात्र होइन, जीवनलाई पुनःव्यवस्थित गर्ने, सम्बन्धलाई बलियो बनाउने र भविष्यप्रति सकारात्मक सोचसहित अघि बढ्ने समय हो। यही कारणले जापानी समाजमा नयाँ वर्षको महत्व गहिरो र दीर्घकालीन रूपमा स्थापित छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार