टोकियो,जापान। जापानको उत्तरपूर्वी प्रान्त यामागातामा उत्पादन हुने प्रिमियम जातको ‘सातो निसिकी’ नामक चेरीले यस वर्षको पहिलो बोलकबोलमै कीर्तिमानी मूल्य प्राप्त गरेको छ। सोमबार टोकियोको एक बजारमा भएको बोलकबोलमा एउटा बक्स चेरी १८ लाख येनमा बिक्री भएको हो, जुन प्रतिगोटा चेरीको मूल्य करिब २६ हजार येनभन्दा बढी पर्न जान्छ।

यस्तै, यामागाता प्रान्तकै तेन्दो सहरमा आयोजित अर्को बोलकबोलमा ६८ वटा चेरी रहेको एउटा बक्स १५ लाख ५५ हजार येनमा बिक्री भई नयाँ रेकर्ड कायम भएको छ। यामागाता प्रान्त जापानको मुख्य चेरी उत्पादन क्षेत्रका रूपमा चिनिन्छ।

सामान्यतया चेरीको सिजन गर्मीयामको सुरुवातमा पर्ने भए पनि यसपटक किसानहरूले ‘अल्ट्रा–फोर्स्ड’ खेती प्रविधि प्रयोग गरी समयभन्दा अगाडि नै उत्पादन बजारमा ल्याएका हुन्। यस प्रविधिमा चेरीका बोटलाई कृत्रिम रूपमा जाडोको अवस्था सिर्जना गरेर पछि हरितगृह (ग्रीनहाउस) मा राखी फल उत्पादन गरिन्छ।

तेन्दोमा सबैभन्दा महँगो बोली लगाउने जेए तेन्दो फुड्सका बिक्री उपप्रबन्धक केनिइची मानेनले यस वर्ष मौसम अस्थिर रहेकाले उत्पादन व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए। उनले ग्राहकलाई खुसी बनाउने गुणस्तरीय उत्पादन पुर्‍याउन आफूहरू अझ मेहनत गर्ने बताए।

जेए तेन्दो फुड्सले यी प्रिमियम चेरीहरू अनलाइनमार्फत पनि बिक्री गर्ने योजना बनाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार