टोकियो,जापान।
जापानी दैनिक पत्रिका सांकेइ सिनबुनले देशभरका मेयर तथा वडा प्रमुखहरूबीच गरेको सर्वेक्षणमा जापानका स्थानीय सरकारहरुको विदेशीप्रतिको धारणाको तथ्य बाहिर आएको हो। सर्वेक्षणमा जापानका १ हजार ७ सय ४१ मध्ये १ हजार ४ सय २२ जना मेयर तथा वडा प्रमुखहरूले प्रतिक्रिया दिएका थिए। तीमध्ये करिब ७० प्रतिशतले विदेशी बासिन्दा र आगन्तुकको वृद्धि आफ्ना समुदायमा प्रत्यक्ष प्रभाव पारिरहेको बताएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये ७६ प्रतिशतले विदेशीको बढ्दो उपस्थितिले सकारात्मक र नकारात्मक दुवै असर देखिएको बताएका छन्। २३ प्रतिशतले भने यसबाट केवल सकारात्मक प्रभाव मात्र परेको बताएका छन्, जबकि जम्मा १ प्रतिशतले मात्र यसलाई पूर्ण रूपमा नकारात्मक भनेका छन्।

सकारात्मक पक्षतर्फ हेर्दा, सबैभन्दा धेरै—८ सय ४५ जनाले—विदेशी कामदारहरूले श्रम अभाव समाधान गर्न मद्दत पुगेको बताएका छन्। त्यसपछि ५ सय ७८ जनाले पर्यटन तथा अन्य आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको उल्लेख गरेका छन्। ४ सय २१ जनाले जापानी समाजमा विविधता बढेको कुरालाई स्वागतयोग्य मानेका छन्।

तर नकारात्मक पक्ष पनि कम छैन। ५ सय १५ जनाले सांस्कृतिक र व्यवहारगत टकरावलाई मुख्य समस्या मानेका छन्। त्यसपछि ३ सय ५० जनाले शिक्षा प्रणालीमा देखिएका कठिनाइ, ३ सय ११ जनाले सार्वजनिक सुरक्षासम्बन्धी चिन्ता, र १ सय ८४ जनाले अत्यधिक पर्यटन (ओभरटुरिज्म) लाई चुनौतीका रूपमा औंल्याएका छन्।

यो सर्वेक्षणले जापानको तीव्र अन्तर्राष्ट्रियकरणले आर्थिक रूपमा राहत दिए पनि सामाजिक र सांस्कृतिक व्यवस्थापनमा नयाँ चुनौतीहरू थपिँदै गएको स्पष्ट संकेत गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार