टोकियो,जापान। जापानमा हरेक वर्ष मनाइने राष्ट्रिय सार्वजनिक बिदा सेइजिन नो हि (成人の日) युवाहरुको जीवनमा विशेष महत्व राख्ने दिन हो। यस दिनलाई Coming-of-Age Day का रूपमा चिनिन्छ, जसले युवाहरुको वयस्क जीवनमा प्रवेश, जिम्मेवारी र सामाजिक दायित्वको सुरुवातलाई संकेत गर्छ।

सेइजिन नो हिको अवसरमा देशभरका स्थानीय तहहरूले सेइजिनशिकी (成人式) नामक औपचारिक कार्यक्रम आयोजना गर्छन्। कार्यक्रममा सहभागी युवायुवतीहरू परम्परागत पोशाक – महिलाले फुरीसोदे किमोनो र पुरुषले हाकामा वा औपचारिक सूट, लगाएर सहभागी हुने प्रचलन छ। अभिभावक, स्थानीय जनप्रतिनिधि र समाजका अगुवाले उनीहरूलाई बधाई तथा प्रेरणादायी सन्देश दिने गर्छन्।

यो राष्ट्रिय बिदा हरेक वर्ष जनवरी महिनाको दोस्रो सोमबार पर्छ।यस वर्ष अर्थात् २०२६ मा सेइजिन नो हि जनवरी १२ (सोमबार) परेको छ।

जापान सरकारले कानुनी रूपमा वयस्क उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाइसकेको छ। त्यसअनुसार, यसपालि जापानमा १८ वर्ष पुगेका युवायुवतीको संख्या करिब १० लाख ९० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ। तीमध्ये करिब ५ लाख ६० हजार पुरुष र ५ लाख ३० हजार महिला रहेका छन्।

यद्यपि, सामाजिक र सांस्कृतिक परम्पराअनुसार धेरै स्थानीय तहहरूले अझै पनि २० वर्ष पुगेका युवाहरुलाई केन्द्रमा राखेर सेइजिनशिकी आयोजना गर्ने परम्परा कायम राखेका छन्।

घट्दो जन्मदर र बृद्ध हुँदै गएको समाजबीच पनि सेइजिन नो हि जापानी समाजमा पुस्ता हस्तान्तरण, जिम्मेवारी बोध र नागरिक चेतनाको प्रतीकका रूपमा विशेष महत्वका साथ मनाइँदै आएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार