चिबा, जापान
टोकियो नजिकै रहेको नरिता अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ मा अन्तर्राष्ट्रिय उडानमार्फत २ करोड ३९ लाख १० हजार विदेशी यात्रुको आवागमन दर्ता गर्दै लगातार दोस्रो वर्ष नयाँ कीर्तिमान बनाएको छ। विमानस्थल सञ्चालक नरिता इन्टरनेसनल एयरपोर्ट कर्पोरेसनले बिहीबार यसबारे जानकारी दिएको हो।

गत वर्षको तुलनामा विदेशी यात्रुको संख्या १० प्रतिशतले वृद्धि भएको बताइएको छ। हालैको उच्च यात्रु मागलाई मध्यनजर गर्दै विमान कम्पनीहरूले अमेरिका र चीनका विभिन्न गन्तव्यसँग जोडिने नयाँ उडान मार्ग सुरु गर्नुका साथै उडान संख्या विस्तार गरेकाले यो वृद्धि सम्भव भएको कम्पनीको भनाइ छ।

कम्पनीका अध्यक्ष नाओकी फुजीले पत्रकार सम्मेलनमा भने, “नरिता जापानको सबैभन्दा ठूलो प्रवेशद्वारका रूपमा काम गरिरहेको छ। इनबाउन्ड पर्यटन प्रवर्द्धन गर्न सकेमा यात्रुको संख्या अझै बढ्न सक्छ।” उनले जापानले पहिलोपटक ४ करोडभन्दा बढी विदेशी पर्यटक स्वागत गरेको सन्दर्भ पनि उल्लेख गरे।

चिबा प्रान्तमा अवस्थित नरिता विमानस्थलमा विदेशी यात्रुसँगै जापानी नागरिक तथा आन्तरिक उडानका यात्रुहरू समेत जोड्दा कुल आवागमन ४ करोड २२ लाख ६० हजार पुगेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार