टोकियो, जापान । जापानमा बसोवास गरिरहेका नेपाली अभिभावकहरूका लागि खुसीको खबरका रूपमा टोकियोमा “पाठशाला ईन्टरनेश्नल स्कुल” सञ्चालनमा आएको छ। नेपाली समुदायका बालबालिकाहरुका साथै जापानमा बसोवास गर्ने अन्य विदेशी समुदाय लक्षित गरी स्थापना गरिएको यस विद्यालयले गुणस्तरीय, आधुनिक र प्रगतिशील शिक्षामार्फत बालबालिकाको चौतर्फी विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। विदेशमा आफ्ना नानीबाबुहरूलाई मातृभाषा, संस्कार र अन्तर्राष्ट्रिय स्तरको शिक्षा सँगसँगै दिलाउने अभिभावकहरूको चाहनालाई यस विद्यालयले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

विद्यालयले हालै सार्वजनिक गरेको आफ्नो पाठ्यक्रममा परम्परागत घोकन्ते शिक्षाभन्दा फरक, व्यवहारिक र सहभागितामूलक सिकाइ पद्धतिमा विशेष जोड दिइएको छ। “प्रोग्रेसिभ कोर मेथड” नाम दिइएको शिक्षण विधिअन्तर्गत विद्यार्थीहरूलाई कक्षाकोठाभित्र सीमित नराखी सक्रिय छलफल, समूहकार्य, परियोजना निर्माण तथा वास्तविक जीवनका समस्या समाधानमा सहभागी गराइने व्यवस्था गरिएको छ। यसले बालबालिकामा रचनात्मकता, आलोचनात्मक सोच, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने विद्यालयको विश्वास छ।

विद्यालयको पाठ्यक्रममा भाषा, गणित, विज्ञान र सामाजिक अध्ययनजस्ता आधारभूत विषयहरूसँगै STEAM शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) समावेश गरिएको छ। त्यसैगरी संगीत, नाटक, सिर्जनात्मक कला तथा अतिरिक्त क्रियाकलापहरूलाई पनि प्राथमिकतामा राखिएको छ, जसले विद्यार्थीहरूको प्रतिभा पहिचान र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

विद्यालयका संस्थापक शारद खड्काद्वारा प्राप्त जानकारी अनुसार, जापानमा हुर्किरहेका नेपाली मूलका बालबालिकाहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शिक्षा प्रदान गर्नुका साथै उनीहरूलाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोडिराख्नु विद्यालयको मुख्य उद्देश्य हो। “विद्यार्थीलाई केवल परीक्षा उतिर्ण गराउने होइन, जीवनका लागि सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक बनाउने हाम्रो लक्ष्य हो,” उनले बताईन्।

पाठशाला अन्तर्राष्ट्रिय विद्यालय सञ्चालनमा आएसँगै टोकियो तथा आसपास क्षेत्रमा बसोवास गर्ने नेपाली अभिभावकहरूमा उत्साह थपिएको छ। आफ्नै समुदायमै अन्तर्राष्ट्रिय स्तरको विद्यालय विकल्पका रूपमा थपिनु नेपाली डायस्पोराका लागि सकारात्मक उपलब्धि मानिएको छ।

थप जानकारीका लागि – Pathashala International School Japan

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार