टोकियो, जापान। जापानस्थित नेपाली हिन्दू समुदायलाई लक्षित गर्दै आगामी फेब्रुअरी १४ देखि १६ तारिखसम्म ३ दिने शिव महापुराण तथा महाशिवरात्री मेला आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक पर्वत समाज जापान ले जनाएको छ।

आयोजक पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाका अनुसार “धर्म, संस्कृति र सेवाको यो महाअभियानमा सहभागी बनौं” भन्ने मूल नारासहित सञ्चालन हुने कार्यक्रममा शिव महापुराण पाठ, पूजा–आरती, भजन–कीर्तन तथा सांगीतिक कथा प्रवचनलगायत विविध धार्मिक कार्यक्रम समेटिएका छन्। कार्यक्रम फेब्रुअरी १४, १५ र १६ गते लगातार ३ दिन सञ्चालन हुनेछ।

कार्यक्रमको पहिलो दिन फेब्रुअरी १४ शनिबार बिहान पूजा–अर्चना, आरती तथा पुष्पाञ्जलीबाट शुभारम्भ हुनेछ। त्यसपछि पाठ पारायण, सांगीतिक कथा प्रवचन तथा साँझ भजन संकीर्तन कार्यक्रम सञ्चालन गरिने तालिका छ। दोस्रो दिन फेब्रुअरी १५ आइतबार महाशिवरात्रिको मुख्य अवसर पारेर विशेष पूजा, बोलबम अर्पण, महामृत्युंजय संकीर्तन, शिवरात्री विशेष सांगीतिक शिव कथा प्रवचन तथा दाता सम्मान कार्यक्रम राखिएको छ।

तेस्रो तथा अन्तिम दिन फेब्रुअरी १६ सोमबार पनि पूजा–आरती, पाठ पारायण, भजन संकीर्तन तथा सांगीतिक प्रवचनपछि समापन सत्र आयोजना गरिने जनाइएको छ।

कार्यक्रममा चर्चित कथा वाचक पण्डित श्री गिरिराज पौडेल को विशेष उपस्थितिमा शिव महापुराण वाचन तथा प्रवचन हुने आयोजकले जानकारी दिएको छ। साथै कार्यक्रममा भजन लगायत सांगीतिक भक्ति कार्यक्रम पनि समावेश गरिनेछ।

उक्त धार्मिक महोत्सव टोकियोस्थित बारकाडे गुड टाईम्स हलमा सञ्चालन हुने तय भएको छ। जापानमा बसोबास गर्ने नेपाली समुदायलाई परिवारसहित सहभागी भई आध्यात्मिक लाभ लिन आयोजकले आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार