टोकियो, जापान । महाशिवरात्री पर्वको पावन अवसर पारेर बिहुँकोट समाज जापानले यस वर्ष पनि विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूझैँ यस वर्ष पनि फेब्रुअरी १५ तारिख, शिवरात्रिको दिन टोकियोस्थित कामता चौतारो हलमा शिव पूजा, धौलागिरी भजन समूहको विशेष भजन–कीर्तन तथा झाँकीसहित कार्यक्रम गरिने समाजले जनाएको छ ।

समाजकाअध्यक्ष टिकाराम कँडेलका अनुसार विदेशमा रहेर पनि हिन्दु धर्मका चाडपर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमलाई अझ व्यवस्थित बनाउन फणिन्द्र शर्मा सुवेदीको मुख्य संयोजकत्वमा व्यवस्थापन टोली गठन गरिएको छ। सो टोलीलाई कार्यक्रम सञ्चालनसम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ।

हिन्दु धर्ममा भगवान शिवको विशेष महत्व रहेकाले शिव महिमालाई केन्द्रमा राख्दै धार्मिक विधिअनुसार यज्ञ मण्डप निर्माण गरी पूजा सञ्चालन गरिने संयोजक सुवेदीले जानकारी दिए। कार्यक्रममा मूल पुरोहितका रूपमा आचार्य हरि रिजाल रहने तय भएको छ।

धार्मिक आस्थाका साथ आयोजना हुने उक्त कार्यक्रममा जापानवासी जो–कोही पनि उपस्थित भई कर्ताका रूपमा पूजा गर्न वा दर्शन गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। सबैलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरिएको छ।

दिउँसो ४ बजेदेखि शुभारम्भ हुने कार्यक्रम भोलिपल्ट बिहानसम्म सञ्चालन हुने जनाइएको छ। विगत वर्षहरूमा भव्य रूपमा सम्पन्न हुँदै आएको शिवरात्री पर्व जापानमा रहेका नेपाली समुदायका लागि धार्मिक पहिचानकै रूपमा स्थापित बन्दै गएको समाजले जनाएको छ। यस परम्परालाई यस पटक पनि निरन्तरता दिइने बताईएको छ।

यसैबीच, सोही दिन कान्साई क्षेत्रमा पनि समानान्तर कार्यक्रम आयोजना गरिने बिहुँकोट समाज जापान कान्साई (ओसाका) समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार