टोकियो,जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको एक उच्चस्तरीय प्यानलले अस्पताल तथा स्वास्थ्य सेवासम्बन्धी शुल्क वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यस निर्णयले स्वास्थ्यकर्मीहरूको तलब वृद्धि, बढ्दो महँगी व्यवस्थापन तथा टेलिहेल्थ सेवाको विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।

प्यानलले शुक्रबार अनुमोदन गरेको नयाँ शुल्क संरचनाअनुसार सार्वजनिक स्वास्थ्य बीमाअन्तर्गत पर्ने अस्पताल सेवामा बिरामीहरूले तिर्नुपर्ने रकम विभिन्न शीर्षकमा बढ्नेछ। महँगीको प्रभाव सम्बोधन गर्न सरकारले नयाँ शुल्क श्रेणी सिर्जना गर्दै हरेक बिरामीको परामर्श शुल्कमा अतिरिक्त २० येन सम्म असुल गर्न अस्पताललाई अनुमति दिएको छ।

त्यसैगरी, आकस्मिक तथा जटिल अवस्थाका बिरामी भर्ना गर्दा अधिकतम ५८० येन सम्म थप शुल्क लिन पाइनेछ। यी नयाँ शुल्कहरू आगामी जुन महिनादेखि लागू हुनेछन् र सन २०२७ जुन देखि दोब्बर बनाइने योजना रहेको छ।

अस्पताल बसाइसम्बन्धी अन्य सेवामा पनि लागत वृद्धि हुनेछ। बिरामीले आफैं तिर्ने अस्पताल भोजन शुल्क प्रति खाना ४० येन ले बढ्नेछ भने विद्युत् तथा अन्य उपयोगिता शुल्क दैनिक ६० येन ले वृद्धि गरिनेछ।

जापानमा हरेक दुई वर्षमा हुने समग्र स्वास्थ्य सेवा शुल्क पुनरावलोकनमार्फत अस्पताल र क्लिनिकमा गरिने उपचार, सेवा तथा औषधिको मूल्य निर्धारण गरिन्छ। वृद्ध जनसंख्या तीव्र रूपमा बढ्दै गएको र स्वास्थ्य आवश्यकता विविध बन्दै गएकाले यस्तो पुनरावलोकनलाई सरकारले प्रमुख नीतिगत औजारका रूपमा प्रयोग गर्दै आएको छ।

पछिल्लो समायोजनअनुसार आगामी दुई वर्षमा स्वास्थ्य सेवा शुल्क औसत ३.०९ प्रतिशतले बढ्नेछ भने औषधिको सरकारी मूल्य भने ०.८७ प्रतिशत ले घटाइनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार