जापानमा पछिल्ला वर्षहरूमा श्रम अभाव पूर्ति गर्न विदेशी कामदारको संख्या तीव्र रूपमा बढ्दै गएको छ। उत्पादन, निर्माण, कृषि, खाद्य प्रशोधनदेखि होटल, रेस्टुरेन्ट क्षेत्रसम्म हजारौँ नेपालीसहित विभिन्न देशका कामदार कार्यरत छन्। तर रोजगारीसँगै जोखिम पनि बढिरहेको तथ्य हालका श्रम दुर्घटनाका घटनाले देखाउन थालेको छ। विशेषगरी कारखाना तथा मेसिन अपरेटिङ कार्यमा संलग्न केही विदेशी कामदार मेसिनमा च्यापिएर ज्यान गुमाउने घटनाहरू सार्वजनिक हुने गरेका छन् ।  यो विषय गम्भीर चिन्ताको रूपमा उठेको छ।

उपलब्ध पछिल्लो श्रम सुरक्षा तथ्यांकअनुसार सन् २०२४ मा कामसम्बन्धी दुर्घटनामा परेका विदेशी कामदारको संख्या ६ हजारभन्दा बढी पुगेको छ भने सो अवधीमा  ३९ जनाले ज्यान गुमाएका छन्। श्रम विज्ञहरूका अनुसार यीमध्ये उल्लेख्य हिस्सा औद्योगिक मेसिन, प्रेस, कटिङ उपकरण, कन्वेयर लाइन जस्ता भारी उपकरणसँग सम्बन्धित दुर्घटनासँग जोडिएका छन्। “च्यापिने” वा “मेसिनमा बेरिने” प्रकृतिका दुर्घटना विदेशी कामदारमा प्रमुख जोखिमका रूपमा देखिएका छन्।

किन हुन्छन् यस्ता दुर्घटना ?
यसबारेमा विशेषज्ञहरूले केही साझा कारण औँल्याएका छन्। जसमा भाषा अवरोध,अपुग सुरक्षा तालिम,अनुभवको कमी,खतरनाक काममा विदेशीको बढी प्रयोग,सञ्चार कमजोरी जस्ता कुराहरु रहेका छन् ।

बढी जोखिम हुने क्षेत्रहरु के के हुन् त ?
उत्पादन/म्यानुफ्याक्चरिङ कारखाना,निर्माण क्षेत्र,कृषि तथा खाद्य प्रशोधन,औद्योगिक मेसिन सञ्चालन लगायतका क्षेत्रहरु तुलनात्मकरुपमा बढि जोखिमपूर्ण मानिन्छ।  यी क्षेत्रमा प्रेस मेसिन, रोलर, ब्लेड, कन्वेयर, फोर्कलिफ्ट जस्ता उपकरण प्रयोग हुने भएकाले दुर्घटनाको सम्भावना उच्च हुन्छ।

नेपाली कामदारले विशेष ध्यान दिनुपर्ने कुराहरू
यस्ता कार्यस्थल दुर्घटनामा केहि नेपालीहरुले पनि ज्यानै गुमाएका घटनाहरु छन्। त्यसैले जापानमा कार्यरत वा आउन तयारीमा रहेका नेपालीहरुले पनि यसबारेमा सजग हुन जरुरी छ।

जापानमा कार्यस्थलमा,मेसिन तालिम नलिई काम सुरु नगर्नुहोस्,तालिम औपचारिक रूपमा पाएको सुनिश्चित गर्नुहोस्।सुरक्षा उपकरण अनिवार्य प्रयोग गर्नुहोस्। हेल्मेट, ग्लोभ्स, सेफ्टी शुज, गार्ड आदि प्रयोग नगरी काम नगर्नुहोस्।खतरा’ संकेत चिन्ह बुझ्नुहोस् । यहाँ काम गर्दा  जापानी सुरक्षा चिन्ह र चेतावनी शब्दहरू सिक्नु महत्त्वपूर्ण हुन्छ।थकानमा,तथा तनावको समयमा सकभर मेसिन नचलाउनुहोस्,उक्त अवस्थामा लामो ड्युटी वा निद्रा अभावका कारण  दुर्घटना हुने जोखिम उच्च रहन्छ।आपतकालीन बटन/स्विचहरु थाह पाईराख्नुहोस् ताकि,आकस्मिकअवस्थामा मेसिन बन्द गर्न तथा अन्य सहकर्मीबाट सहयोग लिन सहज हुनेछ ।

अन्त्यमा, जापान रोजगारीका अवसरले भरिएको देश भए पनि यहाँको औद्योगिक कार्यसंस्कृति अत्यन्त अनुशासित र जोखिमयुक्त पनि छ। विशेषगरी मेसिन अपरेटिङ क्षेत्रमा सानो लापरबाहीले ज्यानै जानसक्ने अवस्था हुन्छ। पछिल्ला मेसिन दुर्घटनाका घटनाहरूले सबै विदेशीहरु (नेपालीसहित)कामदारलाई गम्भीर सचेतना अपनाउनुपर्ने सन्देश दिएका छन्। याद गरौँ रोजगारी महत्वपूर्ण कुरा हो, तर जीवन त्योभन्दा अमूल्य छ। सुरक्षा नियम पालना गर्नु नै जापानमा दीर्घकालीन सुरक्षित बसाइ र कामको आधार हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार