टोकियो,जापान। नेपाल र जापानबीचको गहिरो मित्रता र सांस्कृतिक समानतालाई कलात्मक रूपमा प्रस्तुत गर्दै नयाँ म्युजिक भिडियो ‘यो मन’ सार्वजनिक भएको छ। महानायक राजेश हमाल र जापानमा ३६ वर्षदेखि बसोबास गर्दै आएका नरेश महर्जनको विशेष संवादबाट सुरु हुने यो गीतले दुई देशबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ।

नरेश महर्जनका शब्दहरुमा, हरिशरण सायमीको संगित अनि प्रताप दासको स्वरमा सजिेको गितको भिडियोको प्रारम्भमा महानायक राजेश हमाल र नरेश महर्जनबीचको भेटघाट र जापान बसाइका अनुभवहरू साटासाट गरिएको छ। नरेश महर्जनले आफू राजेश हमालको ‘युगदेखि युगसम्म’ फिल्म चल्दा जापान आएको र अहिले ३६ वर्ष बितिसकेको स्मरण गराउँछन्। यो संवादले दर्शकहरूलाई गीतको मुख्य भावभूमिमा प्रवेश गराउँछ।

‘यो मन’ गीतको मुख्य सन्देश जापानमा रहेर पनि त्यहाँको संस्कृति, रहनसहन र रीतिरिवाज नेपालसँग मिल्दोजुल्दो भएकाले आफ्नोपनको महसुस हुने कुरामा केन्द्रित छ। भिडियोमा जापानको प्रसिद्ध गियोन माचुरी र नेपालको रातो मच्छिन्द्रनाथको जात्रा, चामल कुट्ने परम्परा, र जीवन्त देवी (जापानको चिगो र नेपालको कुमारी) जस्ता सांस्कृतिक समानताहरूलाई सुन्दर ढंगले देखाइएको छ। यसका साथै, जापानको फुजी हिमाल र नेपालको सगरमाथा, परम्परागत बाजागाजा, नाचगान र योमरी जस्ता खानपानका समानताहरू पनि प्रस्तुत गरिएका छन्।

गीतले भौगोलिक दूरी जतिसुकै भए पनि मन र माया सधैं नेपालकै हुने र मातृभूमिको याद आइरहने मार्मिक भावनालाई व्यक्त गर्दछ। यसले नेपाल र जापानको कला, संस्कृति र रहनसहनमा रहेका गहिरो समानताहरूलाई प्रकाश पार्दै दुई देशबीचको दौत्य सम्बन्ध सधैं अटुट र प्रगाढ रहने सन्देश दिएको छ।

अन्त्यमा, ‘यो मन’ म्युजिक भिडियोले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धको फूल सधैं फक्रिरहोस् भन्ने कामना गरेको छ। यो गीतले दुई देशका नागरिकहरूबीचको सद्भाव र समझदारीलाई अझ बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार