बैंक अफ जापानका गभर्नर उएदा काजुए

टोकियो,जापान। जापानको केन्द्रीय बैंक बैंक अफ जापानले मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण उत्पन्न आर्थिक अनिश्चितताबीच आफ्नो ब्याजदर यथावत् राख्ने सम्भावना उच्च देखिएको छ। बुधबारदेखि सुरु हुने दुईदिने मौद्रिक नीति बैठकमा दर वृद्धि नहुने प्रायः निश्चितजस्तै देखिएको अर्थशास्त्रीहरूले बताएका छन्।

अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वले तेलको मूल्य तीव्र रूपमा बढाएपछि विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ। मिजुहो रिसर्च एन्ड टेक्नोलोजीजका वरिष्ठ अर्थशास्त्री युसुके कोसियामाले वर्तमान अवस्थामा अनिश्चितता अत्यधिक भएकाले तत्काल दर वृद्धि नगर्ने अपेक्षा गरिएको बताएका छन्।

ब्लूमबर्गले गरेको सर्वेक्षणअनुसार सहभागी ५१ जना अर्थशास्त्रीमध्ये कसैले पनि यस साता दर वृद्धि हुने अपेक्षा गरेका छैनन्। उनीहरूबीच भने भविष्यको निर्णयबारे मत विभाजित छ—करिब ३७ प्रतिशतले अप्रिलमा, २२ प्रतिशतले जुनमा र २९ प्रतिशतले जुलाईमा दर बढ्न सक्ने अनुमान गरेका छन्।

बैंक अफ जापानका गभर्नर काजुओ उएदाले मध्यपूर्वको अवस्थाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा नजिकबाट निगरानी गरिरहेको बताएका छन्। उनका अनुसार तेलको मूल्य बढ्दा मुद्रास्फीति बढ्न सक्छ, तर लामो समयसम्म मूल्य उच्च रहे उपभोग घट्ने, कम्पनीको नाफा घट्ने र तलब वृद्धि रोकिने जोखिम पनि रहनेछ, जसले उल्टै मन्दी (डिफ्लेशन) को दबाब सिर्जना गर्न सक्छ।

गत डिसेम्बरमा बैंक अफ जापानले ब्याजदर ०.५ प्रतिशतबाट बढाएर ०.७५ प्रतिशत पुर्‍याएको थियो, जुन करिब ३० वर्षयताकै उच्च स्तर हो। तर वर्तमान अवस्थाले थप वृद्धि तत्काल सम्भव देखिँदैन।

यता जापानकी प्रधानमन्त्री सानाए ताकाइची पनि कडा मौद्रिक नीति (दर वृद्धि) प्रति खासै इच्छुक नदेखिएको बताइएको छ। सहज मौद्रिक नीतिले शेयर बजारलाई सहयोग गर्ने भएकाले सरकारले पनि सावधानी अपनाउने सम्भावना छ।

जापानी येन हाल अमेरिकी डलरको तुलनामा कमजोर बन्दै करिब १५९ येन आसपास पुगेको छ। यदि यो १६० येन नाघ्यो भने सरकारले हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ। वित्त मन्त्री सात्सुकी कातायामा ले हालको विनिमय दर वास्तविक आर्थिक आधारमा नभएको भन्दै आवश्यक परे कदम चाल्ने संकेत दिएकी छन्।

यसका साथै “शुन्तो” वसन्तकालीन तलब वार्ताले पनि बैंक अफ जापानको आगामी निर्णयमा प्रभाव पार्ने देखिएको छ। श्रमिक संगठन रेंगोले औसत ५.९४ प्रतिशत तलब वृद्धि माग गरेको छ, जसको प्रारम्भिक नतिजा आगामी साता सार्वजनिक हुने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार