टोकियो। जापानको टोकियोस्थित नाकानो क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सामाजिक तथा भोलेन्टियर सेवा गर्दै आएका नेपाली नागरिक शरद कुमार गौचनलाई सम्मान गरिएको छ। नाकानो कोकुसाई कोर्युखाईको पहलमा आयोजित कार्यक्रममा नाकानो नगरका मेयर साकाई नाओतोले गौचनलाई औपचारिक रूपमा सम्मान प्रदान गरेका हुन्।

गौचनले करिब दुई दशकदेखि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरू—विशेषगरी नेपाली समुदायलाई विभिन्न प्रकारका सहयोग प्रदान गर्दै आएका छन्। नाकानो, सेटागाया, नेरिमा र सुगिनामि क्षेत्रलाई समेट्ने च्युओ लाइन आसपास बसोबास गर्ने करिब ५० भन्दा बढी देशका १० हजारभन्दा बढी विद्यार्थी तथा अन्य नागरिकलाई उनले निरन्तर सहयोग पुर्‍याउँदै आएको उल्लेख गरिएको छ।

नाकानो कोकुसाई कोर्युखाईमार्फत सञ्चालित गतिविधिहरूमा संलग्न रहँदै उनले भाषा, बसोबास, सामाजिक समायोजन तथा दैनिक जीवनसँग सम्बन्धित विविध क्षेत्रमा विदेशी नागरिकलाई सहयोग गर्दै आएका छन्। उनको यस योगदानलाई जापानी समाजले उच्च मूल्यांकन गरेको आयोजकले जनाएको छ।

यस वर्षको सम्मान कार्यक्रममा अधिकांश सम्मानित व्यक्तिहरू जापानी नागरिक भए पनि विदेशीमध्ये गौचन पहिलो नेपालीका रूपमा सम्मानित भएका हुन्। साथै, एक जना चिनियाँ महिलाले पनि यसपटक सम्मान प्राप्त गरेकी थिइन्।

गौचन नेपाली समुदायका एक अग्रज व्यक्तित्वका रूपमा चिनिन्छन्। आफ्नो मुख्य पेशा व्यवसायसँगै उनले सामाजिक सेवामा देखाएको सक्रियता र योगदानले जापानमा रहेका नेपाली समुदायको पहिचान र प्रतिष्ठा थप उचाइमा पुर्‍याएको विश्वास गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार