टोकियो, जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालन भएको मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति परिचित गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो।

परदेशमा रहेर पनि नेपाली मौलिक परम्परा, संस्कृति र पहिचानलाई जोगाउने लक्ष्यसहित आयोजित मेलामा उल्लेखनीय संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।

मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रस्तुतिहरू, परम्परागत खेलकुद तथा नेपाली खानाका परिकारहरूले विशेष आकर्षण थपेका थिए। नेपालबाट आमन्त्रित कलाकारहरूको प्रस्तुति तथा जापानमै रहेका स्थानीय कलाकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

मेला स्थलमा निर्माण गरिएको बागलुङ कालिका मन्दिरको प्रतिकृति तथा बाघको शालिकले दर्शकहरूको विशेष ध्यान आकर्षित गरेको थियो। नेपाली कला, संस्कृति, भेषभूषा तथा परम्परागत झाँकीहरूले मेलाको रौनक थपेका थिए।

यसैबीच, दोस्रो चैत्राष्टमी (चैते दशैं) मेला–२०२६ को अवसरमा लोक तथा दोहोरी गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न सम्मान’ प्रदान गरिएको छ।बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–धम्जाका स्थायी बासिन्दा रहेका खड्कालाई जापानमा रहेर नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

मेलाका क्रममा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाएर सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरूले खड्काको योगदानको उच्च प्रशंसा गरेका थिए।

विगत लामो समयदेखि जापानमा बसोबास गर्दै आएका खड्काले नेपाली मौलिक लोकदोहोरी गीतसंगीतको संरक्षण, प्रवर्द्धन र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

आयोजकका अनुसार ‘बागलुङ रत्न सम्मान’ मार्फत जिल्लाबाट उत्पत्ति भई विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार