टोकियो। जापान सरकारले आकस्मिक अवस्था वा आक्रमणको समयमा सुरक्षात्मक उपाय मजबुत बनाउन भूमिगत सपिङ मल, रेल स्टेशन तथा सबवेहरूलाई आपतकालीन बंकरका रूपमा प्रयोग गर्ने योजना अघि बढाएको छ। सम्बन्धित स्रोतहरूका अनुसार सरकारले निजी स्वामित्वमा रहेका भूमिगत संरचनाहरूलाई समेत सुरक्षा प्रयोजनका लागि प्रयोगमा ल्याउने तयारी गरिरहेको हो।

हाल देशभर रहेका आपतकालीन आश्रयस्थलमध्ये झण्डै ९० प्रतिशत सार्वजनिक स्वामित्वमा रहेका विद्यालय जस्ता संरचनाहरू छन्। तर अब निजी भूमिगत स्थानहरूलाई पनि सुरक्षित र प्रभावकारी बंकरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। मन्त्रिपरिषद्ले यससम्बन्धी योजना यही महिनाभित्र अन्तिम रूप दिने र प्रत्येक ५ वर्षमा पुनरावलोकन गर्ने तयारी गरेको बताइएको छ।

सन् २०२५ अप्रिलसम्म जापानले करिब ६१ हजार अस्थायी आश्रयस्थललाई क्षेप्यास्त्र आक्रमणबाट उत्पन्न विस्फोट सहन सक्ने क्षमतायुक्त रूपमा वर्गीकृत गरेको छ। तर तीमध्ये केवल करिब ४ हजार मात्रै भूमिगत संरचनामा अवस्थित छन्।

नयाँ प्रस्तावअनुसार सपिङ मल, सबवे, पार्किङ क्षेत्र जस्ता भूमिगत संरचनाका मालिकहरूलाई केही घण्टादेखि केही दिनसम्मको आकस्मिक अवस्थाका लागि आवश्यक खाद्यान्न, बिजुली आपूर्ति तथा अन्य आधारभूत सामग्री तयारी अवस्थामा राख्न अनुरोध गरिनेछ। साथै, ठूला रेल स्टेशन र नयाँ निर्माण हुने विशाल संरचनाहरूमा भूमिगत बंकरको व्यवस्था अनिवार्य जस्तै बनाउन पनि सुझाव दिइएको छ।

सरकारले निजी क्षेत्रको सहभागिता बढाउनका लागि भवनको फ्लोर एरिया रेसियो (FAR) सम्बन्धी नियमहरू केही खुकुलो बनाउने लगायतका प्रोत्साहनसमेत दिने विषयमा विचार गरिरहेको छ।

यी भूमिगत स्थानहरू केवल आक्रमणका बेला मात्र नभई भूकम्प जस्ता ठूला प्राकृतिक विपद्का समयमा फसेका मानिसहरूका लागि अस्थायी आश्रयस्थलको रूपमा पनि उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार