टोकियो,जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘साकुराको फेदमुनि’ साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम चिबा केनको इचिकावा स्टेशन नजिक रहेको साकुरा चचुमी पार्कमा आयोजना गरिएको थियो।

कार्यक्रममा अनेसास जापानका अध्यक्ष आनन्द अधिकारी सभाध्यक्ष रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा साकुराको रुखलाई प्रतीकात्मक रूपमा राखिएको थियो।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव, गायक तथा संगीतकार रामकृष्ण बम मल्लले मन्तव्य राख्दै यस्ता साहित्यिक संस्थाहरूले कार्यक्रम सञ्चालनसँगै नेपाली भाषाको शुद्धताका विषयमा पनि विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

सांगीतिक प्रस्तुतितर्फ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य सूर्य खड्का तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जापानका अध्यक्ष समुन्द्रराज पौडेलले गीत प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए।

कार्यक्रममा डा. कुमार बस्नेत, प्रकाश पौडेल ‘माइला’, विष्णु प्रसाद घिमिरे, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा, अरुण पौडेल, मञ्जु गिरी, गृष्मा पौड्याल,डिजी शर्मा, सुजन बैरागी, लक्ष्मण भन्तना, निरज पाण्डे, नवीन कँडेल, जमुना रेग्मी, दिपेश गिरी, अप्सरा सुनार, शारदा पाण्डे, सुजता शर्मा, विष्णु सुबेदी, विश्वबन्धु भण्डारी, प्रिजम न्यौपाने, सुवास पोख्रेल, विनोद सापकोटा, सविना रेग्मी  तथा दीपा घिमिरे लगायतका स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्दै नेपाली नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको संयोजन अनेसास जापानका सचिव यमलाल कँडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–कोषाध्यक्ष सरिता चौधरीले व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन संस्थाका महासचिव मनोज मौसम केसीले गर्नुभएको थियो।

विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसहित करिब ७०–८० जनाको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले घरबाट ल्याइएका सेलरोटी, बटुक रोटी, अचार, पकौडा, चटपट र चिया साकुराको फेदमा बसेर आत्मीय रूपमा सँगै ग्रहण गरेका थिए। यसले कार्यक्रमलाई अझ पारिवारिक, आत्मीय र स्मरणीय बनाएको थियो। कार्यक्रमको अन्त्यतिर मादलको तालमा भव्य नाचगानसमेत गरिएको थियो।

प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले सहभागीहरूबीच आत्मीयता, सांस्कृतिक एकता र नेपालीपनको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार