टोकियो,जापान। जापानमा सन् २०२५ मा एक्लै घरभित्र मृत्यु भएको अवस्थामा फेला परेका व्यक्तिको संख्या ७६ हजार ९४१ पुगेको छ। राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्ष देशभर प्रहरीले सम्हालेका कुल २ लाख ४ हजार ५६२ शवमध्ये करिब एक तिहाइ हो।

तथ्यांकले देखाएको छ कि घरमै एक्लै मृत्यु भएका व्यक्तिमध्ये ६५ वर्ष वा त्यसभन्दा माथिका वृद्धवृद्धाको हिस्सा ७६.६ प्रतिशत रहेको छ। यस्तो अवस्थामा फेला परेका ६५ वर्षमाथिका व्यक्तिको संख्या ५८ हजार ९१९ पुगेको छ, जुन सन् २०२४ को तुलनामा ८७५ ले बढी हो।

एक्लै मृत्यु भए पनि धेरैजसो शव तुलनात्मक रूपमा छिट्टै फेला परेको तथ्यांकमा उल्लेख छ। अनुमानित मृत्यु भएकै दिन वा त्यसको भोलिपल्ट २८ हजार ३९८ शव फेला परेका थिए। त्यस्तै, २ देखि ३ दिनभित्र १५ हजार ८६५ र ४ देखि ७ दिनभित्र १० हजार ४५६ शव फेला परेका थिए।

तर उल्लेख्य संख्यामा यस्ता घटना पनि भेटिएका छन्, जहाँ मृत्यु भएपछि लामो समयसम्म कसैले थाहा नपाएको देखिएको छ। राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार २२ हजार २२२ शव, अर्थात् कुल घटनाको २८.९ प्रतिशत, मृत्यु भएको ८ दिन वा त्योभन्दा बढी समयपछि मात्रै फेला परेका थिए। सरकारले यस्ता घटनालाई ‘कोरिचुशी’ अर्थात् ‘एकान्त मृत्यु’ का रूपमा परिभाषित गर्दै अध्ययन गर्दै आएको छ।

यस्ता ‘कोरिचुशी’ घटनामध्ये ७१.६ प्रतिशतमा ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू संलग्न रहेको देखिएको छ। कम्तीमा ७ हजार १४८ जना एक महिनाभन्दा बढी समयसम्म मृत्यु भएको अवस्थामा फेला नपरी बसेका थिए। तीमध्ये २०८ जनाको शव त एक वर्षभन्दा बढी समयपछि मात्रै फेला परेको थियो।

तथ्यांकले लामो समयसम्म पत्ता नलागेका मृत्युका घटनामा लैङ्गिक असन्तुलन पनि प्रष्ट देखाएको छ। यस्ता एकान्त मृत्युका घटनामध्ये १७ हजार ६२० पुरुष थिए, जुन महिलाको तुलनामा करिब ३.८ गुणा बढी हो।

सरकारले एकान्त मृत्युको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी दिन सुरु गरेपछि राष्ट्रिय प्रहरी एजेन्सीले यस्तो तथ्यांक दोस्रो पटक सार्वजनिक गरेको हो। विवाहदर घट्दै जानु, एकल परिवारको संख्या बढ्नु, र जापानको वृद्ध समाज तीव्र गतिमा विस्तार हुँदै जानु यस्ता घटनाका मुख्य कारणका रूपमा हेरिएको छ। विशेष गरी वृद्ध पुरुषहरूमा बढ्दो सामाजिक एक्लोपन जापानी समाजका लागि गम्भीर चिन्ताको विषय बन्दै गएको देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार