टोकियो,जापान। जापानमा अत्यधिक गर्मीका कारण हुन सक्ने स्वास्थ्य क्षतिलाई न्यूनीकरण गर्न सरकारले यस वर्षको ‘हिटस्ट्रोक सचेतना अलर्ट’ र ‘हिटस्ट्रोक विशेष सचेतना अलर्ट’ को कार्यान्वयन आज(अप्रिल २२ तारिख)देखि सुरु गरेको छ। वातावरण मन्त्रालय र मौसम विज्ञान विभागले आगामी अक्टोबर २१ सम्मका लागि यो संयन्त्र सञ्चालनमा ल्याएका हुन्।

तापमान, आर्द्रता र विकिरणलाई आधार मानी गणना गरिने ‘गर्मी सूचकांक’ (WBGT) ३३ भन्दा माथि पुग्ने प्रक्षेपण गरिएका क्षेत्रमा ‘हिटस्ट्रोक सचेतना अलर्ट’ जारी गरिनेछ। सन् १८९८ मा तथ्याङ्क राख्न सुरु गरेयताकै सबैभन्दा तातो वर्ष बनेको गत वर्ष, जापानमा देशभर कुल १ हजार ७ सय ४९ पटक यस्तो अलर्ट जारी गरिएको थियो। यो सचेतना जारी भएपछि सर्वसाधारणलाई उचित रूपमा एयर कन्डिसनर प्रयोग गर्न, नियमित पानी र नुनिलो पदार्थको सेवन गर्न तथा बाहिरी व्यायामहरू स्थगित गर्न आग्रह गरिन्छ।
यस वर्षदेखि लागू हुने गरी सरकारले थप प्रभावकारी कदमको रूपमा ‘हिटस्ट्रोक विशेष सचेतना अलर्ट’ लाई पनि सक्रिय बनाएको छ। कुनै पनि प्रान्तका सबै मापन केन्द्रहरूमा गर्मी सूचकांक ३५ भन्दा बढी हुने अवस्थामा यो विशेष अलर्ट जारी हुनेछ। यद्यपि, दुई वर्षअघि यो व्यवस्था घोषणा गरिएयता हालसम्म यस्तो चरम अवस्था भने आएको छैन। यस पटकको कार्यविधिमा मन्त्रालयले केही परिमार्जन गर्दै उच्च हिमाली र कम गर्मी हुने २४ वटा स्थानलाई भने मूल्याङ्कन सूचीबाट हटाएको छ।

विशेष अलर्ट जारी भएको अवस्थामा स्थानीय निकायहरूले ‘कुलिङ सेल्टर’ का रूपमा तोकिएका सार्वजनिक तथा निजी भवनहरू सर्वसाधारणका लागि अनिवार्य रूपमा खुला गर्नुपर्नेछ। साथै, विद्यालय र सार्वजनिक कार्यक्रमका आयोजकहरूले पर्याप्त सुरक्षा सुनिश्चित गर्न नसकेमा खेलकुद र सभा-सम्मेलनहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय लिनुपर्ने कानुनी व्यवस्था गरिएको छ।
पछिल्लो समय हिटस्ट्रोकका कारण हुने मृत्यु दर भयावह देखिएको सरकारी तथ्याङ्कले पुष्टि गरेको छ। सन् २०१८ यता प्रायः हरेक वर्ष १ हजारभन्दा बढी व्यक्तिको मृत्यु गर्मीकै कारण भइरहेको छ। सन् २०२२ मा २ हजार १६० र २०२३ मा १ हजार ५२१ जनाको ज्यान गएको थियो। तथ्याङ्कअनुसार मृत्यु हुनेमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको संख्या सबैभन्दा धेरै छ। सन् २०२४ को तथ्याङ्कले त झन् कुल मृतक मध्ये ८५ प्रतिशत हिस्सा ज्येष्ठ नागरिककै रहेको देखाएको छ, जसका कारण सरकारले वृद्धवृद्धाको विशेष ख्याल राख्न परिवार र समुदायलाई अनुरोध गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार