टोकियो,जापान। विश्वभर फैलिएका नेपाली भाषी समुदायबीच नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरणको अभियानमा समर्पित साहित्यकार लालगोपाल सुवेदी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी अध्यक्ष पदका लागि बलियो र विश्वासिलो व्यक्तित्वका रूपमा स्थापित हुँदै जानुभएको छ।

कवि, गीतकार, निबन्धकार, समालोचक तथा कुशल संगठकका रूपमा परिचित सुवेदीले तीन दशकभन्दा बढी समयदेखि नेपाली भाषा र साहित्यको सेवामा निरन्तर साधना गर्दै आउनुभएको छ। उहाँका साहित्यिक सिर्जनाले नेपाली समाज, राष्ट्रिय चेतना, मानवीय संवेदना, प्रवास जीवन र सांस्कृतिक पहिचानका विविध आयामलाई उजागर गरेका छन्।

हाल अनेसासको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका सुवेदी यसअघि अनेसासको केन्द्रीय सचिव लगायत विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर सफल नेतृत्व प्रदान गरिसक्नुभएको छ। अनेसासको वर्तमान अन्तर्राष्ट्रिय कार्यसमितिमा उहाँ वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ।

सन् २०२४ मा सम्पन्न अनेसास अन्तर्राष्ट्रिय निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि सर्वाधिक लोकप्रिय मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो। उक्त परिणामले विश्वभर रहेका आजीवन सदस्य तथा साहित्यप्रेमीहरूबीच उहाँप्रतिको विश्वास र स्वीकार्यता स्पष्ट रूपमा देखाएको थियो।

संस्थागत विस्तार र सुदृढीकरणमा समेत उहाँको भूमिका उल्लेखनीय रहेको छ। युरोप च्याप्टर गठन तथा विभिन्न महादेशीय संरचनाबीच समन्वय विस्तार गर्न उहाँले सक्रिय नेतृत्व प्रदान गर्नुभएको थियो।
विशेष गरी, अनेसासका हजारौँ आजीवन सदस्यहरूको हक, हित, सम्मान र संस्थागत सहभागितालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता उहाँले विभिन्न अवसरमा व्यक्त गर्दै आउनुभएको छ। संस्थालाई केही व्यक्तिमा सीमित नभई विश्वभरका सदस्यहरूको साझा साहित्यिक घरका रूपमा विकास गर्नुपर्ने उहाँको दृष्टिकोणलाई धेरै सदस्यहरूले सकारात्मक रूपमा लिएका छन्।

त्यसैगरी, प्रवासमा जन्मिएका र हुर्किएका दोस्रो तथा तेस्रो पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिको हस्तान्तरण आजको सबैभन्दा ठूलो चुनौती रहेको उहाँको बुझाइ छ। यसका लागि बाल तथा युवा पुस्तालाई लक्षित नेपाली भाषा शिक्षण कार्यक्रम, डिजिटल साहित्यिक सामग्री, अन्तर्राष्ट्रिय युवा साहित्य सम्मेलन, नेपाली भाषा सिकाइका आधुनिक माध्यम तथा पुस्ता जोड्ने सांस्कृतिक अभियान सञ्चालन गर्ने दीर्घकालीन सोच र रोडम्याप तयार पार्ने विषयमा उहाँले विशेष चासो व्यक्त गर्दै आउनुभएको बताइन्छ।

साहित्यलाई केवल सिर्जनाको विषय नभई समुदाय, पहिचान र पुस्ता जोड्ने माध्यमका रूपमा हेर्ने सुवेदीको दृष्टिकोणले अनेसासलाई आगामी दिनमा अझ समावेशी, सशक्त र भविष्यमुखी संस्थाका रूपमा विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

साहित्यिक योगदान, संस्थागत अनुभव, समन्वयकारी नेतृत्व क्षमता, आजीवन सदस्यहरूप्रतिको उत्तरदायित्व र भावी पुस्तालाई नेपाली भाषा-संस्कृतिसँग जोड्ने स्पष्ट दृष्टिका कारण लाल गोपाल सुवेदी अनेसासको नेतृत्वका लागि एक सक्षम, परिपक्व र दूरदर्शी व्यक्तित्वका रूपमा उदाउँदै जानुभएको साहित्यिक वृत्तमा चर्चा हुन थालेको छ। “जसले विगतलाई सम्मान गर्छ, वर्तमानलाई समेट्छ र भविष्यका पुस्ताका लागि बाटो बनाउँछ, नेतृत्वको वास्तविक अर्थ त्यहीँबाट सुरु हुन्छ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार