टोकियो/जापान। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ, जहाँ ४८ टोलीले १६ रंगशालामा ३९ दिनभित्र कीर्तिमानी १०४ खेल खेल्नेछन्।

उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। घरेलु मैदान र समर्थकको ठूलो साथ पाउने भएकाले मेक्सिको यो खेलमा बलियो दाबेदार मानिएको छ। सोही दिनको दोस्रो खेलमा दक्षिण कोरिया र चेक गणतन्त्र ग्वाडालाहारामा भिड्नेछन्। यी चारै टोली समूह ‘ए’ मा छन्।

क्यानडा र अमेरिकाले भने शुक्रबार आफ्नो पहिलो खेल खेल्नेछन्। क्यानडाले टोरोन्टोमा बोस्निया–हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ भने अमेरिकाले क्यालिफोर्नियाको इंगलवुडमा पाराग्वेको सामना गर्नेछ।

उद्घाटन दिनका मुख्य खेल
आज मेक्सिको सिटीमा उद्घाटन समारोह हुनेछ। समारोहमा विश्वप्रसिद्ध गायक आन्द्रेआ बोचेली, मेक्सिकोका चर्चित कलाकार आलेहान्द्रो फेर्नान्देज र मना लगायतको प्रस्तुति रहने बताइएको छ।

त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुनेछ। मेक्सिकोका अनुभवी खेलाडी राउल हिमेनेज, १७ वर्षीय युवा मिडफिल्डर गिलबेर्तो मोरा र गोलकिपर गिलर्मो ओचोआ टोलीका प्रमुख आकर्षण हुनेछन्। ओचोआ छैटौँ पटक विश्वकप खेल्दै कीर्तिमान बनाउने तयारीमा छन्।

मेक्सिको सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले यसपटक घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने दबाब टोलीमाथि छ। दक्षिण अफ्रिका भने सन् २०१० मा आफैं आयोजक बनेपछि पहिलो पटक विश्वकपमा फर्किएको हो।

मेक्सिकोमा हुने खेलहरू उच्च भौगोलिक उचाइमा हुनेछन्। मेक्सिको सिटीको एज्टेका रंगशाला करिब ७ हजार ३०० फिट उचाइमा छ भने ग्वाडालाहारा करिब ५ हजार १३८ फिटमा पर्छ। त्यसैले पाहुना टोलीहरूलाई उचाइसँग तालमेल मिलाउन चुनौती हुनेछ।

दक्षिण कोरियाको नजर फेरि नकआउट चरणमाः
दक्षिण कोरिया एसियाकै बलियो टोलीमध्ये एक हो। उसले सन् १९८६ यता लगातार ११ पटक विश्वकपमा स्थान बनाएको छ। सन् २०२२ मा दक्षिण कोरिया अन्तिम १६ मा पुगेको थियो, जहाँ ब्राजिलसँग पराजित भएको थियो।

कप्तान सोन ह्युङ–मिनका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ। ३३ वर्षीय सोन दक्षिण कोरियाली फुटबलका सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्। उनको नाममा १४४ अन्तर्राष्ट्रिय खेल छन्। उनी चा बुम–कुनको ५८ गोलको कीर्तिमान बराबरी गर्न अब दुई गोल टाढा छन्।

चेक गणतन्त्र भने २० वर्षपछि विश्वकपमा फर्किएको हो। त्यसैले दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेल पनि समूह ‘ए’ को महत्वपूर्ण भिडन्त मानिएको छ।

टिकट मूल्यलाई लिएर फिफामाथि दबाबः
विश्वकप सुरु हुँदै गर्दा टिकट मूल्यलाई लिएर फिफा आलोचनामा परेको छ। अमेरिकाको न्यूयोर्क र न्यूजर्सीका महान्यायाधिवक्ताहरूले फिफाको टिकट बिक्री प्रक्रिया उपभोक्ता संरक्षण कानुनअनुसार थियो कि थिएन भन्नेबारे अनुसन्धान सुरु गरेका छन्।

न्यूजर्सीले विश्वकपका ८ खेल आयोजना गर्दैछ, जसमा जुलाई १९ को फाइनल पनि समावेश छ। केही फाइनल टिकटको मूल्य झण्डै ३३ हजार अमेरिकी डलरसम्म पुगेको बताइएको छ। अत्यधिक मूल्यका कारण सामान्य समर्थकहरू विश्वकप हेर्नबाट वञ्चित हुनसक्ने भन्दै आलोचना बढेको छ।

राजनीतिक तहमा पनि फिफाप्रति असन्तुष्टिः
अमेरिकामा राजनीतिक रूपमा फरक धारका नेताहरूबीच पनि फिफा र अध्यक्ष जियानी इन्फान्तिनोप्रति असन्तुष्टि देखिएको छ। न्यूयोर्कका मेयर जोहरान ममदानी र लस एन्जलसकी मेयर करेन बासले टिकट मूल्यप्रति आपत्ति जनाएका छन्। रिपब्लिकन सिनेटर टड यङले फिफा विश्वभरका सामान्य समर्थकहरूबाट टाढिएको टिप्पणी गरेका छन्।

विश्वकपका केही रोचक तथ्यः
यसपटकको विश्वकप ४८ टोली, ३ आयोजक देश र १०४ खेलका कारण अहिलेसम्मकै ठूलो प्रतियोगिता हो। हालसम्म विश्वकप जित्ने देश जम्मा ८ वटा मात्र छन्। तीमध्ये ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ।

पछिल्ला ११ विश्वकपमा नयाँ विजेता दुई पटक मात्र देखिएका छन्। सन् १९९८ मा फ्रान्स पहिलो पटक च्याम्पियन बनेको थियो भने सन् २०१० मा स्पेनले पहिलो उपाधि जितेको थियो।

त्यस्तै, अघिल्लो संस्करणका विजेता टोलीहरू समूह चरणबाटै बाहिरिएको इतिहास पनि पटक–पटक देखिएको छ। सन् २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएका थिए।

मेक्सिकोका १७ वर्षीय गिलबेर्तो मोरा यसपटकको विश्वकपमा सहभागी ४८ टोलीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन्। उनले गोल गर्न सके ब्राजिलका महान खेलाडी पेलेपछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीमध्ये एक बन्नेछन्। पेलेले सन् १९५८ मा १७ वर्ष २३९ दिनको उमेरमा गोल गरेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार