होक्काईदो,जापान। जापानका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले आज होक्काइडोस्थित साप्पोरो सिटीका मेयरसँग भेटघाट गरेको छ।

भेटमा कार्यवाहक राजदूत पौडेल, एनआरएनए जापानका उपाध्यक्ष बिनोद खनाल ‘मुक्तिराम’, होक्काइदो नेपाली समाजका उपाध्यक्ष रोशन निरौलासहित नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए।

भेटका क्रममा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव, होक्काइदोमा बसोबास गर्दै आएका नेपालीहरूको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषय, पेशागत तथा व्यावसायिक हकहित, सुरक्षा, रोजगारी प्रवर्द्धन तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।

नेपाली समुदायको स्थानीय सरकारसँगको सहकार्यलाई विस्तार गर्दै होक्काइदोमा रहेका नेपालीहरूको जीवन, काम र व्यवसायलाई सुरक्षित तथा सहज बनाउने विषयमा पनि छलफल भएको सहभागीहरूले बताएका छन्।

सो अवसरमा नेपाली राजदूतावासका तर्फबाट नेपालको सांस्कृतिक तथा धार्मिक पहिचान झल्काउने माने/प्रार्थना चक्रसमेत साप्पोरो सिटीलाई सौजन्यस्वरूप प्रदान गरिएको थियो।

प्रतिनिधिमण्डलले नेपाल र जापानबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई स्थानीय तहमा अझ मजबुत बनाउँदै लैजान यस्तो भेटघाट महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार