टोकियो,जापान। जापानका कम्पनीहरूले यस वर्षको वसन्तकालीन तलब वार्ता (शुन्तो) अन्तर्गत कर्मचारीहरूको तलब औसत ५.०१ प्रतिशतले बढाउने सहमति गरेका छन्। जापानको सबैभन्दा ठूलो श्रमिक संगठन रेन्गो (जापान ट्रेड युनियन कन्फेडेरेसन) ले शुक्रबार सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार यो लगातार तेस्रो वर्ष हो, जहाँ औसत तलब वृद्धि ५ प्रतिशतभन्दा माथि पुगेको छ।

रेन्गोका अनुसार ५ हजार ३ सय ६८ सदस्य युनियनबाट प्राप्त अन्तिम नतिजाअनुसार कर्मचारीहरूको मासिक तलब औसत १६ हजार ४ सय येनले बढेको छ।

जापानमा पछिल्ला वर्षहरूमा उपभोक्ता मूल्यवृद्धि तीव्र भए पनि तलब वृद्धि त्यसअनुसार हुन नसक्दा उपभोग खर्च सुस्त रहँदै आएको थियो। यद्यपि, हालै वास्तविक तलब (रियल वेज) लगातार चार महिनादेखि वृद्धि भएको देखिएको छ। तर मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल तथा कच्चा पदार्थको मूल्य बढ्न थालेकाले आगामी दिनमा मुद्रास्फीति थप चर्किन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

यस वर्षको तलब वृद्धिदर अघिल्लो वर्षको ५.२५ प्रतिशतको तुलनामा केही कम भए पनि लगातार तेस्रो वर्ष ५ प्रतिशतभन्दा माथि कायम रहनुलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

रेन्गोका सहमहासचिव आकिरा निदाइराले पत्रकार सम्मेलनमा बोल्दै, “तलब वृद्धि सामान्य अभ्यास बन्ने समाजतर्फको यो एउटा महत्वपूर्ण कदम हो। विशेषगरी साना तथा मझौला कम्पनीहरूले आफ्नो क्षमताअनुसार कर्मचारीको तलब बढाउन प्रयास गरेका छन्,” भने।

तथ्यांकअनुसार साना तथा मझौला कम्पनीहरूमा तलब औसत ४.६९ प्रतिशत अर्थात् १२ हजार ८ सय ६६ येनले बढेको छ। यद्यपि, यो वृद्धि ठूला कम्पनीहरूको तुलनामा अझै कम रहेको रेन्गोले जनाएको छ।

श्रम अभाव, मूल्यवृद्धि र आर्थिक पुनरुत्थानको पृष्ठभूमिमा जापानमा पछिल्ला केही वर्षयता तलब वृद्धि निरन्तर हुने प्रवृत्ति देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार