टोकियो/जापान। जापानमा आगामी अगस्ट महिनादेखि २,३११ खाद्यवस्तुको मूल्य बढ्ने भएको छ। निजी अनुसन्धान संस्था तेइकोकु डाटाबैंकले १९५ प्रमुख खाद्य उत्पादक कम्पनीमाथि गरेको सर्वेक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो। २,००० भन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने क्रम लगातार दोस्रो महिनासम्म पुगेको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै प्रशोधित खाद्य पदार्थ महँगिने छन्। यसअन्तर्गत ह्याम, ससेज, कप नुडल्स लगायतका १,४१९ वस्तुको मूल्य बढ्नेछ। त्यसैगरी, दशी, सस तथा विभिन्न मसला जस्ता ५८९ प्रकारका मसला, र गहुँको पिठो लगायत २७६ प्रकारका कच्चा पदार्थको मूल्य पनि बढ्ने भएको छ।

कम्पनीहरूले मूल्यवृद्धिको मुख्य कारणका रूपमा कच्चा पदार्थको मूल्य वृद्धि (९०.९%), ढुवानी खर्च (६५.८%), प्याकेजिङ तथा सामग्री खर्च (६४.०%), र मध्यपूर्वको तनावपूर्ण अवस्थाको प्रभाव (२७.८%) लाई उल्लेख गरेका छन्। विशेषगरी मध्यपूर्वको अस्थिरताका कारण ढुवानी र प्याकेजिङ लागत बढ्दै गएको र त्यसको भार उपभोक्तामाथि सारिएको विश्लेषण गरिएको छ।

तेइकोकु डाटाबैंकका अनुसार सेप्टेम्बरमा मात्रै ४,५०० भन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने अनुमान गरिएको छ। कम्पनीका अनुसार विभिन्न लागत निरन्तर बढिरहेकाले मध्यपूर्व संकटबाट प्रभावित मूल्यवृद्धिको लहर सन् २०२६ को शरद ऋतु (अक्टोबर–नोभेम्बरतिर) चरम अवस्थामा पुग्न सक्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार