टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन आगामी अगस्ट १० र ११ तारिख आयरल्याण्डको राजधानी डब्लिनमा आयोजना हुने भएको छ। सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पराजुलीको प्रमुख आतिथ्य रहने जानकारी दिएका हुन्। उनले वर्तमान राजनीतिक सन्दर्भमा रास्वपा नेतृत्वसँगको सहभागिताले गैरआवासीय नेपालीका मुद्दा राजनीतिक तहसम्म पुर्याउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
एनआरएनएका यूरोप संयोजक रोवर्ट लिम्बुको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिअनुसार सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।
३५ देशबाट २०० भन्दा बढीको सहभागिता
आयोजकका अनुसार हालसम्म ३५ देशबाट २०० भन्दा बढी प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको छ। सम्मेलनमा कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको छ।
डब्लिनस्थित र्याडिसन होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंहा लगायत एनआरएनए नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको छ।
नागरिकता, लगानी र दोस्रो पुस्ताका मुद्दा प्राथमिकतामा
सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्र सञ्चालन गरिनेछन्। यसपटक गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, महिला तथा युवाको सहभागिता र विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
महिला केन्द्रित सत्रमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य तथा कानुनी पहुँचका विषयमा छलफल हुनेछ। युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रमा नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, नेपाली पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धबारे छलफल गरिनेछ।
अध्यक्ष डा. शर्माले एनआरएनएका यूरोप, एशियालगायत विभिन्न क्षेत्रीय सम्मेलनले लगानी र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी मुद्दा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। क्षेत्रीय सम्मेलनहरू सम्पन्न भएपछि काठमाडौँमा संघका पदाधिकारी भेला भएर नयाँ कार्यक्रम घोषणा गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए।
सन् २०३० पछिको डायस्पोरा भूमिकाबारे मार्गचित्र
सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षमा विश्वभर रहेका प्रवासी नेपालीको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारी कस्तो रहने भन्ने विषयमा साझा मार्गचित्र निर्माण गर्ने लक्ष्य राखेको छ।
आयोजकका अनुसार सम्मेलन गैरआवासीय नेपालीका अधिकार तथा सरोकार नेपाल सरकार र राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, यूरोपस्थित नेपाली समुदायबीच सहकार्य थप बलियो बनाउने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।
सन् २००३ मा स्थापना भएको एनआरएनएले विदेशमा रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। आयोजकले उपलब्ध गराएको विवरणअनुसार संघको सञ्जाल हाल करिब ९२ देशमा विस्तार भएको र एक लाखभन्दा बढी सदस्य आबद्ध रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु




