ओसाका, जापान। जापानमा रहेका नेपाली समुदायबीच नेपाली भाषा, साहित्य तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ब्लु ब्वाइज युनियन, ओसाकाले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्ने भएको छ।

दसैँको शुभकामना आदानप्रदान, अभिभावक भेटघाट तथा सम्मान कार्यक्रमको अवसरमा अक्टोबर १७ गते शनिबार साँझ ५ बजेदेखि ओसाकाको फुकाएवासीस्थित मामा किचन एण्ड बारमा अभियानको औपचारिक शुभारम्भ गरिने संस्थाले जनाएको छ।

संस्थाका सचिव अनिल पाण्डेयका अनुसार अभियानअन्तर्गत विभिन्न विधाका नेपाली पुस्तकहरू निश्चित अवधिका लागि निःशुल्क पढ्न उपलब्ध गराइनेछ। प्रारम्भमा संस्थामा आबद्ध सदस्यहरूबाट अभियान सुरु गरिए पनि जापानमा रहेका नेपाली तथा नेपाली पुस्तक पढ्न इच्छुक अन्य व्यक्तिले समेत संस्थासँग सम्पर्क गरी पुस्तक लिन सक्नेछन्।

एक व्यक्तिले बढीमा एक महिनाका लागि दुईवटा पुस्तक लिन पाउनेछन्। पुस्तक पढ्न कुनै शुल्क नलाग्ने भए पनि पठाउँदा र फिर्ता गर्दा लाग्ने हुलाक खर्च भने सम्बन्धित पाठकले नै व्यहोर्नुपर्नेछ।

पहिलो चरणमा उपन्याससहित विभिन्न साहित्यिक विधाका पुस्तक उपलब्ध गराइने र आगामी दिनमा थप पुस्तक सङ्कलन गर्दै अभियानलाई विस्तार गरिने संस्थाका उपाध्यक्ष सन्तोष धितालले बताए। उनका अनुसार अभियानलाई पुस्तक वितरणमा मात्र सीमित नराखी नियमित पठन, पुस्तक आदानप्रदान तथा ज्ञान बाँड्ने संस्कृतिका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

संस्थाका अध्यक्ष मोहन कुवरले पुस्तक पढ्ने बानीले ज्ञानको दायरा फराकिलो बनाउनुका साथै सोच्ने क्षमता, अभिव्यक्ति, व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अभियानलाई विस्तार गर्दै जापानमा हुर्किरहेका नेपाली बालबालिकाका लागि नेपाली भाषा, साहित्य, संस्कृति तथा नैतिक शिक्षासम्बन्धी पुस्तकहरू पनि उपलब्ध गराउने संस्थाको योजना छ। यसबाट नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘नेपालदेखि जापानसम्म—ज्ञानको यात्रा’ भन्ने मूल भावनासहित सुरु हुन लागेको अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने संस्थाले जनाएको छ।

पुस्तक लिन इच्छुक व्यक्तिले भाइबर, ह्वाट्सएप वा प्रत्यक्ष सम्पर्कमार्फत सचिव अनिल पाण्डेयलाई ०७०–२३५०–००९१, उपाध्यक्ष सन्तोष धिताललाई ०९०–७२२८–८४५१ वा अध्यक्ष मोहन कुवरलाई ०७०–४२३१–७९६७ मा सम्पर्क गर्न सक्नेछन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार