जापानको क्योटो प्रान्तस्थित ‘नेपाल मैत्री भवन’ अवलोकन गर्दा मनमा गर्व र खिन्नता दुवै अनुभूति भए। नेपाली कालीगढहरूको सीप र काष्ठकलाले सजिएको प्यागोडा देख्दा गर्व लाग्यो। तर, त्यसको सुनसान अवस्था र मर्मतसम्भारको आवश्यकता देख्दा मन खिन्न पनि भयो।

भ्रमणका क्रममा प्राप्त जानकारीअनुसार, तत्कालीन सोनोबे नगर—हालको नान्तान सहर—र नेपालबीच सन् १९९० तिर कृषि प्रविधि, शिक्षा तथा संस्कृतिका क्षेत्रमा आदानप्रदान सुरु भएको थियो। यही सम्बन्धलाई मूर्त रूप दिन तथा नेपालको परम्परागत निर्माण सीपको संरक्षण र हस्तान्तरणमा सहयोग पुर्‍याउन यो प्यागोडा निर्माणको पहल गरिएको रहेछ।

सन् १९९२ मा नेपाल भ्रमण गरेको जापानी टोलीले नेपाली वास्तुकलाको सौन्दर्य र त्यसको संरक्षणमा रहेका चुनौतीबारे बुझ्ने अवसर पाएको रहेछ। त्यसपछि नेपाली कलालाई जापानमा पनि चिनाउने उद्देश्यले अघि बढाइएको यस संरचनाको निर्माणमा नेपाली कालीगढहरू संलग्न भएको जानकारी पाइयो।

भक्तपुरको सत्रौँ शताब्दीको प्यागोडालाई नमुना मानेर निर्माण गरिएको भनिएको यस भवनका काठका खम्बा, झ्यालढोका र अन्य भागमा कुँदिएका बुट्टाहरूले नेपाली शिल्पको उत्कृष्टता झल्काउँछन्। भवनभित्र निर्माणमा प्रयोग गरिएका परम्परागत औजारहरू पनि प्रदर्शनमा राखिएका छन्। यी कलाकृतिमा केवल सुन्दरता होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान, श्रम र साधना पनि देख्न सकिन्छ।

वरपर पर्यटकीय तथा मनोरञ्जनका सुविधासहित चहलपहल भइरहँदा नेपाली पहिचान बोकेको यो संरचना भने एक्लै उभिएजस्तो लाग्छ। परिसरको चहलपहल र प्यागोडाको सुनसान अवस्थाबीचको अन्तरले यसको संरक्षण र सदुपयोगको आवश्यकतालाई अझ स्पष्ट बनाउँछ।

यसको मर्मतसम्भार गरी नियमित अवलोकन तथा सांस्कृतिक गतिविधिका लागि सञ्चालनमा ल्याउन सके, कान्साइमा बढ्दो नेपाली समुदाय र नेपालप्रति रुचि राख्ने जापानीहरूका लागि यो महत्त्वपूर्ण साझा थलो बन्न सक्छ। नेपाली कला, संस्कृति र इतिहासबारे नयाँ पुस्तालाई परिचित गराउने अवसर पनि यसले दिन सक्छ।

यसका लागि गैरआवासीय नेपाली संघ जापान तथा कान्साइ क्षेत्रीय समितिले गरिरहेका प्रयासले सार्थकता पाऊन् भन्ने कामना गर्दछु। नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित जापानी निकायबीचको सहकार्यबाट यो सम्पदाले पुनः जीवन्तता पाउन सकोस्।

यो केवल एउटा भवन होइन; जापानमा नेपाली कला र सीपको परिचय बोकेको, दुई देशबीचको मित्रतालाई पुस्तौँसम्म जोड्न सक्ने सांस्कृतिक धरोहर हो। यसको सुन्दरता हेरेर गर्व गर्ने अवसरसँगै संरक्षणको जिम्मेवारी पनि हामीसँग जोडिएको छ।

नोट: यो लेख कान्साई क्षेत्रमा रहंदै आउनुभएका अनुभवी,सामाजिक तथा गैरआवासीय नेपाली अभियन्ता नरेन्द्र बस्नेत (दिनेश)को यात्रा अनुभवमा जानकारीमा आधारित छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार