टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने र उपसंयोजकमा श्यामहरि पाण्डे चयन भएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एसिया प्रदेश संगठन समितिको सेप्टेम्बर ६, २०२६ मा सम्पन्न बैठकले जापानसहित एसियाका विभिन्न देशमा रहेका प्रवासी संगठनहरूको नेतृत्व र आगामी कार्ययोजनाबारे निर्णय गरेको हो।

लामिछाने साविकको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हुन् भने पाण्डे साविकको नेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष हुन्। पार्टी एकतालाई प्रवासमा समेत संस्थागत गर्ने उद्देश्यले दुवै संगठनका राष्ट्रिय समितिलाई समायोजन गरी ‘एकता आयोजक समिति’ गठन गर्ने निर्णय गरिएको छ।

बैठकले एसिया प्रदेशअन्तर्गतका सबै देशमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने कार्ययोजना पनि पारित गरेको छ। अधिवेशनमार्फत एकीकृत सांगठनिक संरचना र नयाँ नेतृत्व निर्माण गर्ने तयारी गरिएको जनाइएको छ।

एसिया प्रदेश संयोजक सनी कुमार ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश इन्चार्ज डीबी क्षेत्री, सहइन्चार्ज दोर्ण प्रसाद सिलवाललगायत नेताहरू सहभागी थिए। बैठकको सञ्चालन प्रदेश उपसंयोजक भवानी पन्तले गरेका थिए भने अर्का उपसंयोजक डा. भुपालमान श्रेष्ठले सहभागीलाई स्वागत गरेका थिए।

बैठकले पार्टीसम्बद्ध प्रवासी संगठनहरूबीचको एकतालाई संस्थागत गर्दै एसियामा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने निर्णयसमेत गरेको छ। जापानमा लामिछाने र पाण्डेको नेतृत्वमा साविकका दुवै संगठनलाई समेटेर एकीकृत संरचना निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार