जापान । टोकियोस्थित नेपाली दूतावासमा गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सञ्चालन गरेको हेल्प डेस्कबाट सेवाग्राहीलाई सशुल्क सेवा प्रदायकको सम्पर्क नम्बर उपलब्ध गराइएको विषयमा विवाद उत्पन्न भएको छ। राहदानीको अनलाइन फारामसम्बन्धी समस्या लिएर पुगेका सेवाग्राहीले बाह्य सेवा प्रदायककहाँ सम्पर्क गर्न लगाइएको अनुभव सार्वजनिक गरेपछि हेल्प डेस्कको भूमिका र कार्यशैलीमाथि प्रश्न उठेको हो।

दूतावासमा सीमित कर्मचारी र सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै एनआरएनए जापानको सन् (२०२५–२७)कार्यसमितिले आफ्नै खर्चमा कार्यालय सचिवलाई साताको पाँच दिन हेल्प डेस्कमा खटाउँदै आएको छ।

तर, उक्त डेस्कले आफैँ सहजीकरण गर्नुको साटो बाह्य व्यक्ति तथा संस्थासँग सम्पर्क गराइदिने गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। केही पोस्टमा यस्तो सम्पर्कमार्फत अप्रत्यक्ष आर्थिक लाभ लिइएको आशंकासमेत व्यक्त गरिएको छ। यद्यपि, उपलब्ध विवरणमा आर्थिक लाभ लिएको पुष्टि गर्ने प्रमाण प्रस्तुत भएको छैन। एनआरएनए जापान र हेल्प डेस्कमा कार्यरत कार्यालय सचिवले आर्थिक लाभ लिएको अस्वीकार गरेका छन्।

सेवाग्राहीको प्रश्न : वेबसाइटको पहुँच खोज्दा सशुल्क सेवाको नम्बर किन?
तामाङ समाज जापानमा समेत आबद्ध सेवाग्राही जनक थोकरले दूतावासमा आफूले भोगेको अनुभव सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो।

थोकरका अनुसार विगतमा उनले राहदानीको अनलाइन फाराम आफैँ भरेका थिए। यसपटक भने लामो समय प्रयास गर्दा पनि वेबसाइटमा पहुँच नपाएपछि समाधान खोज्न दूतावास पुगेका थिए।

दूतावासभित्र रहेको एनआरएनए जापानको हेल्प डेस्कमा समस्या राख्दा त्यहाँका कर्मचारीले अर्को व्यक्तिको नम्बर दिएर बाहिर गई फोन गर्न भनेको उनको भनाइ छ। उक्त नम्बरमा सम्पर्क गर्दा शुल्क लिएर फाराम भरिदिने सेवा प्रदायक भएको थाहा पाएको उनले बताए।

“मैले फाराम भर्न नजानेर सहयोग खोजेको होइन, फाराम भर्ने साइटमा पहुँच मात्रै खोजेको थिएँ। तर मलाई फाराम भरिदिने सशुल्क सेवाको जानकारी दिइयो,” थोकरले भने।

आफूले पटकपटक प्रयास गर्दा पहुँच नपाउने वेबसाइटमा केही सेवा प्रदायकले तुरुन्तै काम गरिदिने बताउनुको कारण के हो भन्ने उनको प्रश्न छ।
थोकरले स्वेच्छाले कसैलाई फाराम भर्न लगाएर शुल्क तिर्ने विषयमा आफ्नो विरोध नरहेको स्पष्ट पारे। उनको असन्तुष्टि भने सहजीकरण खोज्दै दूतावास पुगेका सेवाग्राहीलाई हेल्प डेस्कबाट सशुल्क सेवा प्रदायकको नम्बर उपलब्ध गराउने अभ्यासप्रति हो।

दूतावासको भनाइ : निश्चित व्यक्तिकहाँ पठाउने गरिएको भए बुझ्छौँ
टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एनआरएनए जापानको हेल्प डेस्कबाट सेवाग्राहीलाई सहजीकरण भइरहेको र सीमित कर्मचारीका कारण परेको चाप व्यवस्थापनमा केही सहज भएको बताए।

तर, राहदानीलगायतका फाराम भर्न कुनै निश्चित सेवा प्रदायकसँग सम्पर्क गराइदिने अभ्यासबारे दूतावासलाई जानकारी नभएको उनको भनाइ छ।

दूतावासले सेवाग्राहीका फाराम भरिदिन सम्भव नहुने भएकाले राहदानीको फाराम पहिले नै भरेर आउन अनुरोध गरिएको र फाराम भर्न आवश्यक जानकारी वेबसाइटमा राखिएको पौडेलले बताए।

“यदि कुनै निश्चित व्यक्तिलाई मध्यस्थता गर्ने गरिएको भए त्यो गलत भयो। आज दूतावास बिदा छ, त्यसबारे हामी बुझ्नेछौँ,” उनले भने।

एनआरएनए अध्यक्षको प्रतिक्रिया : हेल्पडेक्सबाट आर्थिक कारोबार भएको छैनः
एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले जापानवासी नेपालीलाई सहज होस् भन्ने उद्देश्यले हेल्प डेस्क राखिएको भन्दै त्यहाँबाट प्रत्यक्ष आर्थिक कारोबार नभएको बताए।

हेल्प डेस्कबाट राहदानीलगायतका फाराम भरिदिन सम्भव नहुँदा त्यहाँ खटिएका सहयोगीले चिनजानका व्यक्तिको नाम दिएको हुन सक्ने उनको भनाइ छ। तर, त्यसलाई संस्थागत निर्णय वा आर्थिक कारोबार गराउने योजनाका रूपमा बुझ्न नमिल्ने उनले बताए।

“सेवाग्राही आफैँले फाराम भर्न नसक्दा विकल्प दिइएको हुन सक्छ। अहिले सामाजिक सञ्जालमा भनिएजस्तो एनआरएनए जापानले हेल्प डेस्कबाट कुनै आर्थिक गतिविधि गरेको छैन,” लामिछानेले भने।

कार्यालय सचिवको स्वीकारोक्ति : चिनजानका व्यक्तिको नम्बर दिएको हुँ
हेल्प डेस्कमा कार्यरत एनआरएनए जापानका कार्यालय सचिव रामकृष्ण शर्माले सेवाग्राहीलाई राहदानी तथा अन्य सेवासम्बन्धी जानकारी दिने, राहदानी बनेर आए–नआएको बुझ्न सहयोग गर्नेलगायतका काम गर्दै आएको बताए।

थोकरसँग सम्बन्धित घटनामा तत्काल आफूले फाराम भरिदिन सम्भव नभएकाले चिनजानका व्यक्तिको नम्बर दिएको उनले स्वीकार गरे।

“उहाँले फाराम भर्नुभएको रहेनछ। तत्काल मैले भरिदिन सम्भव थिएन र चिनजानका व्यक्तिको नम्बर दिएको हुँ। शुल्क तथा समग्र आर्थिक कारोबारबारे मलाई केही थाहा छैन। मैले कुनै आर्थिक लाभ लिएर यस्तो गरेको होइन,” शर्माले भने।

उनले हालसम्म दुई/तीन पटक आफूले चिनेका केहि व्यक्तिको सम्पर्क नम्बर सेवाग्राहीलाई दिएको पनि बताए। तर त्यस वापत कुनै आर्थिक लाभ लिने उदेश्य नभएको उनले बताए।

यस प्रकरणमा,जापानवासी नेपालीहरुले दुतावास तथा एनआरएनए जापानको तर्फबाट आधिकारिक धारणा खोजिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार