प्रतीकात्मक तस्वीरःएआई

टोकियो/जापान। जापानमा चामलको औसत मूल्य करिब दुई वर्षपछि पाँच किलोको ३ हजार येनभन्दा तल झरेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सेप्टेम्बर ७ देखि १३ सम्म देशभरका सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य करसहित प्रतिपाँच किलो २ हजार ९७१ येन कायम भएको छ।

देशभरका करिब एक हजार सुपरमार्केटमा गरिएको सर्वेक्षणअनुसार यो मूल्य अघिल्लो साताभन्दा ३२ येन कम हो। लगातार पाँचौँ साता मूल्य घटेसँगै सन् २०२४ को सेप्टेम्बरपछि पहिलोपटक पाँच किलो चामलको औसत मूल्य २ हजार येनको दायरामा आएको हो।

एउटै उत्पादन क्षेत्र र जातको चामलको औसत मूल्य ३५ येनले घटेर प्रतिपाँच किलो २ हजार ९८८ येन पुगेको छ। यस्तै, मिश्रित चामललगायतको मूल्य ३४ येनले घटेर २ हजार ८६६ येन कायम भएको छ।

नयाँ धानबाट उत्पादित चामल बजारमा ठूलो परिमाणमा आउन थालेको र गत वर्ष उत्पादित चामलको मौज्दात पनि निजी क्षेत्रमा पर्याप्त रहेकाले सुपरमार्केटहरूले मूल्य घटाउने तथा विशेष छुटमा बिक्री गर्ने क्रम बढाएका छन्। यही कारण चामलको औसत मूल्यमा गिरावट आएको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार