मोहन घले/जापान।
नेपाल विदेशमा खेल्न जाँदा एउटा दृश्य दोहोरिन्छ, स्टेडियममा नेपाली झण्डा, जर्सी र टोपीको बाक्लो उपस्थिति। ‘नेपाल–नेपाल’को नाराले मैदान गुञ्जिएको हुन्छ। आफ्नै देशबाट हजारौँ किलोमिटर टाढा भए पनि खेलाडीले केही क्षणका लागि घरकै वातावरण महसुस गर्छ।
प्रश्न हो? नेपाली डायस्पोरा किन यसरी स्टेडियम भरिन्छ? र त्यो भीडले नेपालको प्रदर्शनमा साँच्चै टेवा पुर्याउँछ?
खेलको नतिजा दर्शकले निर्धारण गर्दैनन्। रन खेलाडीले बनाउने हो, गोल खेलाडीले गर्ने हो। तयारी, क्षमता, रणनीति, फिटनेस र खेलको परिस्थितिले नतिजा तय गर्छ। त्यसैले दर्शकको भीडलाई जितको कारण मान्नु अतिशयोक्ति हुन्छ।तर खेलाडीको मनोविज्ञानमा दर्शकको प्रभावलाई पनि नकार्न सकिँदैन।
विदेशमा खेल्दा नेपाली टोलीका लागि मैदान, वातावरण र विपक्षी सबै नयाँ हुन्छन्। त्यही बेला दर्शकदीर्घाबाट नेपाली झण्डा देखिनु र आफ्नै भाषामा समर्थन सुनिनु सामान्य दृश्य मात्र हुँदैन। त्यो आत्मविश्वास र भावनात्मक ऊर्जा दिने माध्यम बन्न सक्छ।
२०२५ मा स्कटल्यान्डमा नेपालले खेलेका क्रिकेट खेलबारे प्रकाशित रिपोर्टमा नेपाली समर्थकको उल्लेख्य उपस्थितिलाई खेलाडी र समर्थकहरूले ‘१२औँ खेलाडी’को अनुभूतिसँग जोडेका थिए। समर्थकको उपस्थितिले विदेशको मैदानलाई पनि केही हदसम्म घरेलु वातावरण बनाएको उनीहरूको अनुभव थियो।
यहीँबाट डायस्पोराको भूमिकाको वास्तविक अर्थ सुरु हुन्छ। विदेशको मैदानमा ‘घर’,खेल विज्ञानमा ‘होम एड्भान्टेज’ परिचित अवधारणा हो। परिचित वातावरण र समर्थकको साथले घरेलु टोलीलाई मनोवैज्ञानिक लाभ पुग्न सक्छ। नेपाली टोलीका लागि विदेशमा नेपाली समर्थकको ठूलो उपस्थिति त्यसको उल्टो अवस्था हो—अवे मैदानमा होम सपोर्ट।
यसको महत्व खेलाडीको आत्मविश्वासमा देखिन सक्छ। तर यसको अर्थ दर्शकले कमजोर प्रदर्शनलाई उत्कृष्ट बनाइदिन्छन् भन्ने होइन। उनीहरूले खेलाडीलाई खेल्ने वातावरण दिन्छन्; खेलाडीले त्यसलाई प्रदर्शनमा रूपान्तरण गर्नुपर्छ।
त्यसैले डायस्पोरालाई नेपालको ‘बाह्रौँ खेलाडी’ भन्नु भावनात्मक उपमा मात्र होइन, खेलाडीको अनुभव र मनोवैज्ञानिक प्रभावसँग जोडिएको विषय हो।
एनआरएनएको भूमिका : तालीभन्दा पर,विदेशमा नेपाली टोली पुग्दा एनआरएनए र स्थानीय नेपाली संघसंस्थाले समुदायलाई संगठित गर्ने, खेलाडीलाई स्वागत गर्ने र खेल हेर्न नेपालीलाई जोड्ने काम गर्न सक्छन्। धेरै ठाउँमा यस्तो समर्थन समुदाय आफैंले पनि गरिरहेको छ।
तर प्रश्न यत्तिमै टुंगिँदैन।
स्टेडियम भर्न सक्ने नेपाली समुदायले खेलाडी उत्पादन गर्ने प्रक्रियामा कति योगदान गर्न सक्छ?
खेलाडीलाई खेलको दिन हजारौँ दर्शकको ताली आवश्यक छ। तर त्यसपछि पनि उनको यात्रा जारी रहन्छ। प्रशिक्षण, खेल सामग्री, पोषण, प्रशिक्षक, खेल विज्ञान, अन्तर्राष्ट्रिय एक्सपोजर र आर्थिक सहयोग आवश्यक पर्छ।
डायस्पोराको वास्तविक सम्भावना यहीँ छ।
विदेशमा रहेका नेपाली समुदायले खेलकुद छात्रवृत्ति, युवा प्रतिभा विकास, प्रशिक्षक आदानप्रदान, खेल सामग्री, अन्तर्राष्ट्रिय प्रशिक्षण तथा दीर्घकालीन खेल कोषमा सहयोग गर्न सके स्टेडियमको एक दिनको भीडलाई वर्षौँ टिक्ने संरचनामा बदल्न सकिन्छ।
खेलाडीलाई ताली होइन, निरन्तरता चाहिन्छ
हामी खेलाडी जित्दा उत्सव मनाउँछौँ, हार्दा आलोचना गर्छौँ। तर खेलाडीलाई जित्ने स्तरसम्म पुर्याउने संरचनाबारे बहस कम गर्छौँ।
विदेशमा नेपाली टोली खेल्दा स्टेडियम भरिनु गर्वको विषय हो। तर खेल सकिएपछि त्यो ऊर्जा हराउन हुँदैन। त्यसलाई खेलाडीको विकास, प्रतिभा पहिचान र संस्थागत सहयोगमा बदल्न सक्नुपर्छ।
खेलाडीलाई ताली चाहिन्छ, तर तालीभन्दा बढी निरन्तरता चाहिन्छ।डायस्पोराले त्यो निरन्तरता दिन सक्छ।
भीडभन्दा ठूलो सम्भावना, विदेशमा नेपाली समुदाय बढ्दै जाँदा नेपालको खेलकुदसँग जोडिने सम्भावना पनि बढ्दै गएको छ। जहाँ नेपाली छन्, त्यहाँ नेपालको टोली खेल्दा भावनात्मक सम्बन्ध जाग्छ। यही सम्बन्धलाई संगठित र दीर्घकालीन बनाउन सके डायस्पोरा नेपालको खेलकुदको महत्वपूर्ण साझेदार बन्न सक्छ।
विदेशको मैदानमा नेपालको जर्सी लगाएर उत्रिएको खेलाडीले हजारौँ नेपालीको आवाज सुन्छ। त्यो आवाजले उसको रन, गोल वा विकेटको ग्यारेन्टी गर्दैन। तर उसलाई एउटा कुरा सम्झाउन सक्छ ।
‘तिमी एक्लै छैनौ।’
सायद यही नै डायस्पोराको सबैभन्दा ठूलो योगदान हो।
त्यसैले विदेशमा नेपालीले स्टेडियम भरिनुलाई केवल दर्शकको भीडका रूपमा हेर्नु पर्याप्त हुँदैन। यो नेपालको विश्वव्यापी पहिचान, भावनात्मक सम्बन्ध र खेलकुदप्रतिको सम्भावित सामाजिक पूँजी हो।
अब प्रश्न एउटै छ? हामी खेलाडीलाई खेलको दिन मात्र साथ दिने कि उनीहरूको सम्पूर्ण खेलयात्रामा? यसको उत्तरले नै तय गर्नेछ, डायस्पोरा नेपालको ‘बाह्रौँ खेलाडी’मै सीमित रहनेछ कि नेपालको खेलकुद विकासको दीर्घकालीन साझेदार बन्नेछ।
मोहन घले
पत्रकार तथा समीक्षक
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




