टोकियो,जापान। करिब १३ वर्षदेखि जापानमा बसोबास गर्दै आएका नेपाली उद्यमी दिलेन्द्र प्रसाद जोशीको पहलमा दार्चुलाको लेकम गाउँपालिकामा ‘प्रथम लेकम गाउँपालिका दशैं कप–२०८३’ पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
बडादशैंमा गाउँ फर्किने युवा र स्थानीय खेलाडीलाई खेलकुदमार्फत जोड्ने तथा स्थानीय प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता आगामी असोज २९ गते श्री हुनैनाथ माध्यमिक विद्यालय, रातामाटामा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि असोज २८ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। प्रत्येक टिमको दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको छ। प्रथम हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीयले २२ हजार २ सय २२ रुपैयाँ र तृतीयले ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अनुसार ट्रफी, पदक, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई सम्मानको समेत व्यवस्था गर्ने तयारी छ।
जोशीकै पहलमा स्थापना हुन लागेको ‘युथ स्पोर्ट्स एण्ड सोसल क्लब’को पहिलो प्रमुख कार्यक्रमका रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। संस्थापक तथा परिकल्पनाकार जोशीले क्लबलाई खेलकुदसँगै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, कला–संस्कृति र युवाको क्षमता विकासमा काम गर्ने गैरनाफामूलक संस्थाका रूपमा अगाडि बढाउने योजना रहेको बताए।
“दशैं परिवार भेट्ने पर्व मात्रै होइन, गाउँबाट विभिन्न ठाउँमा पुगेका युवाहरू फेरि एक ठाउँमा भेटिने अवसर पनि हो। यही अवसरमा खेलकुदमार्फत युवालाई जोडौँ, एकअर्कालाई चिनौँ र हाम्रो गाउँका प्रतिभालाई अगाडि ल्याऔँ भन्ने सोचबाट यो अभियान सुरु गरेका हौँ,” जोशीले भने।
जापानमा अध्ययन र रोजगारीको अनुभवपछि व्यवसायमा लागेका जोशीका अनुसार उनी हाल चारवटा जापानी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। ट्राभल एजेन्सी तथा नेपालबाट खाद्यवस्तु एवं अन्य सामान जापानमा आयात गर्ने व्यवसायमा समेत उनको संलग्नता छ। नेपालमा पनि शिक्षा र कृषि क्षेत्रमा लगानी गर्दै आएको उनले बताए।
जोशी आफूले अध्ययन गरेका विद्यालय तथा लेकम क्षेत्रका शैक्षिक र सामाजिक गतिविधिमा समय–समयमा व्यक्तिगत सहयोग गर्दै आएका छन्। जापानस्थित नेपाली समुदायका गतिविधिमा समेत सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीसम्बद्ध प्रवास नेपाली सम्पर्क विभागको जापान संरचनाको प्रारम्भिक संगठन निर्माणमा संलग्न रहँदै संस्थापक प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
व्यावसायिक उपलब्धिसँगै जन्मभूमिप्रतिको जिम्मेवारीलाई पनि महत्त्व दिनुपर्ने उनको धारणा छ।
“विदेशमा बसेर व्यवसाय गर्नु वा सफलता हासिल गर्नु मात्रै पर्याप्त होइन। आफू जन्मिएको ठाउँ, आफूले पढेको विद्यालय र आफू हुर्किएको समाजका लागि हामीले के गर्न सक्यौँ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भने।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रत्येक टोलीमा अधिकतम नौ जना खेलाडी रहनेछन् भने सबै खेलाडी एउटै वडाका हुनुपर्नेछ। खेलाडीले नागरिकता वा मान्य परिचयपत्र साथमा ल्याउनुपर्ने र टोलीका लागि समान जर्सी अनिवार्य गरिएको छ।
फाइनल खेल पाँच सेटमध्ये तीन सेट जित्ने प्रणालीमा तथा अन्य खेल तीन सेटमध्ये दुई सेट जित्ने प्रणालीमा खेलाइनेछन्। खेलका क्रममा रेफ्रीको निर्णय अन्तिम हुनेछ। गलत विवरण पेस गर्ने वा नियमविपरीत अन्य वडाका खेलाडी समावेश गर्ने टोली वा खेलाडीलाई अयोग्य घोषित गर्न सकिने आयोजकले जनाएको छ।
यसपटक पुरुष भलिबलबाट अभियान सुरु गरिए पनि आगामी दिनमा महिला खेलाडीलाई समेत समेट्दै अन्य खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना छ। क्लबमार्फत शिक्षा, स्वास्थ्य, कला–संस्कृति, सामाजिक सचेतना र युवा क्षमता विकासका कार्यक्रमलाई पनि निरन्तरता दिने लक्ष्य राखिएको छ।
जोशीले प्रतियोगितालाई भविष्यमा सम्पूर्ण लेकमवासीको साझा खेलकुद उत्सवका रूपमा विकास गर्ने चाहना व्यक्त गर्दै स्थानीय वडा, खेलाडी, शिक्षक, अभिभावक, संघसंस्था तथा खेलप्रेमीलाई सहभागिता र सहकार्यका लागि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




