काठमाडौं, १६ मंसिर । लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ ।
बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ । उनीहरुले यसबाट विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
बेलायतमा हाल करिब ४० हजार नर्सको पद खाली छन् । तर, आलोचकहरु छोटो समयका लागि विदेशबाट जनशक्ति मगाउनुको सट्टा उनीहरुलाई बेलायतमै बस्ने अवसर दिइनुपर्ने बताउँछन् ।

नेपालीको संलग्नता रहेको ‘रिक्रुट टु हेल्थ केयर’ कम्पनीले ग्लोबल लर्निङ प्रोग्रामअन्तर्गत बेलायतको स्वास्थ्य मन्त्रालयसँग उक्त संख्यामा नर्स भित्र्याउन सम्झौता गरिसकेको जनाएको छ । तीन वर्ष्भित्र ५५ सय नर्स बेलायत ल्याउनुपर्ने सम्झौता बेलायतकै इतिहासमा पहिलो बृहत् भएको कम्पनीको दाबी छ ।

अहिले २० वटा देशबाट नर्सले आवेदन दिइरहेको र ३ सय नर्स छानिइसकेको रिक्रुट टु हेल्थ केयरका निर्देशक बीपी खनालले जनाए । नेपालबाट समेत आवेदन दिन सकिने जनाउँदै खनालले नर्सको आईएलटीएस तयारी शुल्क, भिसा शुल्क, हवाई टिकटदेखि बेलायत आएपछि तीन महिनासम्म बस्ने व्यवस्था, तालिम तथा अध्ययन निस्शुल्क हुने जनाए ।

टियर टुअन्तर्गत बेलायत आउन नर्सले आईएलटीएस वा ओईटी ९अकुपेसनल इंग्लिस टेस्ट० दिनुपर्नेछ । तर, नर्सिङ अध्ययन तथा नर्सको परीक्षा अंग्रेजी माध्यममै दिएको प्रमाणित गरे वा नर्सले काम गर्ने ठाउँमा पनि अंग्रेजी माध्यममै बिरामीसँग उपचार गरेको प्रमाणित गर्नसके बेलायतको नर्सिङ एन्ड मिडवाई फ्री काउन्सिल (एनएमसी)ले अंग्रेजी परीक्षाबिना पनि मान्न सक्ने खनालले बताए ।

झन्डै दशकअघि बेलायत सरकारले सहज अवसर दिएपछि संसारभरिका हजारौं नर्स बेलायत आएको बताइन्छ । नेपालबाट आएका सयौं नर्स पनि अहिले सपरिवार बेलायतमा बसोबास गरिरहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार