काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र यूनिभर्सिटी अफ नेब्रास्का–ओमाहाबाट सृजनात्मक साहित्यमा स्नातकोत्तर गरेकी डाक्टर शीलु घिमिरे न्यौपानेले अमेरिकाको टेक्सस् वुमेन्स यूनिभर्सिटीमा पारिवारिक अध्ययन विज्ञानमा विद्यावारिधि गरेकी छन् । अमेरिकामा अध्ययनरत् विद्यार्थीहरुको कथामा आधारित ‘परको देशमा’ (सन् २०१३) उनको पहिलो उपन्यास हो । उनको पहिलो प्रकाशित कृति डा. ग्रेगोरी गाब्रियल मास्कारिनको वीरेन्द्र अलंकार पुरस्कृत पुस्तक द रुलिङ्गस अफ द नाइटको नेपाली अनुवाद हो ।
पीआरको पीर (स्मृतिलेखन २०१६), मनमन्थन (कथा सङ्ग्रह २०१६) र सुनकेस्री (गीति काव्य २०१६) उनका हालै प्रकाशित कृति हुन् । पारिवारिक विकासमा महिलाको अर्ध साक्षरताको महत्व उनको अनुसन्धानात्मक रुचि हो । हालै उनी विद्यावारिधि सकेर लेखन, अध्ययनसँगै अध्यापनमा समर्पित छिन् । प्रस्तुत छ साहित्यकार डाक्टर शीलु घिमिरे न्यौपानसँग नेपाल न्युज पोष्टले गरेको कुराकानी —

नयाँ के लेख्दै हुनुहुन्छ ?
यस वर्षको गर्मी याममा अध्यापनबाट फुर्सद लिएको हुँदा एकै पटक दुई भिन्न विधामा कलम चलाउँदैछु । एउटा आफ्नो अनुसन्धानको विषयसँग सम्बन्धित छ र अर्को साहित्यिक नियात्रा ।
भर्खरै पढाइ पूरा भएको वर्ष दिन पूरा भएको हुनाले होला शायद दुवै अध्ययन र अध्यापनसँगै सम्बन्धित विषयमा लेख्दैछु ।

विषयवस्तु कसरी टिप्नु हुन्छ ?
दुई दशक अगाडिको पृष्ठभूमिमा तयार गरिएको मेरो कथा सङ्ग्रह ‘मन मन्थन’ वाहेक अरु सबै जसो लेखनका विषयवस्तुहरु आप्रवासी जीवन र भोगाइहरुसँग कुनै न कुनै अर्थमा गाँसिएका छन् । आपूm स्वयं पनि विद्यार्थीको रुपमा नै ज्ञानार्जन गर्ने अभिप्रायले विदेशी भूमिमा बसेको कारणले गर्दा होला शायद घरदेश छाडेर केही जान्न, सिक्न आउने विद्यार्थी मनहरु कुनै न कुनै रुपमा मेरो लेखाइमा उजागर भएकै हुन्छन् । जीवन र ज्ञानको खोजी र त्यसको यात्रा मैले टिप्ने गरेका विषयहरु हुन् ।

तपाईका कथाका पात्रहरु कहाँ भेट्नु भयो ?
मेरा कथाका पात्रहरु तपाई हामी जस्तै हाम्रै वरिपरि घुमिरहेका, आफ्नो दुःखसुख, सपना र जिजिविषामा जीवन बिताइरहेका हाम्रै समाजका अंगहरु हुन् ।
कोही पात्रहरु भर्खरै पति वियोग खेपेका कलिला विधुवा छन् भने कोही आकाशमा स्वच्छन्द जहाज उडाउने सपना बोकेका युवा मन । कोही प्रेमी छन् भने कोही प्रेमकै जोगी । कोही पढ्न विदेशिएका छन्, कोही विदेशिएर पछुताएका । सबैको आ–आफ्नै कथा र व्यथा छ । तिनीहरु हाम्रै वरिपरि, हाम्रै समाजबाट जन्मिएका र हामीसँगै एउटै युग बिताइरहेका पात्रहरु हुन् । जीवनका विविध यात्राहरुमा उनीहरुसँग भेट भयो ।

सुनकेस्रीको कथानकतामा कति प्रतिशत यथार्थ छ ?
‘एकादेशमा एउटा राजकुमार थियो रे’ भनेर पुरानो कथा वाचनको परम्परामा सुरु गरिएको सुनकेस्री कथा वर्षेनी कुनै न कुनै लोभ, लालसा या सपनाले विदेशिएका लाखौं नेपाली युवाहरुको यात्रा र अनुभवहरुको यथार्थ कथा हो ।
कथानक शैलीमा विविध रस, कल्पना र रंगहरु भरिएका छन् । यद्यपि विषयको चुरोले यथार्थता सँगालेको छ । सुनकेस्रीकी राजकुमारले झैं विदेशिएका युवाहरुले अनेक ठोकर खान्छन्, अनुभव बटुल्छन् र अन्ततः उनीहरुको पृथक खोजीहरुमा सुनकेस्रीमा सुनको सीप पाउन सक्छन् । यस अर्थमा कथाको मर्ममा यथार्थता छ ।

किन साहित्यसँग जोडिनु भयो ?
प्राथमिक कक्षा पढ्दादेखि नै मेरो बुबाले स–साना कथाका पुस्तकहरु, कमिक्सहरु प्रशस्त ल्याइदिनु हुन्थ्यो पढ्नको लागि । नेपाली, अंग्रेजी र हिन्दी तिनै भाषाहरुका ।
बाल्यकालदेखि सुरु भएको त्यो पढ्ने अनि बिस्तारै लेख्ने बानी पछि गएर अंग्रेजी साहित्यको विद्यार्थीको रुपमा नेपाल अनि अमेरिकासम्म आइपुग्दा अझ झाँगिदै गयो । आपूmले थाहा पाएको या सम्झन सक्ने बाल्यावस्थादेखि थाहै नपाई साहित्यसँग जोडिएको रहेछु, खुसी छु ।

साहित्य र समाजको सहयात्रा कुन विन्दुसम्म हुन सक्छन् ?
साहित्य पनि समाजको नै प्रतिविम्ब हो । विषयमा केही रंगहरु भरिन सक्छन् । रसहरु थपिन सक्छन् । केही अल्पना अनि केही यथार्थताको हिसाबकिताब तलमाथि हुन सक्छ तर जबसम्म स्वस्थ्य र स्पूmर्त रुपमा साहित्यले समाज प्रतिविम्ब गर्न सक्छ र साथै समाजलाई सकारात्मक सन्देश दिन सक्छ त्यतिखेरसम्म यी दुईको सहयात्रा सफल बन्दछन् । पहिले साहित्यबाट सुरु गरेर अहिले मेरो यात्रा यथार्थता र अनुसन्धनात्मक लेखनपट्टि बढेको छ । तर पनि जुनसुकै दृष्टिकोणबाट हेरे पनि साहित्यलाई समाजको सहयोगीबाट पृथक् हेर्न सकिदैन ।

तपाईले लेख्न मन गरेको कुनै कथानकता छ ?
पारिवारिक अध्ययन विज्ञानको विद्यार्थी र अध्यापकको रुपमा प्यारेन्टिङ अथवा बाबुआमाको सन्तानहरुसँगको सम्बन्धमा लेख्न मन छ ।

लेखकलाई लेखिसकेपछि पश्चात्ताप लाग्ने कुनै प्रसंग तपाईले भोग्नु भयो ?
अहिलेसम्म त्यस्तो प्रसंग भोग्नु परेको छैन । तर लेखिसकेपछि भन्दा पुस्तक प्रकाशित भइसकेपछि छापामा भएका धेरै अशुद्धिहरु देख्दा राम्रोसँग समय दिन नसकेर सुधार्न सकिने गल्तीहरु नसुधारेकोमा खेद भने पक्कै अनुभव गरेको छु । यद्यपि आउने लेखन र प्रकाशनका निम्ति अनुभवहरु राम्रो पाठ बनेको कुराले खुसी पनि छु ।

हामीले पश्चिमसँग सम्वाद के–कसरी गर्ने ?
यसमा सबैको भिन्नाभिन्नै दृष्टिकोण र सुझाव हुन सक्छन् । मेरो अनुभवको आधारमा पश्चिमी समाजसँग सम्वाद गर्दा ध्यानमा राख्नु पर्ने कुरा भनेको प्रष्ट वक्ता र सोझो चित्रण हो ।
हामीहरुसँग ‘आँ गर्दा अलंकार बुझ्ने भन्ने’ परिपाटी छ अथवा नबोलेको कुरा पनि एक अर्कामा बुझ्ने र बुझाउने पना छ । तर पश्चिमाहरु बोलेको मात्र बुझ्छन्– दोहोरो अर्थ लाग्ने कुराले नराम्रो विवाद सृजना गर्न सक्छ ।
तसर्थ प्रष्ट वक्ता र टड्कारो अर्थ लाग्ने कुरा मात्र यिनीहरुसँग सम्वाद गर्न सकिने शैली हुन् ।
विश्वविद्यालयमा ‘कम्युनिकेशन’अथवा ‘सम्वादशैली’ कै प्राध्यापकको हिसाबले मैले बुझेको ठूलो भिन्नता यही नै हो । नबोलिकनै कुरा बुझ्ने या भन्ने संस्कृतिबाट आएको मलाई यो बुझ्न समय लाग्यो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार