नेपालको राजनैतिक इतिहाहासलाई हेर्ने हो भने १०४ वर्षे निरङ्कुश राणाशासनको अन्त्य हुदैँ विभिन्न आन्दोलन र अधिकार प्राप्ति सङ्गै १० वर्षे जनयुद्ध र ०६२/६३ जनआन्दोलनको संघर्षबाट मात्रै देशमा गणतन्त्र प्राप्त भएको देखिन्छ।यस अवधिमा कैयौँ नेपाली आमाका सन्तानहरुले वीरगति प्राप्त गरे कैयौँ बेपत्ता भए भने कैयौँ घाईते अपाङ्ग भए तर आज ति योगदान र वलिदानहरुको खिल्लि उडाउदैं राजनीति दलका नेताहरु एक आपसमा तछाडमछाड गरि सत्ताको लागि मरिहत्ते गरिरहेका छन।
कवि भूपी शेरचन द्वारा रचिएको कविता एक अंश
“ हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए”

यो मन छुने कविताको हरफले भने जस्तै यो मुलुक बनाउन वीर सहिदहरुको ठुलो योगदान छ।राणाशासनकालमा एउटा जङ्गलको चारैतिर काडेँतार लगाएर जनावरलाई घेराबन्दि बनाए जस्तै राणाहरुले पनि जनतालाई विभिन्न अधिकारबाट बञ्चित बनाई घेराबन्दीमा पारेका थिए।त्यसैलाई अन्त्य गर्न बुलन्द आवाज उठाउँदा उठाउदैँ राणाहरुद्वारा निर्मम रुपमा हत्या गरिएका नेपाल आमाका लागि विरगति प्राप्त गरेका ती सहिदहरु अहिले पनि अमर रहेका छन।

नेपालप्रज्ञा प्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ।नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ।थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो।थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए।सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो ।विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमालार्इ सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।त्यसैले पनि माघ १० गते देखि १६ गते सम्म सहीद सप्ताहको रुपमा मनाउने गरिन्छ। पछिल्लो समय विभिन्न आन्दोलन तथा १० वर्षे जनयुद्ध सङ्गै हजारौँ व्यक्तिहरुले गणतन्त्र प्राप्तिको लागि आफ्नो प्राण गुमाउन पुगे साथैँ कयौँ दिदिबहिनीहरुको सिउँदो पुसिन पुगे,कयौँ बुवाआमाहरुको कोख रित्तिन पुगे भने कयौँ बालबालिकाहरु टुहुरो हुन पुगे तर आज सहिद परिवारको लागि सरकारले केहि रकम दिएर जिम्मेवारीबाट भागेको देखिन्छ र उनिहरुका बालबच्चाको भविष्यको लागि कुनै चासो नदिएको कुरा पनि प्रष्ट रहेको बुझिन्छ्।सहिदहरुको योगदानले नेता ,तिनका आफन्त र केहि आसेपासेहरुको मात्र जीवनस्तर बदलियो,बाकीँ जनताहरुका अवस्था भने उस्तै नै रहेको छ। “देशमा फेरि पनि अघोषित रुपमा जहानियाँ निरङ्कुश राणाशासनकाल मौलाएको छ यहाँ नेताहरुको आडमा रहि सजिलैँ सङ्ग हत्या, हिंसा, बलत्कार , भ्रष्टचार जस्ता जगन्य अपराधहरु दिनानुदिन बढ्दै गईरहेका छन तर राजनीति दलका नेताहरु मौन रहि भित्र भित्रै मिलेमतो गरि उनिहरुलाई उन्मुक्ति दिईरहेका हुन्छन”।

आज सहिदहरुको सपना माथि मजाक भैईरहेको छ, आज सहिदहरुको सपना माथि भ्रष्टचार र देश बेचुवा नेताहरुले राज चलाईरहेका छन देश परिवर्तनको लागि युद्धमा होमिएका केहि व्यक्तिहरु लाई अयोग्य लडाकुको बिल्ला भिराई आज खाडी मुलुकमा पसिना बगाउन बाध्य भएका छन भने देशमै उच्च शिक्षा अध्ययन गरी हातमा प्रमाणपत्र भएरपनि वेरोजगारको कारणले नै वैदेशिक रोजगारमा जानेहरु लर्को लाईरहेका छन ।
यिनै नेताहरुले गर्दा नै आज देशका अधिकांश युवाहरु परिवारको सपना पुरा गर्नकै लागि विदेश जानुपरेको छ तर पनि यि नेताहरुलाई देश र नागरिकको बारेमा कत्ति पनि चिन्ता छैन खाली पद र सत्ताकै लागि एकअर्कालाई दोषारोपण गर्दै जनताका आँखामा छारो हाल्ने काम मात्र गरिरहेका छन।जनताले पटक पटक जिताएर पठाउँदा पनि कुनै कुरामा हिन्नताबोध नगरी सत्ताको मोहमा चुर्लुम्मै डुबेका छन।
नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनीया राणा शासन, निरड्ढुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतको सम्झनामा हरेक वर्ष दिदैँ आएको विदालाई पछिल्लो समय सरकारले कटौति गरेको मात्रै छैन सहिदहरुले देखाएको बाटो नै बिर्सिएको होकि जस्तो भान पनि हुन्छ।देशमा व्यवस्था परिवर्तन भएतापनि नेताहरुको सोच र व्यवहारमा परिवर्तन नहुँदा जनताले खोक्रो गणतन्त्रको सामना गर्नुपरेको छ।पटक पटक एउटै व्यक्ति सत्ताको उच्च अहोदामा पुग्दा पनि जनताको मन जित्ने गरी काम गर्न नसक्नु नै आज देश,राजनीति दल र कार्यकर्ताका लागि दुर्भाग्य सावित भएका छन्।सत्ताको मोहले गर्दा आज राजनीति दलहरु एक अर्कामा हानथाप गर्दै एक-अर्कालाई नै सिध्याउन लागि परेका छन ।

नेपालको पछिल्लो क्रमको राजनीतिक घटनाक्रमलाई हेर्दा देशले एउटा सक्षम व्यक्ति तथा नेतृत्व खोजिरहेको छ।चुनाव अघि जनताको मन जित्न जस्तोसुकै योजना पनि सफल गराउँछु भन्दै सपना देखाउने नेताहरु आफ्नो जीत पछि देश र जनताको भलो भन्दा पनि आफ्नै स्वार्थको लागि तल्लिन रहेको देख्न सकिन्छ।यहाँ धनि वर्ग देखि गरिब निमुखा जनताहरु उहीँ पुराना दलहरुबाट वाक्क भई परिवर्तनको आशा बोकी नयाँ व्यक्तिहरुलाई जिताएर पठाउँदा पनि उस्तै अवस्था नै भोग्नुपरेको गुनासो सुनिन्छ।देशका लागि हासीँ हासीँ आफ्नो प्राण नै बलिदान दिएका ती सहिदहरुका आत्माले पनि यि नेताहरुने जनताप्रति देखाएको जिम्मावारी र उत्तरदायित्वको खेलवाडले सराप पनि दिइरहेको होला।हिजोका दिनमा खालिखुट्टा हिडेका ति नेताहरु आज सिंहदरबार पुग्ने हैसियत बनाए,एक छाक खान धौ धौ हुने नेताहरु आज काठमाडौँमा महल बनाएर बसेका छन सायद सहिदहरुले गरेको योगदान र बलिदानको उपलब्धि यहिँ त होइन भनेर पनि आम जनतालाई सोच्न बाध्य बनाएका छन ।

आशा गरौँ सहिद, बेपत्ता परिवार र घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरु र उनिहरुको परिवार प्रति सरकार उत्तरदायित्व भएर अघि बढ्नेछ।आफ्नो छोराछोरीको बलिदानमा काँख रित्तो बनाई बुढाबुढी भएका ती वृद्ध बुवाआमाका लागि सरकार थप जिम्मेवारी बन्नेछ्।टुहुरा बालबालिकाहरुको अभिभावक पनि बन्ने छ सरकार ।सहिद दिवसको दिन मात्रै होइन सदैव ती वीर सहिदहरुलाई सरकार र देशले सम्झिरहने छ।
मोहन कुँवर
सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार