कतिपय चलचित्रमा नायकले आफ्नै हात काटेको रगतले प्रेम पत्र लेखेको देखेको थिएँ तर आज ,हाम्रो यो प्रेमको बारेमा , म भने यहाँ यसरी सस्ता कलमका मसिले जानी नजानी बाध्य भएर आज दुई चार शब्द कोर्ने प्रयास गरेको छु ।
मधुमालती अनि मधुकर बनी कल्पनाको वायुपंखी घोडामा सवार भई आकाश माथिको देशमा सयर गरेको जस्तै हिजो रातिको सपनामा हामी पनि कतै सयर गरिरहेका थियौ। यसले मेरो मनमा एक प्रकारको रोमान्चकता पैदा गरेको छ। निकै नै मीठो थीयो । यो मिठो यो मानेमा छ कि यसले मलाई पहिलोपल्ट स्वर्णिम सपनामा तिमीलाई आँखा भरी सजाउने मौका दिएको छ। अहिले निकै डर लागेको छ मलाई कतै त्यो सपना क्षण भरमै तहसनहस हुने पो होकी ? मनको आकाशमा आशङ्काका कालो बादल घुम्न खोज्छ ।
तिमी सँग त्यति धेरै चिनजान पनि त छैन, जति मैले तिमीलाई सपनामा देखेको थिए । मलाई माफ गर, अहिले तिमीलाई कुनै नामले सम्बोधन गर्ने ,म मा कुनै शब्द र सम्बोधन छैन! सम्बोधन पनि कसरी गरौं आज यो विरानो शहरमा तिमीलाई ! अझ भनौं यो लेखिरहँदा समाजले सोध्ने प्रश्न तिमी को हौ? यसको जवाफ समेत छैन मसँग ! साँच्चै तिमी को हौ मेरो लागि? तिमी के हौ मेरो लागि? थाहा छैन प्रिय मान्छे तिमीमा के छ त्यस्तो? दुनियाँको नजरमा तिमी केवल एक तस्बिरमा मात्र छौ होली ! तर म तिमीमा मेरो जिन्दगी खोज्दै छु ! हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि मात्र एक पलजस्तो लाग्न थाल्यो । यो सपना जस्तै दिन पनि तिम्रै झझल्कोमा बित्दै बित्दै जान थाल्यो ।
मेरा अन्तर्मनका कुना-कुनाबाट तिमीप्रति अपार मायाका वर्षातहरू उर्लिएर आएका छन्। लाग्छ यही मायाका वर्षात सँगै आफू पनि तिमीमा पोखिऊँ ! दुनियाँको नजरमा यो पागलपन होला, तर म यसैलाई जिन्दगीको खुसी मान्न तल्लीन हुँदै छु !
यादमा व्यथित मेरो मुटु थकित हुन्छ घरीघरी ! लाग्छ यतिका धेरै आफन्तबीच पनि म नितान्त एक्लो र बेसहारा भएको महसुस गर्दैछु। भौतिक सुखका सामाग्री किन्न सामर्थ्य राखे पनि माया र मन किन्न नसक्नु सायद मानवजातिको सबैभन्दा निरीहता भयर नै होला !
खै! हुन त सुनको अगाडी पित्तलको के महत्व हुन्छ होला र ।यस्तो लाग्छ तिमी सुन हौं, म पित्तल हूँ! तिमी हिमाल हौ त म हिउँ हुँ तिमी आकाश हौ त म सूर्य हुँ। आखिर फरक यति नै हो कि तिमी अमूल्य वस्तु जस्तो महँगो हौ म भने बजारमा सस्तो मूल्यमा विक्री वितरण हुने चिज ?
प्रेमगीतहरु सुन्दा अझ तिमीप्रतिको अनुरागले उग्र रुप लिन्छ । जब प्रेम गीत सुन्छु अनि मेरो मन भक्कानिएर आउँछ । मन थाम्न सक्दिन अनि ती तिम्रा मन मुटु भित्र सजिएका तस्विरहरु हेर्ने गर्छु । तस्विर मै ए सानी , रानी बोल न ,म तिम्रो मायालु मान्छे …. भन्दै तस्विरसँग कुरा गर्छु । जहाँ जाउँ तिमी नै तिमी! हेराईमा तिमी! खोजाइमा तिमी ! यो जिन्दगीको श्रुतिमधुर गजल तिमी ! हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी नै तिमी छौं । मेरो हरक पल धड्कने मुटुमा तिमी नै तिमी छौं ।
विहान ,दिउँसो, राती, भोक, तीर्खा, निन्द्रा मलाई छुटयाउन गाह्रो परेको छ अचेल । केवल तिम्रो नै ख्याल गरि रहौ जस्तो लाग्छ ।तिमी मेरो प्रेमको तीर्थ हौ तिमी ! हरपल प्रेम चढाउँदैछु म तिम्रो पाउँ मा । लाग्छ यो शीर तिम्रै सामु झुक्न लालायित बनिरहेको छ । म तिम्रै लागि यो धर्तीमा जन्म लिए जस्तो तिम्रै लागि जीवन अर्पण गरिदिऊ जस्तो । अझै भनौ तिमी नै प्रेमको दूत हौ। मेरो मृगतृष्णा हौ । मेरो तन, मन र जीवनमा तिम्रो स्पर्शको न्यानोपन हौ यस्तै यस्तै लागिरहन्छ।
मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ नी , म तिमीलाई त्यहाँसम्म नै देख्छु । तिम्रो सम्झना र मायालुपनलाई बर्णन गर्न नसक्दा आँशुका धाराहरु बग्न थाल्छन । जब नियाल्छु सजल मन तब तिम्रै कुमारी महारानीको मुहार मुस्कुराई रहेको हुन्छ । जहाँ जान्छु जुन अवस्थामा रहन्छु तिमीलाई नै देख्छु मेरो सानु रानी । छोटो समयमै तिमी प्रति म यति नजिक भएकि जुन आज वर्णन नै गर्न सक्दिन । वर्णन गर्ने केही शब्दहरु समेत शब्दकोषमा फेला परेन ।
यस्तो लाग्छ, महाबुको उकालो चढे जस्तो । तिमी पथप्रदर्शक अनि म पर्यटक भएर रुमानी यात्रा गरेको जस्तै सम्झिन्छु । मायाको देशमा सुन्दर र महत्वपूर्ण दृश्य अवलोकन गर्नका लागि हामी भ्रमण गरेका थियौ ।ठूलो बगैँचा जहाँ अनगिन्ती फुलेका फूलहरु छन्, ती फूलभन्दा केहि कमि छैन् तिमीमा ! थुप्रै भमरा आउँछन् त्यो बगैँचामा। आफ्नो इच्छा पूरा गर्छन्, थुप्रै रस खान्छन् र जान्छन् कहिले नआउने गरी ! तिमी त्यो बगैँचाको सुन्दर फूल हौ र म तिनै बगैँचामा आउने भमरा मध्येको एक। आफ्नो स्वार्थ पूरा गरिजाने स्वार्थी भमरा त हुँदै होइन म! म त्यो भमरा हुँ ! जहाँ म बिना त्यो फूलको सुन्दरता फिका छ, उदासिनता छ !
हामीले बँगैंचामा घण्टौ बिताएका थियौं । अचानक मेरो मुटुमा कसैले वाण हानेको थियो र म रक्तिम गुलाफको झाङ्गमुनि ढलेकाे थिए । तिमीलाई पनि त्यस्तै भएको थियो र मेरो समिपमा ढलेकी थियौ । ती मुटुहरुले हामी दुवैको सामिप्यता चाहेका थिए । पुष्पपत्रहरु वर्षिएर हामी पुरिएका थियौँ ।
संसारमा तिमी र म मात्रै छौँ जस्तो । अरु कोही छैन, छ त बस् हाम्रो सपना छ अनि हामी छौ। कल्पनामा बनाएको महल छ दरबार छ , तिमी त्यो संसारको रानी अनि म त्यो संसारको राजा। चारैतिर सिपाई हाम्रो सुरक्षामा खटिए जस्तो।
वर्षौंदेखि सिँचाइ र मल नपाएर सुक्दै गएको बिरुवा जस्तो! त्यो भमरा बिना सुन्दर फूल ओइलाएर जानेछ, सुकेर झर्ने छ र मर्ने छ ! म त्यो फूल जस्ती प्रेमिकासँग खेल्न चाहान्छु, लड्न चाहन्छु। बिहान उठ्दा आफ्नै साथमा देख्न चाहन्छु।
सधैँभरि ऊसँगै रम्न चाहान्छु। बुढेसकाल सम्म हेर्न चाहान्छु उसलाई। त्यो चाउरी परेका गाला ! सारी लगाउँदा मुजा पार्ने जस्तै मुजा परेका गालामा चुम्न चाहन्छु र भन्न चाहान्छु उसलाई यो जुनी मात्र हैन सानी जुनी जुनी तिमी मेरै हुनु ल।
हरेक पल तिमीसँग भेट्न तिब्र प्रतीक्षामा किन हुन्छ यो मन? मेरो लागि अपार खुसी हौ, सन्तुष्टि हौ, तिमी जिन्दगी हौ जस्तो । म हरेक दिन तिम्रा तस्बिरलाई पढ्छु। तिमीलाई थाहा छ? जब तिम्रा तस्बिरहरूमा मेरा मनका आँखा अडाउँछु, एकाएक तिमीमै हराउँछु। तिम्रा हरेक तस्बिरले मलाई किन एक तमासले लठ्याउँछन्? अनि विस्तारै गलाउँछ पनि! तिम्रा ती प्रेमिल तस्बिरमा हराइरहँदा मनले मिठो सुकुन महसुस गर्छ किन होला? के तिमी जवाफ दिन सक्छौ? कृपया मलाई जवाफ देऊ! मैले तिमीप्रतिको अपार माया लुकाउन चाहिनँ।
जिन्दगी जिउनुको मज्जा तिमी हौ ! म हरेक बिहानी तिम्रो ती स्पर्शबाट दिनको सुरुवात गरेको हुनेछु। जति मैले सपनामा तिमीलाई देखे, तिमीसँग प्रेम गर्न मेरो हैसियत केही पनि मिल्दैन तर पनि तिमी लाई मैले सपनामा तिम्रो साथ पाएको थिए। उच्च नैतिकवान्,चरित्रवान सर्वगुणी सुन्दरताले भरिपूर्ण तिमी मनोलिसा भन्दा कहाँ कम छौ र तिमी सर्वगुणी भयर नै होला सबैले तिम्रो प्रसंशा गरेको , त्यही सुनेर हुन सक्छ मैले तिमीलाई मेरो मनको राजकुमारी सपनामा भय पनि तिमीलाई आफ्नो संसार ठान्नु।
यो सुनेर तिमीलाई पक्कै पनि नराम्रो लाग्न सक्छ, तर आज म मेरो सपनाको कुरा मात्र भन्दै छु । आज मैले नचाहेर पनि हामीबीच काे , लक्ष्मण रेखा नाघिदिए त्यसको लागि माफ गर है । यस्तो कुरा पक्कै पनि तिमीलाई राम्रो महसुस हुने छैन तैपनि आँखाले मिठो र सुन्दर सपना सँगाली सकेछन् तिमीलाई । मेरो हृदयबाट प्रस्फुटित मायाका प्रत्येक उद्ववेग!तिम्रो चाहनामा समर्पित मेरो प्रत्येक भावना ! अनायसै तिमी तिरै बढ्ने मेरा निर्दोष पाइला, तिम्रै प्रतीक्षामा घन्टौँ टोलाइ रहने यी मेरा एकोहोरो नजर र तिम्रो सामिप्यको चाहनामा धड्किने मेरो प्रत्येक धड्कनका कारण आज मेरो कलम प्रेमको कहानी कोर्न बिवश बनायो ।दिनभरी तिम्रै सम्झना र रातभरी तिम्रै तस्बिर आँखामा नाचिरहने भएकोले आज मलाई किन हो किन तिम्रो नाममा एउटा पत्र लेखेको हुँ ! मेरो आत्माको नदी तिर्खाएको छ ! माया प्रीति लगाउनका लागि एक पल जस्तो मात्र लाग्छ यो जीवन । तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु ! तिमीलाई नसम्झेको कुनै क्षण छैन । यो आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुन ताराको शीतलता, धर्तीको हरियाली, फूलहरुको सुगन्ध अनि सुन्दरता, शीतको माला, असीना र हिउँको साम्राज्य, हिमाल र पहाडको लहर र जुनसुकै चीजहरुले मेरो सामु स्मृतिको सौगात लिएर आउँछ ।
मलाई विश्वास छ, तिमीले झर्को नमानी एक पटक धैर्यता सहित यो पत्र पढ्ने नै छौ। । हुन त यस्ता थुप्रै पत्रहरु मुटुको कुन कुनामा लेखेर टाँसिएका छन् तर पनि हिजोको त्यो सपनाले आज मलाइ सबैका बिच सार्बजानिक गरेर तिमी प्रतिको मेरो मायालाई बाहिर उतार्ने प्रयास गरेको हुँ ! गल्ती भएमा माफ गर ल ! हिजो आज त तिम्रो सम्झना समाल्नै नसक्ने गरी आउछ । रातमा निद्रा पर्दैन, तिम्रो कल्पनामा हराउने गर्छु । आँखा चिम्लदा पनि तिमीलाई नै देख्छु, आँखा खोल्दा पनि तिमीलाई नै कतै निदाएछु भने सपना पनि तिमीलाई मात्र देख्छु । मेरो मन मुटुमा तिमी नै छौ जस्तो लाग्छ, मात्र तिमी छौं जस्तो ।
मैले तिमीलाई मन पराउँछु भन्दैमा तिमीले मलाइ मन नपराउन पनि सक्छौ तर मलाई त्यस्तो लाग्दैन किनकी तिमीलाई मेरो मायाले एक दिन पक्कै जित्नेछ। म तिमीलाई तिम्रोलागि आकाशको तारा झार्न सक्छु त भन्दैन तर मेरो संसारको खुसि तिमीलाई नै दिनेछु बिदानको लाली तिमीलाई, साँझको सामिप्यता तिमीलाई मेरो क्षमताले गर्न सक्ने सबै चिज तिमीलाई समर्पण गर्न चाहन्छु।
जुन चिज आफूले पाउँदैन, त्यो चिज नै सबैभन्दा प्यारो लाग्छ मलाई। सायद आफ्नो प्रेम पाउन भाग्यमा नै लेख्नु पर्छ होला ! सबैको नसिबमा हुने भए प्रेमको कुनै अर्थ नै के रह्यो र? त्यसैले त अहिलेसम्म प्रेम चलेको छ, चलिरहने छ।
अधेरी रातको कहिले जुनेली त कहिले कालो रातमा सम्झनाका बाटोहरु पछ्याउँदै जाँदा म तिमीबाट टाढा भएको पाउछु ।
सपनामै जिइरहेको थिएँ म ! मेरो सपनाले नै मेरै प्रेमको हत्या गरिदियो। । जब सपनाबाट ब्युउझिएँ मेरो सामु पीडा र स्वार्थको थुप्रो मात्र थिए। खुब रोएँ, कराएँ, चिच्याएँ पनि तर त्यो रुवाइ र चिच्याहट न तिमीले बुझ्ने छौ न बुझ्ने प्रयास गर्ने छौ ! दोष मेरो सपनाको हो।
अचेल म एउटा ठूलो घना जंगलमा छू म । जहाँ मलाई देख्ने र मेरो कुरा सुन्ने कोही छैनन्। सबैतिर सुनसान छ । संसारबाट मानव जातिको लोप भैइसक्यो जस्तो लाग्छ । अव म मात्र जिवित छु यो संसारमा। सास चलिरहेको छ, शरीरका सबै अंग चलिरहेका छन् तर पनि जीवितमा हुने केही चाल पनि छैन् ममा। फेरी सोच्छु म एक आर्यघाटमा छु। सबैतिर मरिसकेका मान्छेहरुको बस्ती छ, बोलाइरहन्छु तिनीहरुलाई। अह! कोही सुन्नेवाला छैनन्। मेरो आवाजलाई , मरुभूमिमा पानीको प्यास लागेर छट्पटिरहेको छु तर चारै तिर बालुवा मात्र छ। गर्मीले मलाई गलाइसकेको छ। लाग्छ म मरिसकेको छु। प्यास बढीरहेको छ। पानीको मुहान खोज्ने हिम्मत हराइसक्यो ममा। अब मलाई धेरै यस्ताे भैरह्यो भने अब पक्कै मर्नेछु अनि किरा फट्यांग्राहरुको आहारा बनेको हुनेछु। गिद्धले मेरो शरीरमा भयको मासु भरी सबै लुछ्ने छ। अब मेरो नामो निशान हराएर हड्डी मात्र बाँकी हुनेछ । प्रेम यही त हो जुन मृत्युभन्दा भयानक छ। प्रेम त दिने चिज मात्र हो रे तर एकोहोरो दिएको थिए मैले।
यो सबै तिमीप्रतिको आशक्तिको प्रतिफल हो। त्यस्तो खाली क्षण छैन जहाँ तिम्रो याद नआएको होस्। यस्तो लाग्छ कि म तिम्रो मायाको सागरमा यति गहिरो डुबेको छु, जहाँ मोती नटिपी किनारमा आउन म राजी छैन। मेरो अन्तरआत्मा पछाडि फर्केर हेर्न कदापि चाहँदैन। तर मानिसका सबै चाहनाहरु पुरा हुन सम्भव छैन।
हो म तिमीलाई मन पराउँछु र माया गर्छु यस अर्थमा तिमीलाई मैले प्राप्त गर्नै पर्छ भन्ने पनि होइन।प्रिय, तिमी वास्तवमै मेरो प्रेरणा हौ, आदर्श हौ, पूजा हौ, श्रद्धा हौ र माया हौ। तिम्रो शालीनता, सरलता, वैचारिक व्यापकता, निर्दोषिता र निश्कलङ्कता नै मेरो लक्ष्य भएको छ। मन परेको चिज प्राप्त गर्नै पर्छ भन्ने लहड पनि मलाई छैन। त्यसैले तिमीलाई प्राप्त गर्न नपाएको झोकमा म आत्महत्या पनि गर्ने छैन ! तिमी बिनाको संसार अत्यन्त पीडादायी हुनसक्छ ! तिमीले मेरो माया र प्रेमिल भावनाको कदर गरी माया साट्ने एक मौका दियौ भने मेरो सौभाग्य हुनेछ! तिमी मेरो अन्तरआत्माबाट प्रस्फुटित मायाको उद्वेगलाई कोरा बकवास ठान्छौ भने मेरो भन्नु केही छैन। तिमीले मलाई मनपराउन पनि सक्छौ र घृणा गर्न पनि सक्छौ, यो तिम्रो नितान्त व्यक्तिगत निर्णय हो ।जसरी मान्छेलाई जिउन अक्सिजन आबस्यक पर्छ त्यस्तै अनिवार्य जस्तै बनेकी छौ। यदि तिमीले मलाई बुझेछौ र मलाई विश्वास गरिछौ भने मैले देखेको यो सुन्दर सपना अवस्य पूरा हुनेछ। सुख, दुःख जे भएपनि तिमी र म संग संगै बाँच्नु पर्छ तर सँगै मर्नुपर्छ त म भन्दिन किनकी यमराजले कसलाई कति फेर लैजान्छ अहिले भन्न सकिन्न । तर बाचुन्जेल हाँसी, खुसी, सुखी जीवन बिताउला ! तिमी बिना म अधुरो छु !गुधुली साँझमा आफ्नो बासस्थान फर्कन लागेको बनचरी जस्तै आतुर छु, ती कौतुहलताका साथमा मैले अस्ति पनि काटे! हिजो पनि र आज पनि तर भोली बिहानको सुर्योदयमा तिमीसँगका हरेक पलहरु याद गर्ने शाहस राखेको छु।
म तिम्रो साथको पर्खाइमा छु । तिम्रो अभाबमा यो जिबन सफल होला नहोला भन्न सक्दिन म तर सार्थक भने हुने छैन नै । तिमी मेरो एउटा छुट्टै ,बेगलाई बिशेष र खास मित्र थियौ, छौ र सदा रहिरहनेछौ । तिम्रो निम्ती यो दिलको ढोका सदा खुल्ला खुल्ला रहनेछ ।भाग्यलाई च्यालेन्ज गर्दै म तिमीलाई युग युगान्तकार सम्म प्रेम गरिरहनेछु तिम्रो तस्वीरलाई अन्तस्करणको क्यानभासमा टाँगेंकाे छु । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले नचोरुन् भनेर समर्पणको चाबी लगाएँर राखेको छु।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




