धेरै साथीले आज बुबाको मुख हेर्ने दिन भन्दै अनेक शब्द ले सम्मान गर्दै विभन्न समाजिक सञ्जाल भरेको देखेर मलाई पनि बुबाका लागि केही शब्द कोर्न मन लाग्यो ! कपी र कलम लिएर लेख्न पनि सुरु गरे ! एकछिनमै कलम रोकियो अँ साँच्चै के लेख्ने होला त! लेख्न त लेख्ने तर कहाँ बाट सुरु गरौं कहाँ बाट अन्त्य गरौं केही मेसो नै पाए न ! महान बुवा को बारेमा सायद शब्दले मात्रै व्याख्या गर्न नसकिदो रहेछ!बुबा अर्थात बाबा सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान छ । अँ अमेरिकी नायिका लिजा मिन्नेलि ले भनेको एउटा भनाइ याद आयो “बुबाले मलाई सपना दिनु भयाे जसबाट मैले आफ्नो भविष्य देख्न सके” । लिजा मिन्नेली काे यो भनाइले बुझिन्छ की ‘हरेक बाबुले आफ्नो सन्तानको सपना लागि आफैलाई बिर्सेर सन्तानलाई अपार योगदान दिनुहुन्छ।सन्तानका लागि बुवा एक आदर्श पुरुष र प्रेरणाको स्रोत हुनुहुन्छ जसको उपस्थितिले मात्रै पनि सन्तान भित्र जोस, जाँगर र आँटको बाढी नै एउटा सत्य शक्ति जस्तो !’

आज बुवाको मुख हेर्ने दिन, हरेक सन्तानलाई झैँ मेरो मनमा रहेको बुवाप्रतिको सम्मान भावले आज उहाँकै निम्ति केही भावनारूपी शब्दहरू कोर्ने जमर्को गर्दैछु । हुन त बुवालाई सम्मान गर्न वर्षको एक दिन नै पर्खनुपर्ने त होइन तथापि आजको दिनको पनि विशेष महत्व भएकाले मेरा केही शब्दहरू उहाँकै नाममा समर्पित गरेर बुबाको बारेमा कलम अगाडि बढाए।
आज कुसे औंसी यानिकी बुबाको मुख हेर्ने दिन सबै भन्दा पहिला त संसारमा भएका सम्पूर्ण बुवालाई कोटि कोटि नमस्कार! सन्तानको सुख अनि खुसीको लागि रात दिन मेहनत गर्ने दिक्कालजयी हातहरु अनि सन्तानको मायाले भौंतारिएको मन मस्तिष्क ! हरेक पल आशाको दीपलाई अँगाल्ने ती ओठहरु, कहिल्यै नथाक्ने ती पाइलाहरुप्रति हाम्रो शिर सँधै झुकिनै रहोस् ।
धर्तीका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै पुन कोटी कोटी नमन ! बुबा, बाबा , ड्याडी अनेक शब्द तर रुप एक हुन् । संस्कृत मा एउटा भनाई छ “पितृ देवो भवः । ” अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् ।
बुबा शब्द आफैंमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजेता पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरु ,घरको जग , परिवारको उज्यालो , संसारको आठौँ आश्चर्य , सन्तानको हिम्मत ,सन्तानको सुरक्षा कवच , सन्तानको सहारा , सन्तानको पहिलो मार्गदर्शन , संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति , आमाको अभिमान र स्वाभिमान , सन्तानको सपनालाई पुरा गर्ने, सन्तानको जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने, आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी , जसलाई दिन मात्र आउँछ सन्तानबाट कहिल्यै लिन आउँदैन ,जीवनको कुनै मोडमा ‘म’ मेरा लागि ‘मैले विश्राम लिनुपर्छ’ भन्नसम्म नरुचाउने परिश्रमी , सन्तानको आदर्श, पथ-प्रदर्शक, प्रगतिको कारक, हौसलाको स्रोत र आमाको सौभाग्य , सृष्टिको पहरेदार , सन्तानको रक्षक, पालनकर्ता, जन्म कर्म दिने र संसार चिनाउने व्याक्तिलाई बुबाको रुपमा परिभाषित गरिन्छ।
बुवाले सन्तानको खुसीको लागि हरेक कठीन समस्याहरुसँग कहिल्यै पनि सम्झौता गर्दैनन् । बुवासँग त्यस्तो प्रकारको साहस हुन्छ जो निष्ठापूर्ण हुन्छ । सन्तानको खुसीको लागि बुवाहरुले अनन्त मृगतृष्णा पनि भुलिदिन्छन् । बुवा आफ्ना सन्तानको सपना साकार पार्न अनवरत रुपमा लागि पर्छन् ।जीवनको हरेक परिस्थितिमा एक सच्चा सल्लाहकारका रूपमा रही एकदमै सहज वातावरण निर्माण गर्नु हुन्छ।
जीवनको हरेक परिस्थितिलाई विल्कुलै हतास नगरी, सामना गर्न सक्ने क्षमता छ बुवा भएकाहरूमा। जीवनका भोगाइ अनि दुखाइलाई भावीको लेखाइ मानेर; सन्तानको खुसीका लागि आफ्नो जीवनको प्रवाह नगरी, अहोरात्र खटिरहने रणभूमिको योद्धा हुन् बुवा । थाकेको छु भनेर कतै सुस्ताएको कहिल्यै सुनिँदैन न त बिसञ्चो छु भनेर कतै ढलेकोे नै देखिन्छ। हरेक सन्तानको भावना र भरोसा सँग गहिरो रुपमा जोडिएको हुन्छ । सन्तानका लागि बुबा नै पहिलो हिरो हो । जसले सन्तानलाई माया र संरक्षण मात्र होइन संघर्ष पनि गर्न सिकाउँनुहुन्छ।बुबाभन्दा अशल गुरु अरु कोही हुन सक्दैन । बुबाको जिम्मेवारी र माया कोरेर कहिल्यै सकिँदैन ।
ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने , माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन् । आमाको माया र बुबाको संघर्षविना सन्तानको भविष्यले कुनै बाटो निर्धारण गर्न सक्दैन । आमाको सैभाग्य अनि सन्तानको सहारा बुबाको महिमा शब्दमा गर्न सकिँदैन ।
आमाको ममताबाट हुर्किने बच्चा बुबाको संघर्ष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ब्रह्माण्डभन्दा व्यापक छ । अमेरिकन कवि रोबर्ट फ्रोस्ट ले भनेका छन् “आमाको माया पाउनका लागि तिमि योग्य हुनुपर्दैन, तर बुबाको माया पाउनका लागि तिमि योग्य बन्नुपर्छ ।” सायद बुवाको कठोरता र आमाको नरमपना मिश्रित व्यवहारले नै परिवारलाई अनुशासन र स्नेहको घेराभित्र बाँधेर राख्न सफल भएको हुनुपर्छ । बुवा चाँडै गल्नु/पग्लिनु हुन्न किन थाहा छ ? फलाम सेलाउन्जेल मात्र ऊ आफ्नो आकारमा रहन्छ। तात्यो भने मान्छेले आफू अनुकूल बनाउँछ र उसको अस्तित्व खतम हुन्छ। बुवाले पनि आमाले जस्तै तपाईंको अनुकूलतालाई हेर्नु भो भने परिवारको अस्तित्व खतम हुन कुनै बेर लाग्दैन।
वास्तवमा बुवाको मन स्नेहले भरिपूर्ण र विशाल हुन्छ ! आफ्नो सन्तानको सुख र सुनौलो भविष्य सुनिश्चित गर्ने हेतुले आफूलाई नै दाउमा राखेर दिनरात निरन्तर खटिइरहेका हुन्छन् । बाहिर नदेखिएको हुनसक्छ तर मनभित्र अथाह माया बोकेर सन्तानलाई स्नेहको छहारी प्रदान गरिरहेका हुन्छन् । त्यसो त लोग्ने मानिस शारीरिक र मानसिक रूपमै कठोर हुनुपर्ने !जीवनमा आइपर्ने दुःख र समस्यामा पीडाबोध गर्दै रुन समेत नहुने जस्ता समाजमा स्थापित मान्यताहरूले पनि बुवाहरूलाई कठोर जस्तै देखिने बनाएको होला !हैन भने बुवाहरू ओखर जस्तै हुन बाहिरबाट कडाभित्रबाट एकदमै नरम।
बुबाले आँसुबाट मुस्कान निकाल्ने क्षमता राख्छन् । हरेक बाबुले आफ्नो सन्तानलाई सिकाउन, व्यवहारिक बनाउन, अनुशासनमा राख्न कोमल मनलाई कठोर देखाएर अभिनय गरिरहेका हुन्छन । सन्तानको खुसीमा सामेल हुँदा बुबा हाँसेको नदेखिएला । तर, हाँस्न दिएको स्वतन्त्रताको मोल सन्तानले बुझ्नुपर्छ ।
हिन्दु ग्रन्थअनुसार गुरु, माता र पितालाई भगवानको मानव रुप मानिन्छ ।हामी जुनसुकै धर्म या सम्प्रदायका भएपनि यस पृथ्वीका हरेक सन्तानलाई बुवाको उत्तिकै महत्व छ ।
विहानीले दिनको सुरुवात गरे झैं बुवाबाट नै हाम्रो अस्तित्व सुरु हुन्छ । नौ महिना आमाको गर्भमा हुर्केको भ्रुण जहिले देखि यो धर्तीमा पदार्पण गर्छ त्यस पछि आमा र बुवा दुवैको समान भूमिका हुन्छ उसको लालनपालन, शिक्षा, दिक्षा र अन्य कर्मको लागि । एउटा सन्तानको उज्जवल भविष्यको लागि आमा र बुवा दुवैले समान रुपमा संघर्ष गर्छन्, सन्तानको उज्जवल भविष्यको कल्पनामा उनीहरुको दुःखलो दैनिकी पत्तै नपाई वित्ने गर्छ ।
आमा-बुवा एक रथका दुई पांग्राका रूपमा रही समान जोड ,बलको मद्दतले सन्तानलाई सुखको गन्तव्यसम्म पुर्याउन सदैव अनवरत प्रयासमा रहन्छन् र सन्तानको नजरमा पनि उहाँहरू प्रतिको सम्मान, श्रद्धा अनि महत्व निकै नै उच्च रहेको हुन्छ । ‘आमा धर्ती हुन् भने बुवा आकाश’ सायद यत्तिकै भनिएको होइन होला, त्यसैले त हाम्रो परम्परा र संस्कारले समेत उहाँहरूको महत्वलाई आत्मसात् गर्दै ‘मातातीर्थ औँसी’ र ‘पिता-सम्मान दिवस’ अर्थात् आमा/बुवाको मुख हेर्ने दिन भनेर तोकिदिएको पाइन्छ ।
छोराछोरीलाई जन्म दिने सौभाग्य त बुबालाई प्रकृतिले नै दिएको हुँदैन । तर, कर्म दिने बुबाको मायामा कहिल्यै कमी हुँदैन । बाध्यताले परदेशिँदा बाल्यकालमा छोराछोरीलाई ताते गर्न हात दिन नसके पनि काखमा खेलाउने धर्तीआमा जस्तै आकाश बनी शीतल प्रदान गर्ने बुबाको मायामा केही कमी हुँदैन । सायद बाल्यकालमा छोराछोरीसँगै रमाउने चाह कसको हुँदैनथ्यो होला ?
बुवा आफ्ना सन्तानको खुसीको निमित्त दिन रात नभनी, सूर्योदय वा सूर्यास्त नभनी, सन्ध्याकाल तथा उषाकाल नभनी, झरी तथा घाम नभनी, जाडो तथा गर्मी नभनी असल सन्तान बनाउने धेयमा अनवरत खटिरहन्छन् ।
आफ्ना सन्तानले दुःख नपाउन भन्ने हरेक बुवाहरुको इच्छाकै कारण उनीहरुलले कहिलेकाँही जायज नाजायज काम पनि गर्न पछि पर्दैनन् । यस संसारमा जो कोही मान्छेले कसैसित पनि हारुँ भन्दैनन्, तर आफ्ना सन्तानको लागि बुवा सँधै हारिरहन्छन्…. हारिरहन्छन् …… हारिरहन्छन्….. । आफ्नो सन्तानको हक अधिकार र उज्वल भविश्यको लागि बुवा हारिरहन्छन् ।
बुवा सोँच्नुहुन्छ ,कि मेरो सन्तानले त्यो सबै कुरा देखोस्, जुन कुराबाट म सदैब बञ्चित थिए । हरेक बुवाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्,।
घर खर्च चलाउन, सबैको रहर अनि सपना सजाउन सन्तानको आगमनभन्दा पहिले परदेश हिँडेका बुबा । अनि परदेशमा दिनरात नभनी आफ्नो भोक प्याससँगै स्वास्थ्यको प्रवाह नगरी तातो अरबको खाडीमा आफ्ना रहरहरुलाई कुण्ठित पार्दै आधा पेट खाई सन्तानको भोक मेटाउँदा आफ्नो सम्पूर्ण दुःख बिर्संदै घर र्फकने दिन गन्दै बस्ने बुबाले पठाएको महंगो अत्तरको सुगन्ध र आधुनिकता बढेसँगै, छोराछोरीहरुको जवानीको रंग चढेसँगै त्यो घर अचेल घरजस्तो छैन । जसका कारण कति आमा बाबा गल्ली, सडक, पाटी, पौवा मन्दिरका देवलहरुमा आफ्नो बुढो, अशक्त, र कमजोर शरीर लिएर एकमुठी सास बचाउन, गासको भिख माग्दैछन् । तर, मागेको भिख अञ्जुलीमा अडाउन सक्ने शक्ति छैन अहिले । बुबाले सुरु-सुरुमा हलो समात्दा उनको हातमा पहाड नै उचाल्ने बल थियो । तर, अहिले त्यही पहाडबाट बगेको पानीले प्यास मेट्न खोज्दा अञ्जुलीमा प्यास मेटाउने पानी अडाउने शक्ति पनि छैन।
कर्कलाको पातमा टलपल पानीझैं आँशु टिल्पिलाएका आँखामा निद्रा हराएपछि आफ्नै परेलीका डीलहरुमा खुशीको शिला खोज्दैछन् बुबाहरु । चाउरीएर ग्राफजस्ता गालाका रेखाहरुमा कतै एक धर्को सन्तोष छैन । नाम्लोको पातो सार्दा-सार्दा कपाल झरेर खुइलिएको बुबाको तालुमा जिम्मेवारीको चर्को घामले दिनभर ठुँगिरहन्छ तर, पनि खुसीसाथ संसार जितेको नाटक गरिरहन्छन् र पैंचो मागेको खुसी सन्तानलाई बाँड्छन । यथार्थमा सन्तानका लागि पलपलमा हारिरहेका हुन्छन् । बुबा बरु हरुवा बन्छन्, तर सधैं हाँसिरहन्छन् त केवल तिनै सन्तानका लागि । बुबालाई सधैं दुःख र सन्तानको जिम्मेवारीले ग्रस्त बनाएको छ ।
एउटा सामान्य मानव आधा जीवन राम्रो छोराछोरी बन्ने उत्कृट चाहानामा र आधा जीवन राम्रो बुबा आमा बन्ने अभ्यासमै बित्छ । पछिल्लो समय भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ । आदर्श सन्तानका लागि बुबाको मुख हेर्ने दिन मात्रै होइन, प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त हुन्छ । तर, भावना हरेक दिन एकै हुनुपर्छ ।
बुवाहरुको बुढेसकालको दरबिलो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं र गर्नै पनि पर्छ । जे होस आमा बुवा नै यस लोकका देख्न सकिने र छुन सकिने देवताहरु हुन् ।
बुबाको सम्मान, सम्झनामा बुबाले गरेका त्याग, समर्पण र
आफ्नो सन्तान भन्दा भन्दै परिवारलाई संस्कारी मुर्तीमा राख्दा–राख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काधको भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौ होला ? बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाकै अस्तित्वको सम्मान गर्दै उहालाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला ?बुवाले हामीलाई सानो छँदा दिएको संस्कार , शिक्षा, सहि मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया , त्यो काधको जिम्वेवारी हामी हाम्रो काधमा राखेर समाल्न सक्छौ होला ?
हिन्दू धर्मशास्त्र अनुसार आज कुशे औंशी । ‘कुशे औंशी’लाई बुवाको मुख हेर्ने दिन भन्ने गरिन्छ । आजको दिन बुवालाई उपहार साथै विभिन्न प्रकारका मिष्ठान्न भोजन गराएर उनै छोराछोरीहरुले बुवालाई मिठोमिठो खानेकुरा खुवाएर उपहार दिइ बुवाको मुख हेर्ने , बुवाबाट आशीर्वाद ग्रहण गर्ने प्रचलन चली आएको छ । कुशे औंशी यानीकी बुबाको मुख हेर्ने दिन बुवाका तस्वीरहरु विभिन्न सामाजाकि सञ्जलका पानाहरुमा पोष्ट गर्दै ‘ह्यापी फादर्स डे’ भन्नेहरु धेरै छन् । कुशे औंशीका दिन सामाजिक सञ्जालका भित्ताहरु बुवामय हुने गर्दछन् । बुवाका तस्वीरहरु फेसबुकलगायत विभिन्न सामाजाकि सञ्जलका भित्ताहरुमा टाँस्दै ‘ह्यापी फादर्स डे’ भन्नेहरु धेरै देखिँन थालेका छन् । त्यसैले त आज सामाजिक सञ्जालका भित्ताहरु बुवामय भएका् छन् ।
आजको दिन विशेष रुपमा बुवाको जन्म दिनजस्तै बनेको छ । विभिन्न कारणले टाढा भएका छोराछोरीले समय निकालेर भएपनि बुवालाई भेट्ने गर्दछन् । यस्तै बुवा नहुनेले देशका विभिन्न खोला तथा धार्मिक स्थलहरुमा पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिइ सिदा दान दिने गर्दछन् । कसैले तिथिमा निरन्तरता दिएकाहरुले घरमै स्नान गरी सिदा दान गर्दछन् । यसो गर्दा पितृहरु पार तर्ने र आफुहरुलाई पुण्य प्राप्त हुने विश्वास गर्दछन् । आजको दिन कसैले खुशी ले विताउँछन् त कसैले आँशुमा विताउँछन् ।
जसरी सम्झीएपनि पिता सबैको गुरु हुन् । गुरुले सँधै दिने हो, भएपनि र नभएपनि । त्यसैको सम्मान स्वरुप वर्षको एकपटक भएपनि पिताको स्थानलाई थप महत्वपूर्ण बनाउन विशेष भेटघाट र सम्मान गरिँदै आएको पाइन्छ ।
समाजका कैँयौ सन्तानहरूले आफ्नो आमाबुवालाई आफ्नै घरमा स्थान नदिएर वृद्धाश्रममा थन्क्याएको देख्दा अत्याधिक पीडाबोध हुन्छ र संसार देखाउने नयनरूपी बुवा-आमालाई कसरी आफ्नै आँखाबाट ओझेलमा राख्न सकेको होला भनेर मन अमिलो हुन्छ । आफूसँगै हुँदा बेवास्ता गर्ने सन्तानहरू अभिभावकको देहान्तपछि भने अनेक बिलौना गर्दै यति र उति थोक दान गर्नलाई तँछाड मछाड गरेको देख्दा आश्चर्य लाग्छ ।
हिजोआज धेरै बुवाहरु सन्तानविहीन झैं भएर बस्न बाध्य भएका छन् । आज ह्यापी फादर्स डे भन्दै बुवाका बत्तिस मुजा परेका गालामा चुम्बन गर्नेहरुले भोलिका दिन तिनै बुवालाई बिरानो शहरका देवालय, शिवालय, मठमन्दिर, पाटीपौवा, सडक पेटी र वृद्धाश्रममा पुरयाएर छाडेको कतै पनि देख्न सुन्न नपरोस् । आज फदर्स डे भन्दै बुवाका गालामा चुम्बन गर्नेहरुलाई भोली त्यही बुढो बुवाको श्वास नगनाओस् ।
ममतामयी आमालाई यस पृथ्वीको संज्ञा दिइन्छ भने बुवालाई गगनको संज्ञा दिइन्छ । यस संसारमा बुवालाई साक्षात् भगवानको उपमा दिइने गरिन्छ । हाम्रो लागि पनि बुवा साक्षात् भगवान्, अनि हामी उहाँको भक्त । बस् हामी उहाँको अनुसरण गर्दै बाँचौं अनन्तकालसम्म ।
बुवा-आमाको स्वार्थ भनेकै आफ्नो सन्तानको खुसी हेर्नुमै हुन्छ तैपनि हामी आफ्नै खुसीको कामना गर्दै बस्ने अविभावकलाई आफ्नो खुसीमा सामेलसम्म गर्न सक्दैनौँ
कुनै पनि छोराले आफ्नो बाबुलाई मुख्य रुपमा हेरेर वा अनुशरण गरेर नै मानिस बन्न सिक्छ । आफ्नो छोराको व्यक्तिगत विकासमा बुबाको प्रभाव प्रायः अदृश्य हुन्छ, तर वास्तविक हुन्छ । घरमा सँगै रहेका बा–आमालाई एउटा मिठाई नदिने , हाँसीखुसी नबोल्ने अनि मन्दिरमा गएर लड्डु चढाउनु पर्ने । बुहारीले सासु–ससुरा नमान्ने, बाचुञ्जेल राम्रो मुखले मिठो मसिनो खाना नदिने ! मुस्कानसहितको बोलीचाली नगर्ने ! नाति ! बा–आमाको इज्जत नगर्ने ! बा–आमालाई अपहेलना गर्ने ! यो हाम्रो समाजको बा–आमा प्रतिको दृष्टिकोण बनिरहँदा, समाजमा आफू अब्बल बनिरहँदा छोराछोरी, बुहारीले गर्ने व्यवहार यस्तै हो त एकपटक सबैले सोचौं ।
विश्व कीर्तिमानी गीतकार डा. डि.आर उपाध्यायको एउटा गीतको याद आयो “सन्तानको शीर उठाउन हजार ठाउँमा शीर झुकाउने बाबालाई विर्सेर ,
कतिमाथी पुग्छौ सन्तान बाबाको शीर कुल्चिएर
जिन्दगीको सारा रहर सन्तानको खुसी बाँड्ने
उनको आत्मा हाँसे मात्रै आफ्नो जुनी पुरा ठान्ने
देवता जस्तो बाबालाई ढुङ्गा जस्तो मिल्काएर
कति माथी पुग्छौ सन्तान उनको आँखा छल्काएर …
बुढेसकालका बाबालाई बृद्धाआश्रममा लगेर छोड्ने सन्तानको व्यवहारलाई यो गीतले चोटिलो प्रहार गरेको छ, । आफ्नो सन्तानको शीर उठाउन जुनसुकै परिवेश र परिस्थितिमा हजार ठाउँमा शीर झुकाउन पनि तयार हुन्छन् बुवा ।
बा–आमाको अथक मेहनत, भोकभोकै बसेर सन्तानलाई खुवाएको यथार्थता र सन्तालाई राम्रो शिक्षादिक्षाको लागि गरेको परिश्रमको परिणाम यस्तै हो त ! वृद्घ बा–आमालाई एउटा छोराले डोकोमा हालेर भिरबाट खसाल्न जान लाग्दा नातिले बुवा त्यो डोको चाहिँ नखसाल्नु है त्यो मलाई पनि चाहिन्छ लिएर आउनु भनेका दन्ते कथाहरु कथा नभएर साच्चै सत्य घटना नै हो कि भन्ने भान हुन सक्छ हाम्रो आजको समाज हेर्दा । जीवनमा सन्तान अर्कौ बनाउन सकिएला ! श्रीमती अर्कै ल्याउन सकिएला ! तर, जन्म दिने बा–आमा अकै बनाउन सकिँदैन सासु–ससुरा अर्कै बनाउन सकिँदैन । जिउँदा देउता भनेका बा–आमा हुन्, जिउँदो हुँदा नै सेवा र सम्मान गरौं मृत्युपरन्त अफसोच गरेर केही हुँदैन ।
आमा, बुवाले आफ्ना सन्तान प्रति सपना देखेका हुन्छन्, सन्तान ठुला होलान्, उन्नति, प्रगति गर्लान्, अनि बुढेसकालका सहारा पनि होलान् भन्ने सपना अनि कल्पना हुने गर्छ आमा बुवाको । आफ्ना सन्तानबाट आफू अशक्त हुँदा साथ खोज्नुलाई स्वार्थ भन्न हुदैन, मिल्दैन तर अहिलेका आधुनिक युगमा बुवालाई भगवान होइन बोझका रुपमा लिने कुसन्तान धेरै छन् । जिवित हुँदा बृद्ध बुवालाई बोझ मान्ने ।
सानैबाट सन्तानले बुबा आमालाई प्रयोग गर्दै आयौ, कहिल्यै भीडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आफ्नै साथ लाग्यौ, उहाँको हात कहिल्यै छोड्नै खोजेनौ मात्र आफ्नो स्वार्थको लागि । जब उहाहरुलाइ हाम्रो साथको आवश्यकता रह्यो , हामी कहिले पढाईको बहानाले, कहिले आफ्नो इच्छाको बहानाले, कहिले स्वतन्त्रताको बहानाले आफूबाट निकै टाढा गर्न खोज्यौँ । त्यो बुवाआमा नै हो आफ्नो सन्तानको लागि आफुसँग भएको अन्तिम चिज पनि बेचिदिने । आमाको तित ढिके फुलि, बुवाको लालपुर्जा बेचेर हामीले आफ्नो सपना पुरा गर्यौ तर बुबाआमाको अन्तिम श्वाशमा पनि हामी उहाहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाकै ज्यूनी खोज्न पनि पछि पर्दैनौ । अब हामी सबैले आँफै विचार गरौ न त के हामीहरुले उहाहरुलाई उहाहरुले जत्तिकै निश्चल माया गरेका रहेछौ त ?
म अझै पनि दोधार मै छु हाम्रो लागि दुःख गर्दा गर्दै गलेको त्यहि शरीर माथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए, भने हामी उहाहरुसँगै बसेर उहाले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौ होला? आफ्नो सन्तान भन्दा भन्दै परिवारलाई संस्कारी मूर्तीमा राख्दा–राख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काधको भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौ होला ? बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाकै अस्तित्वको सम्मान गर्दै उहालाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला ?
हामी मनुष्य आज जहाँ छौं, जहाँ हाम्रो अस्तित्व रहेको छ, जहाँ हामी हुनुको अनुभूति रहन्छ, ती हरेक स्थानहरुमा प्रेरणादायी बुवा हुनुहुन्छ । त्यसैले त हाम्रो लागि हाम्रो अस्तित्व नै हाम्रा बुवा भन्दा फरक नपर्ला । आज हामीले ग्रहण गरेको मान, सम्मान, पद, प्रतिष्ठा, इज्जत अनि सम्पूर्ण जीन्दगी नै बुवामै गाँसिएको हुन्छ । हरेक विहानीको उदाउँदो चम्किलो घामको उषा किरणझैं चम्किएको बुवाको अनुहार नै हाम्रो लागि हरेक दिनको शुभारम्भ हो ।
आफ्नो सन्तानको सुख अनि खुसीको लागि रात दिन मेहनत गर्ने ती दिक्कालजयी हातहरु अनि सन्तानको मायाले भौंतारिएको मन मस्तिष्क सम्झेर गर्व लाग्छ बुवाप्रति । आफ्नो सन्तानको खुसीको लागि बुबाले हरेक समस्याहरुसँग जुध्छन् तर कहिल्यै पनि गलत सम्झौता गर्दैनन् । बुवासँग भिन्न प्रकारको साहस हुन्छ जो निष्ठापूर्ण हुन्छ । सन्तानको खुसीको लागि बुवाले अनन्त मृगतृष्णा पनि भुलिदिन्छन् । बुवा आफ्ना सन्तानको सपना साकार पार्न अनवरत रुपमा लागि पर्छन् । बुवा आफ्ना सन्तानको खुसीको निमित्त दिन रात नभनी असल सन्तान बनाउने उद्देश्मा खटिरहन्छिन् । हरेक पल आशाको किरणलाई अँगाल्ने ती ओठहरु, अनि कहिल्यै नथाक्ने ती पाइलाहरुप्रति हाम्रो शिर सँधै झुकिनै रहोस् ।सयौं ठाउँमा चाहुरीएको बुबाको अनुहारमा मोतीझैं टल्किएका ती दाँतका पंतिहरु, त्यही बत्तिस मुझा परेर चाहुरीएको बुवाको मुहारमा खुसी ल्याउने हाम्रो संकल्प, त्यही संकल्प पूरा गर्ने हाम्रो अठौट अनवरत रुपमा अगाडि बढिरहोस् ।
हामी हाम्रा बुबा आमाहरुका भौतिक भावनात्मक जैविक अनि सपनाका अंश हौं । हामीमा बगेको रगत, अडेको संस्कार, बुनेका सपनाहरु हाम्रा बुबा आमाबाट धेरै नजिक हुन्छन् । ती सपना र सम्भावनाहरुका प्रदायक, जीवन सृष्टिका चराचर जगतका सम्पूर्ण आदर्श बुबाहरुमा नमन । तपाईहरुको सुस्वास्थ्य, दीर्घजीवन, स्नेही र स्निग्ध अनुहार सधैं हामीलाई शक्ति बनिरहोस् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार