पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमहरुलाई हेर्दा “ जुन जोगी आए पनि कानै चिरेको “ भन्ने उखान पुराना दलका नेताहरु र उदाउँदै गरेका नयाँ दलका नेताहरुलाई खुबै सुहाउने देखिन्छ। चुनावको बेलामा जनताहरुलाई विभिन्न किसिमका आश्वासन र घोषणापत्र मार्फत विकाश र परिवर्तनका सपनाहरु देखाएतापनि कार्यन्वयनमा भने अधिकांश नेताहरुबाट शुन्यता जस्तै देखिन्छ।नेपालको इतिहासको कालखण्डहरुलाई हेर्ने हो भने पनि विभिन्न किसिमका जनआन्दोलनहरु हुदैँ राणाशासनकाल देखि राजतन्त्रको अन्त्य भई देशमा गणतन्त्र प्राप्ति भएको देखिन्छ जसमा हजारौँ नेपाली आमाका सन्तानहरुको बलिदान र वीरगति प्राप्ति गरे पनि ।यसरी नेपालमा जुनसुकै व्यवस्था आएपनि, जुनसुकै राजनीति दल र नेताहरु आएपनि नेपाली जनताहरुको लागि भने “ जुन जोगी आए पनि कानै चिरेको” भन्ने उखानले मेल खाएको देखिन्छ।

नेपाली जनताहरुले देश विकाश र नागरिकहरुको जीवनस्तरमा परिवर्तन होस भन्ने हेतुले राजनीति दलका नयाँ पार्टीहरुलाई विश्वास गरेर जिताउने गरेको पनि देखिन्छ जसको ज्वलन्त उदाहरण १० वर्षे जनयुद्ध पश्चात प्राप्ति गणतन्त्र सङ्गै २०६४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई पहिलो बनाउन सफल भएका थिए तर सत्तामा पुगेपछि उहीँ पुराना दलहरु जस्तै देखिए।यसपाली २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा पनि नयाँ दलको रुपमा वर्तमान गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरे साथै जनताहरुले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिनिधि सभामा २० सिट जिताउन सफल भए । नयाँ दलहरु जितेर गएपछि जनताका आश्यकता र समस्याहरुलाई नयाँ ढङ्ग र तरिकाबाट अघि बढाएर समाधान गर्लान भन्ने ठुलो अपेक्षा हुन्छ जनताहरुमा । यतिबेला अत्याधिक वर्षाको कारण देश डुबान र बाढीपहिरोको पीडामा रोइरहेको छ तर गृहमन्त्री भने आफ्नै पार्टी भित्रको जुँगाको लडाइमा रनभुल्ल परेका छन। त्यसैले नेपालमा जुनसुकै पार्टी र युवा नेताहरु आएतापनि “जुन जोगी आए पनि कानै चिरेको “भन्ने उखान जस्तै भएको छ।

संसद भवनमा जनताका समस्याका बारेमा बोल्न गएका नेताहरु कलाकारका गीत सम्म सुनाउन भ्याउछन केहि दिन अघि मात्र संसद भवनमा दुई नेताबाट सुनिएका गीत यस्ता थिए ।
पहिलो !अन्जु पन्तको स्वरमा रहेको गीत “तिमीले पराई ठानेपछि पराई हुन के भयो र !तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र” !

प्रतिउत्तरमा कुन्ती मोक्तानको स्वरमा रहेको गीत “कति जल्छौ आरिषले अझै जल्दै गर म त हिड्दै गर्छु आफ्नो बाटो खुट्टा तान्दै गर”!
साच्चिकै भन्नुपर्दा हाम्रा नेताहरुले एक अर्कालाई दोषारोपण गर्दा गर्दै नै आफ्नो कार्यकाल बिताउने गर्छन अनि फेरि संसदमा पुग्नको लागि उहीँ पुराना सपना र आश्वासन लिएर आउने गर्दछन त्यसैले पनि आगामी दिनहरुमा जनता नै सचेत भई पार्टी भन्दा पनि योग्य ब्यक्तिलाई जिताउन आवश्यक देखिन्छ।

राजनीतिको माध्यमबाट सहि विचार र स्पष्ट भिजन लिएर सहि समयमा सहि ठाउँमा पाइला टेकेर अघि बढ्न सक्ने हो भने राजनीति एउटा सुनौलो अवसर पनि हो। राजनीतिलाई एउटा अवसर सोचि जनताहरुका समस्या र आवश्यकताहरुलाई मध्यनजर गर्दै राजनीति दलका नेताहरु मिलेर अघि बढ्न जरुरी छ , देशमा पटक-पटकको सरकार परिवर्तनले जनतालाई निराशा मात्र दिएको छ , देशमा अस्थिरता बढाएको छ साथै आम नेपाली युवालाई विदेशिन बाध्य बनाएको छ त्यसैले पनि यि समस्याहरुलाई बुझेर नेताहरु एक आपसमा मिलेर अघि बढी देशलाई राजनीतिको निकाश दिन जरुरी रहेको छ।

मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार