हालै सम्पन्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठलाई थप गरिमामय बनायो। यस्ता उच्चस्तरीय भ्रमणहरू केवल औपचारिक भेटघाटमा सीमित नभई, दुई देशबीचको दीर्घकालीन कूटनीतिक विश्वास, सहकार्य र भविष्यका सम्भावनाका ढोका खोल्ने महत्त्वपूर्ण अवसर हुन्। तथापि, यस भ्रमणपश्चात् जापानवासी नेपाली समुदायका केही व्यक्तिहरुले  सामाजिक सञ्जालमा व्यक्त गरेका असन्तुष्टि र आरोप–प्रत्यारोपले विषयवस्तुको गाम्भीर्यतालाई ओझेलमा पारेको देखिन्छ। त्यसो त यो प्रवृत्ति यय पटक मात्रै होईन विगतदेखिनै कायम रहँदै आएको छ।

सर्वप्रथम, यो स्पष्ट हुनुपर्छ कि दूतावासको कार्यसम्पादन आफ्नै सीमितताभित्र रहेर हुन्छ। समय, स्थान, सुरक्षा प्रोटोकल र आयोजक पक्षका नियमहरूले उच्चपदस्थ व्यक्तित्वसँग सम्बन्धित कार्यक्रममा सहभागीको संख्या स्वाभाविक रूपमा सीमित गर्छ। यसर्थ, विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई एउटै कार्यक्रममा समेट्नु न व्यवहारिक हुन्छ, न कूटनीतिक रूपमा सम्भव। यो यथार्थलाई जापानवासी नेपाली समुदायले आत्मसात् गर्नु अपरिहार्य छ।

तर, यहाँ निमन्त्रणाको मापदण्डमाथि गम्भीर प्रश्न उठ्छ। दूतावासले कसलाई आमन्त्रण गर्ने भन्ने निर्णय कार्यक्रमको उद्देश्य र सान्दर्भिकताका आधारमा हुनुपर्छ। समाचार लेखन क्षमता र लेखन अभ्यासनै नभएका व्यक्तिहरूलाई केवल राजनीतिक वा भौगोलिक निकटताका आधारमा निमन्त्रणा गरिनु,स्पष्ट व्यावसायिक योजना र क्षमता नभएकाहरूलाई व्यवसायीका रूपमा प्रस्तुत गरिनु, वा समाजमा कुनै ठोस पहिचान र योगदान नभएकाहरूलाई सामाजिक व्यक्तित्वको ट्याग लगाइनुजस्ता अभ्यासहरूले संस्थागत विश्वासलाई कमजोर बनाउँछ। यस्तो प्रवृत्तिले न कार्यक्रमको गरिमा बढाउँछ, न समुदायको सम्मान।

समुदायभित्रको असन्तुष्टि केवल ‘बोलाइएन’ भन्ने भावनात्मक प्रतिक्रियाबाट मात्र नभई, न्यायोचित प्रतिनिधित्वको अभावबाट उत्पन्न भएको देखिन्छ। दूतावासले यस्ता आलोचनाहरूलाई शत्रुताका रूपमा नभई, सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्छ। यसैगरी, समुदायले पनि सामाजिक सञ्जालमा गरिने भावनात्मक टिप्पणीभन्दा संरचनात्मक र रचनात्मक सुझावहरू प्रस्तुत गर्ने परिपक्व संस्कारको विकास गर्नुपर्छ।

हाम्रो दृष्टिकोणमा, सम्माननीय राष्ट्रपतिको जापान भ्रमण नेपालको कूटनीतिक उपलब्धि हो। यसलाई व्यक्तिगत निकटता वा निमन्त्रणाको संकीर्ण चश्माबाट नहेरी, राष्ट्रिय हित र दीर्घकालीन सम्बन्धको बृहत् आँखाबाट हेर्नु आवश्यक छ। दूतावासले कार्यक्रमको उद्देश्यअनुरूप योग्य प्रतिनिधि चयन गर्ने अभ्यासलाई सुदृढ बनाओस्, र जापानवासी नेपाली समुदायले दूतावासको सीमिततालाई बुझ्दै, जिम्मेवार र परिपक्व बहसको संस्कारलाई अघि बढाओस्- यही नै आजको आवश्यकता र अपेक्षा हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार