आजसँगै जापानको भाषा विद्यालय (निहोङ्गो गाक्को) मा बितेको हाम्रो दुई वर्षको यात्रा औपचारिक रूपमा समाप्त भएको छ। समय कति छिटो बित्दो रहेछ भन्ने कुरा आज झन् गहिरो रूपमा महसुस भइरहेको छ।

नेपालका पूर्वदेखि पश्चिमसम्मका फरक–फरक ठाउँबाट आएका हामी साथीहरू जापानको यो अपरिचित भूमिमा भेटियौँ। सुरुमा हामी एकअर्काका लागि अपरिचित थियौँ, तर समयसँगै हामी सहपाठी मात्र रहेनौँ—परदेशको जीवनमा एकअर्काको सहारा बन्ने साथी बन्यौँ।

नयाँ भाषा, नयाँ संस्कृति, नयाँ वातावरण- सबै कुरा हाम्रो लागि नयाँ थियो। सुरुका दिनहरू सजिला थिएनन् र साँचो भन्नुपर्दा आज पनि सजिला छैनन्। दिनमा भाषा विद्यालयको पढाइ, राति काम, थकानले भरिएको शरीर, अनि कहिलेकाहीँ घरपरिवारको सम्झनाले भरिएको मन- यिनै बीचबाट हामीले दुई वर्षको यात्रा पार गर्‍यौँ।

कहिलेकाहीँ लाग्थ्यो, हामी पढाइभन्दा बढी जीवनसँग संघर्ष गरिरहेका छौँ। तर ती कठिन क्षणहरूमा पनि हामी एक्ला थिएनौँ। साथीहरूको साथ, सानो–सानो हाँसो, सल्लाह र हौसलाले परदेशको जीवन अलि सहज बनाइदियो।

हामीलाई धैर्यपूर्वक भाषा सिकाउने, मार्गदर्शन गर्ने सम्पूर्ण आदरणीय शिक्षक–शिक्षिकाप्रति हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छु। उनीहरूको धैर्य, मिहिनेत र मार्गदर्शन बिना यो यात्रा सम्भव हुने थिएन। साथै सुख–दुःखका प्रत्येक क्षणमा साथ दिने मेरा सबै प्रिय साथीहरूलाई पनि धेरै धेरै धन्यवाद।तर आजको यो बिदाइले मनभित्र एउटा खालीपन पनि छोडेर गइरहेको छ। दुई वर्ष सँगै पढेका साथीहरू अब आ–आफ्नो बाटोमा छुट्टिँदैछन्। कोही कामको नयाँ अध्याय सुरु गर्न जानेछन्, कोही अझै पढाइलाई निरन्तरता दिनेछन्।दुई वर्ष सँगै बिताएका साथीहरू एकैचोटि टाढिँदा परदेशको जीवन फेरि एकपटक एक्लो जस्तो लागिरहेको छ।

मैले सोचे जस्तो प्रगति गर्न सकेँ त?
साँचो भन्नुपर्दा, यी दुई वर्षले धेरै कुरा सिकाए पनि मनभित्र एउटा प्रश्न भने अझै बाँकी छ—के मैले सोचे जस्तो प्रगति गर्न सकेँ त? समय बित्यो, संघर्ष गरियो, धेरै अनुभवहरू बटुलिए। तर जीवनको लक्ष्य अझै टाढा जस्तो लाग्छ। अब फेरि काम र पढाइको खोजीमा अर्को ठाउँतर्फ जानुपर्ने अवस्था आएको छ। आजको यो मोडमा उभिँदा दुई वर्ष अघिको पहिलो दिन फेरि सम्झना आउँछ-नयाँ ठाउँ, नयाँ मानिस, नयाँ चुनौती। आज पनि जीवनको अर्को मोडमा उभिँदा लगभग त्यस्तै अनुभूति भइरहेको छ।

सायद जीवनको यात्रा नै यस्तै हुँदो रहेछ। कहिलेकाहीँ हामीले सोचेको गति अनुसार प्रगति हुँदैन। तर यात्राले मानिसलाई परिपक्व बनाउँछ। संघर्षले धैर्य सिकाउँछ, असफलताले आत्मबल बढाउँछ र अनुभवले जीवनलाई बुझ्ने दृष्टि दिन्छ।

आज बिदाइको यो क्षणमा एउटा कुरा भने निश्चित छ-जापानमा सँगै बिताएका यी दिनहरू हाम्रो जीवनका सबैभन्दा सुन्दर र अमूल्य सम्झनाहरू भएर सधैँ रहिरहनेछन्।हाम्रो मित्रता समयसँगै झन् बलियो बनोस्। जहाँ भए पनि हामीले सँगै बिताएका ती हाँसो, संघर्ष र सपनाहरू कहिल्यै हराएर नजाऊन्।

मेरा सम्पूर्ण आदरणीय शिक्षकहरू र प्रिय साथीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना। जहाँ भए पनि सफल रहनुहोस्, सधैँ खुसी रहनुहोस्।परदेशमा बितेका यी दुई वर्षले जीवनको बाटो सजिलो बनाएको छैन, तर संघर्षलाई बुझ्ने आँखा भने अवश्य दिएको छ।

(भुवन केसी गंगादेब गाउँपालिका ६ रोल्पा,हाल जापान)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार