टोकियो। जापानको राजधानी टोकियोस्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य ओदाइबामा आगामी जुलाई १८, १९ र २० गते १५औँ नेपाल फेस्टिभल आयोजना हुने भएको छ।

नेपाल राजदूतावास जापान, गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिभल यसअघिका संस्करणभन्दा फरक र ऐतिहासिक बन्ने आयोजकले दाबी गरेका छन्।

जापानको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने ओदाइबामा हुने फेस्टिभलमार्फत जापानी नागरिक, विदेशी पर्यटक र जापानमा रहेका नेपाली समुदायले नेपाली कला, संस्कृति, मौलिक स्वाद, संगीत र पहिचानलाई प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।

विगतमा दुई दिनसम्म सञ्चालन हुँदै आएको नेपाल फेस्टिभल यस वर्ष पहिलो पटक लगातार तीन दिन सञ्चालन हुनेछ। १५औँ संस्करणमा पुगेको फेस्टिभलले जापानमा नेपाली समुदायको एकता, निरन्तरता र पहिचानलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।

यस वर्ष पहिलो पटक पाँच नेपाली ब्रान्डले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्ने तयारी गरेका छन्। यसले नेपाली उत्पादन, उद्यमशीलता र व्यवसायलाई जापानी तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने अवसर सिर्जना गर्ने आयोजकको भनाइ छ।

फेस्टिभलमा लोकप्रिय गायक अर्जुन सापकोटा र चर्चित लोकदोहोरी गायिका शान्ता रानी परियारको खुला सांगीतिक प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथै मोमो, सेलरोटी लगायत नेपाली खानाका विविध स्वाद, जातीय झाँकी, बाजागाजा, गुरुङ, मगर लगायत विभिन्न समुदायका मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुतिले फेस्टिभललाई नेपालीपनले रंगाउने तयारी गरिएको छ।

आयोजकका अनुसार फेस्टिभलमा जापानी कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता पनि रहनेछ। यसले नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

फेस्टिभललाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई नेपाल–जापान व्यापार, पर्यटन र लगानीको सेतुका रूपमा पनि अघि सारिएको छ। नेपाली तथा जापानी व्यवसायीबीच व्यापार, पर्यटन, लगानी र नेटवर्क विस्तारका सम्भावनाबारे छलफल तथा सम्पर्क विस्तार गर्ने अवसरसमेत रहने बताइएको छ।

जापानमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा जापानी बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र खेलसँग परिचित गराउने विशेष गतिविधि पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

नेपाल राजदूतावास जापान, एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनाले कार्यक्रमलाई अझ समावेशी र प्रतिनिधिमूलक बनाएको आयोजकको भनाइ छ। जापानी कम्पनीहरू तथा स्थानीय निकायको सहकार्य र सहभागिताले फेस्टिभललाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेस्टिभलबाट संकलित रकम चिबामा निर्माणाधीन नेपाल हाउस परियोजनामा सहयोग गरिनेछ। करिब २ करोड जापानी येन लागत अनुमान गरिएको नेपाल हाउसमा पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका प्रतिरूप निर्माण गर्ने योजना छ। यसमार्फत नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जापानमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

ओदाइबामा पुग्ने हजारौँ विदेशी पर्यटकमाझ नेपालका हिमाल, लुम्बिनी, पशुपतिनाथ, साहसिक पर्यटन, संस्कृति र नेपाली आतिथ्यलाई चिनाउने महत्वपूर्ण अवसर यस फेस्टिभलले प्रदान गर्ने आयोजकको विश्वास छ।

नेपाल फेस्टिभल कुनै एक संस्थाको कार्यक्रम मात्र नभई नेपाललाई विश्वसामु चिनाउने साझा अभियान भएको आयोजकको भनाइ छ। कला, संस्कृति, पर्यटन, व्यापार, लगानी र नेपाली पहिचानलाई एउटै मञ्चबाट प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको १५औँ संस्करणलाई हालसम्मकै भव्य र ऐतिहासिक बनाउन तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार