ओ प्रिय !

ओ प्रिय,
‘म तिमी बिना बाँच्न सक्तिनँ’ !
भ्रमलाई भत्काउँदै,
म तिमी बिना बाँच्न सक्छु भन्ने प्रण गर ।
म पनि त्यसै गर्छु ।
हिजो तिमी पनि म बिना बाँचेकै थियौ,
म पनि उसै गरी बाँचेकै थिएँ
र
भोलि पनि बाँच्नै पर्छ ।
यसो भन्दै गर्दा,
माया मरेको वा मारेको नसम्झ,
बरू, आत्मविश्वास बढाएको सम्झ ।
तिमी पहिला आफू भएर बाँच,
मलाई आफै भएर बाँच्न देऊ !
अनि
कुनै बेला,
तिमी आफैलाई भुल
मैले पनि आफूलाई भुलेर,
तिमीलाई मात्र सम्झिएको बेला
हाम्रो मन र माया पनि
जोडिन भुलेर,
घोलिन पुगेछ भने
सम्झ हामी सधैं अमर हुनेछौँ ।
जोडिएको माया छुट्टिन सक्छ,
टुट्न सक्छ
फुट्न सक्छ
कसैले टुटाउन सक्छन्
फुटाउन सक्छन्
तर घोलिएको माया छुटाउनका निम्ति
कसैले
आगै बाल्न आँटेछ भने नि
तिमी उडेर आकाशमा सयर गरौली
म भाँडोमा रङ्ग फेरेर थिग्रिने छु ।
अनि
मलाई फोहोर सम्झिएर फाल्नेछन्
ठीक त्यही बेला वर्षात् बनेर पखाल्नु
यसै गरी
हाम्रो यात्रा अनन्त हुनेछ ।
समय फेरिएला
परिस्थिति फेरिएला
रूप फेरिएला
रङ्ग फेरिएला
तर हामी बिच
अन्तर्घुलित माया
जीवन्त हुनेछ ।
➣राजेन्द्र पौडेल, जापान
२०२०/१/३०(बिहीबार)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार