{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1602548814060","source":"other","origin":"gallery","sources":["329477234051211"]}

मैले मेरो जापान बसाइँमा यहाँ बाट गम्भीर किसिमले अध्ययन अनुसन्धान गरेर धेरै मान्छेलाई उपयोगी हुने सामग्री तयार गर्न त सकेको छैन तर आफ्नो नियमित कामबाट बँचेको समयमा आफैले देखेका भोगेका सानातिना अनुभवहरु कहिलेकाहिँ सेयर गर्ने गरेको छु । मैले लेखनलाई पेशा त बनाएको छैन । तर आत्मसन्तुस्टिको विषय चाहिँ बनाएको छु । आज फेरि मैले विभिन्न सन्दर्भमा विभिन्न मान्छेसँग भएका भेटघाट,कुराकानीलाई आधार बनाएर मान्छेको जीवनशैलीप्रतिका मेरा धारणा प्रस्तुत गर्ने प्रयास गरेको छु । मेरो ध्यान ठूला ठूला विषयले भन्दा साना साना कुराले बढी तान्छ । मैले स्कुल र विश्वविद्यालयमा मरिमेटी पढ्ने विद्यार्थीमा भन्दा गाउँतिर घाँस दाउरा गर्दा गोजिमा चिर्कटो बनाएर हिड्ने विद्यार्थीमा शक्ति देख्छु । अनि ट्युसन र कोचिंग सेन्टर धाएर पढैया बन्ने हरू भन्दा गाउँतिर गाइबाख्रा चराउँदै बालुवा र धुलोमा आकृति बनाएर पढ्दै गरेका अनि टोकियो सहरका भीडयुक्त ट्रेन र बसहरूमा अटेस मटेस हुँदै पढ्दै गरेका र औँलाको इसाराले खान्जी अभ्यास गर्दै गरेका विद्यार्थीमा धेरै ठूलो दम देख्छु । मैले बुझेको शिक्षाको अर्थ पनि घोकेर कन्ठ गरेर परीक्षामा धेरै नम्बर ल्याउनु वा अरुलाई पछाडि पारेर आफु अगाडि बढ्नुसँग कुनै सम्बन्ध राख्दैन । बरु स्वअध्ययनशील,आत्मनिर्भर ,आत्मनिर्णय गर्न सक्ने,अरुको दुखलाई मनन गर्न सक्ने , कुनै पनि विषयप्रति जिज्ञासु बनाउँदै तर्कपूर्ण र सकारात्मक सोंचको विकास गर्ने बनाउनु हो । तर के हाम्रो शिक्षाले आम मान्छेमा  साँच्चिकै यस्ता प्रवृतिको विकास गर्न सकेको छ त ? आज यस्तै यस्तै विषयमा मनमा उठेका तर्कनाहरू प्रस्तुत गर्दै छु ।एक दिनको कुरा हो । म काम सकेर साँझपख सिन्जुकु सहरको एक आँखा हस्पिटलमा आँखा जाँच गर्न पालो कुर्दै थिएँ । दुइजना भाइहरू छेउँमा बसेर कुरा गर्न थाले । उनीहरूको कुरा सुन्दा जापान आएको भर्खर दुइ महिना भएको बुझ्न सकिन्थ्यो । मैले उनीहरू अलि फुर्सदिलो भएको मौकामा ‘भाइहरू नमस्कार,के छ खबर ?’ सोधेँ । दुबै जनाले ‘ठिकै छ दाइ ‘ भन्दै एक जनाले ‘तपाइँ स्टुडेन्ट हो ?’ सोधे । मैले ‘म स्टुडेन्ट कै रुपमा जापन आएको हुँ तर अहिले कम्पनिमा काम गर्छु ।’ भनेँ । ‘ए ! भिसा पनि वर्किंग बनाइसक्नु भएको हो ?’ प्रति प्रश्न आयो । मैले जुन सोंचका साथ उनीहरू सँग कुराको थालनी गरेको थिएँ,त्यसले पुल्टुंग खायो । मैले छोँटोमा हो , भनेँ । अनि पुन: प्रश्न आयो ‘वर्किंग भिसा भए पछि त दुई ठाउँमा काम गर्न पाइँदैन रे नि त दाइ ?’ मैले हो पाइँदैन, भनेर उनीहरू सँगको कुरा त टुंग्याएँ तर मैले आफ्नै मनसँग कुरा टुंग्याउन सकिन । नेपालको मध्यम बर्गीय परिवारबाट आठ दशलाख ऋणधन गरी विश्वकै एक विकसित,बिजी र महंगो सहर टोकियोमा भविष्य खोज्दै अध्ययन भिसामा यहाँ आएका २०/२१ बर्षका यी युवाहरूको चिन्तनले कस्तो व्यक्तित्व विकास गर्ला ?,कस्तो भविष्य निर्माण गर्ला ? र कस्तो सामाजिक योगदान दिन सक्ला ? आदि प्रश्नको उत्तर खोज्ने जिम्मा ती युवाको मात्र नभएर प्रत्येक अविभावक,हाम्रो राज्य,शिक्षा नीति,समाज,उनीहरूलाई काउन्सेलिंग गर्ने इन्स्टिट्यूट र अनुभवी अग्रजहरूको हो कि होइन ? यस्ता कुरा निकै सामान्य जस्तो लाग्न सक्छ तर यो अत्यन्त गम्भीर विषय हो ।
एकातिर यस्तै मौकामा ताइ न तुइको चुरीफुरी देखाएर आत्मप्रसंशामा रमाउने अग्रजहरूले वातावरण धमिल्याएको पनि पाइन्छ । तर त्यस्ता व्यक्तिहरू सँग सचेत हुँदै वैदेशिक उच्च शिक्षामा अध्ययनरत यस्ता होनहार युवाहरूले कुन ठाउँमा कसरी कस्तो विषयको उठान गरेर सम्बन्ध विस्तार गर्न सकिन्छ, सही सुचना र अनुभवहरु सुनेर वा बुझेर आफ्नो अध्ययन वा काममा कसरी लाभ लिन सकिन्छ भन्ने कुरामा केन्द्रित हुन आवश्यक देखिन्छ ।
कहिलेकाहिँ स्कुल या विश्वविद्यालय सँगै पढेका र अहिले शिक्षण पेशामा आवद्ध साथीहरूको म्यासेन्जरमा कल आउँछ । फुर्सदको समय भए रिसिभ गर्छु । ‘हेलो के छ खबर ? यार हाम्लाई नि तान्न परो के जापान तिर ? अनि उत्तर दिन्छु ।’ हैन साँच्चै आउनै खोज्नु भएको हो भने के को महाभारत भो र, जापान आउनलाई ?’ बरू के छ गाउँघरतिर सपरिवार आरामै हुनुहुन्छ ? सोध्छु । ‘हाम्रो त बिजोग छ नि यार । खै पैसा कमाउन सकिएन । हैन घडेरी कता कता किन्नु भो ? महिनामा कति कमाउनु हुन्छ ? जापानमा त निकै कमाइ हुन्छ रे । अनि ठिकै छ हजुर बाँचिएकै छ । भनेर  हतारहतारमा कुरा टुंग्याउन खोज्छु । पृष्ठभूमिबाट विद्यार्थीको होहल्ला सुनिन्छ । अनि अहिले स्कुलमै हुनुहुन्छ र ? यताबाट सोध्छु । ‘हो नि म त अफिसबाटै बोलेको ।’ यो सुने पछि फेरि हाम्रो चिन्तन र कार्यशैली प्रति अनेकन प्रश्न जन्मिन थाल्छन् । के हामीले साँच्चिकै आत्मविश्वासयुक्त आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्छौँ त ? यहाँको भाषासंस्कृति,साहित्य,शिक्षा,विज्ञान प्रविधि,जीवनशैली,कार्यपद्धति आदि बिषयमा चासो राख्ने र कुरा गर्न खोज्ने साथीहरू त औँलामा गन्न सकिने मात्र छन् ।
कहिले काहिँ नेपालबाट चिनजानका भाइ बहिनीहरूको फोन आउँछ । ‘अंकल/दाइ, म पनि जापान आउने तयारी गर्दैछु, कस्तो होला ?’ मैले राम्रै हुन्छ, भन्छु । अनि ‘अहिले के गर्दै छौ ?’ यताबाट सोध्छु । ‘ब्याचलर्स थर्ड इयर पढ्दै छु’ उत्तर आउँछ । मैले तयारी त गर्दै गर तर अहिले एप्लाइ नगर । आउने नै भए ब्याचलर्स सके पछि मात्र आउ । नत्र पैसा र समयको बर्बादी मात्र हुन्छ । अनि थप जिज्ञासा राखेमा आफुले देखे जानेका सुचनाहरू पनि दिन्छु तर बिचैमा पढाइ छोडेर आउने सल्लाह कदापि दिन्न । बिचमा केही महिना कन्ट्याक्ट नै हुँदैन । अनि लामो समय पछि उही व्यक्तिको फोन आउँछ । ‘दाइ, मेरो त जापानको भिसा लाग्यो नि ।’ ए राम्रै भएछ । प्रति प्रश्न आउँछ । ‘दाइ मेरो स्कुल के कस्तो छ ? भन्दिन पर्यो । अनि ‘तिमले केही नबुझी एप्लाइ गरेका हौ र ?’ सोध्छु । अलि अकमकाउँदै केही रेडिमेट उत्तर आउँछ । त्यसपछि फुर्सदमा वेवसाइट हेरी लिंक पठाइदिन्छु । दाइ त्यसमा त के के हो के के लेखेको छ । बुझ्नै गाह्रो । बरु हजुरले नै भन्दिन परो क्या मैले पढ्ने स्कुलको बारेमा । म फेरि छक पर्छु । र मनमनै सोँच्छु । ‘तिमलाई आफै आउने स्कुलको वेबसाइट हेर्न त फुर्सद छैन । टोकियोमा आए पछि के हाल होला ?’ अनि हतार नगरी अलिक बुझेर आउ बा पछि दुख पाउला नि भन्दै मलाई जानकारी भएका सम्बन्धित सुचनाहरू दिने प्रयास गर्छु । कसै कसैले त अझ ‘दाइ हजुर त्यहाँ भए पछि त म ढुक्क छु । एउटा काम त खोज्दिदै गर्नु होला है । म सँगै आउने मेरो साथीको त अलरेडि काम पनि फिक्स भइसक्यो रे । म फेरि तीन छक्क पर्छु र यहाँ म भएर केही हुँदैन बाबु भाषा सिक र आफुलाई अपिल गर्न सिक यहाँ सबै आफ्नो हुन्छ । ठिकै छ नि मैले सहयोग गर्न सक्ने कुनै विषय भए अवश्य गरौँला भन्दै फोन राखिदिन्छु । केही समय पछि फेसबुकमा अवीर र खादा लगाएका झिल्के फोटा अपलोड हुन्छन् । तल पट्टि कमेन्ट बक्समा हार्दिक बधाइ,सफलताको कामना,उज्जवल भविष्यको कामना यस्तै यस्तै थुप्रै कमेन्ट भरिएका हुन्छन् । अनि केही दिन पछि फेरि कल आउँछ ‘दाइ हेर्नुस् न उता बाट ल्याएको पैसा यता र उता गर्दा सकियो । एक मान त फलानो दाइले एयरपोर्टसम्म लिन आउँछु भाइ भने अनि एयरपोर्टबा ट्याक्सी गरेर आउँदा नै सकिएको थियो…,पाँच हजार अर्की दिदीले मोबाइल निकाल्न जाँदा खाइदिइन…,यस्तै यस्तै लामो विवरण धाराप्रवाह रुपमा सुने पछि अन्त्यमा थोरै पैसा सापटी दिन पर्यो । अनि जेपि बैंकको खाता त खोलेँ तर अर्को बैंकले त दिएन । हजुरले खोल्दिन परो ।’ मैले त नेपाल छँदै सचेत हुनु है भनेको थिएँ त भन्दा ‘हेर्नुस् न उहीँबाट इन्स्टिट्यूटकै सरले चिनाइदिनु भएको दाइ भएर विश्वास गरिहालेँ । बर्बादै पारे नि साले हरूले । अनि होस्टेल फि भनेर महिनाको चार मानका दरले ६ महिनाको उतैबाट बुझाएर आइयो यहाँ त एउटा कोठामा ७ जना राखेको छ । अझ अर्को हप्ता पछि एक जना थपिन सक्छ भाइहरू मिलेर बस है रे ।’ न्वाइध्वाइ,ट्वाइलेट बाथरूम सबै गाह्रो छ । यस्तै यस्तै गुनासा कति हो कति । एक दुइ हप्ता पछि बजारमा देखिएका लेटेस्ट आइफोन टल्काउँदै भकाभक फेसबुक स्टाटस अपडेट भएका देखिन्छन् । आइटम गर्न पनि कति आएको हो ? जुरेलाको जस्तो कपाल ठाडो पारेर कतै नो क्याप्सन रे, कतै तस्वीर आफै बोल्छ रे …। यसो कहिलेकाहिँ विद्यार्थी लाई उपयोगी हुने सुचना फेला परे म्यासेज गर्छु । प्रतिक्रिया नै आउँदैन । आइ हाले ढिला गरेर ‘हेर्नु न दाइ लास्टै बिजी भइयो । मेरो त निहोन्गो(जापानिज भाषा)पनि राम्रै भएन । त्यसैले यस पटक सहभागी हुन सकिन’ रे । फेरि च्यास्से चुस्से घुम्न गएका , बियरका गिलास ठोक्काएर खाम्पाइ भन्दै डान्स गरेका लाइभ अपडेट चाहिँ भएकै हुन्छन् । बिहान काममा जाँदा बस,ट्रेनमा यसो मोबाइल खोलेर हेर्यो । म्यासेन्जरमा मध्यरातमा आएका म्यासेज चांग हुन्छ । कतै ‘दाइ स्कुलमा सेन्सेइले अब सेम्मोन जान्छस् कि दाइगाकु ? के विषय पढ्छस् ? भन्दै सोधेर दिमाग खराब गराएको छ । भोलि दश बजे नभनी हुँदैन । लौ न बताइ दिनुस मैले के पढ्दा राम्रो हुन्छ ? अनि यति जटिल प्रश्न सोध्ने तिम्रो क्षमतामा त एक दुइटा पिएचडिका थेसिस नै तयार हुन्छन् कि जस्तो लाग्छ ।
एक दिन आधा रातमा एक जना साथी(विद्यार्थी जीवनमा सँगै पार्टटाइम जब गर्दा चिनजान भएको साथी) को फोन आयो । ‘राजेन्द्र जी के छ खबर ?’ ठिकै छ । धेरै पछि भेट भो नि है,हजुरको सुनाउनुस ? ‘यता पनि ठिकै छ भन्न पर्यो ।’ ए साँच्चि हजुरसँगै काममा लागेका २ जना साथी थिए नि , के छ हो उनीहरूको ? ‘ए काममा लगाउने दलालले ७० मान चड्काइ हाल्यो । लगेर सिसा कम्पनिमा हालिदिएछ । दिनभरि काम रात भरि शरीर चिलाएर सुत्नै नसक्ने रे । काम छाडेर त्यतिकै भौतारिएका छन् ।’ म पनि नेपालबाट ब्याच्लर्स भए पछि वर्किंग भिसा बनाउन मिल्छ रे भन्ने सुनेर सेम्मोन पढ्दा पढ्दै यता ठेस्सिएँ । उता सेम्मोन लाई तिरेको एक वर्षको पैसो, अनि यता दलाललाई तिरेको ६० मान । उठ्नै सकिएको छैन । दलालले घन्टाको हिसाबले पैसा आउँछ । दिनको आठ घन्टा काम हो । मेच्याकुच्या जांग्यो (अतिधेरै ओभरटाइम ) हुन्छ । भन्यो र आएँ । सानो कम्पनि रहेछ । जांग्यो पनि हुँदैन । केमिकल कम्पनि हो । काम त ठिकै छ । ठूलै भड्डु भित्र पसेरै भड्डु माझ्नु पर्छ । तर म यहाँ काम गर्न आएको सात महिना भयो । मैले मेरो सद्दे नाम सुनेको छैन । हामीले त्यता पढेका ती गोजाइमास र सोजाइइमास त कता गए कता ? यहाँ त सबैले ओमाए (अलिक हेपेर सम्बोधन गरिने शब्द,परिवार वा नजिकका सथी भाइ बिचमा तँ तँ र म म गर्दा पनि प्रयोग हुन्छ । ‘ओइ अर्थात् तँ’ ) र बाकायारो (पागल,बौलाहा जस्तै गालिगलौजको शब्द) मात्र भन्छ यार । कहिले काहिँ त जीन्दगी प्रति नै धिक्कार लागेर आउँछ । न पैसो न आत्मसम्मान । महिनामा सत्र अठार मान बुझ्यो । ४ मान कोठाभाडा,एक मान बिजुली पानी,एक मान आइफोन,हप्ता हप्तामा हल्का जाँडपानी नि गर्नै पर्यो । एक दुइ मान त्यतै जान्छ । दैनिक खानपान र हल्काफुल्का सपिंग पनि गर्नै पर्यो । होकेन ट्याक्स च्यान्तो (नियमित) तिरौँ भने त कसम सधै ऋण मै चलिन्छ यार ।’ साथीको एकोहोरोरुपमा दुखको पसारो सुने पछि ल ल नआतिनु यार यस्तै हो । स्वास्थ्यको ख्याल गर्नु भन्दै फोन राखिदिएँ ।
नेपालबाट नै गलत सुचना प्रवाह गरी भ्रमजालमा पारेर धेरै पैसो असुल्न माहिर केही व्यवसायी भनाउँदाको बिगबिगी अनि विदेश भने पछि पैसै फल्छ भन्ने भ्रम पालेर बसेका नेपालीजन आफुले बुझ्नै नखोज्ने अनि बुझाउन खोज्दा पनि नबुझ्नेहरूको कथा पनि विछट्टैको छ । जापान भनेको इमान्दारीता,मेहनत,सीप अनि कागजपत्रमा विश्वास गर्ने देश हो । कतिपय अवस्थामा नेपालमा पैसाले जे पनि किन्न सकिन्छ भने गलत संस्कार बसेको छ र सीपका सर्टिफिकट किनेरै जापान आएका दाजुभाइका हकमा यहाँ सजिलो हुने त कुरै भएन । न्यूनतम बीसमान तलब बुझेका गलत कागज बनाएर,सात आठ मान तलबमा झन्डै ३६५ दिन काम गर्न विवस हुनेहरू पनि छन् । १७/१८ वर्षका छोराछोरीलाई र श्रीमतीलाई मजाले काममा धसाएर बाहिर बाहिर फुर्ति गर्दै जाँड रक्सी खाँदै कामविहीन भएर बस्ने अनि वर्षवर्षमा भिसा नवीकरण गर्न ४/५ लाख तिरेर काम गरेको रेकर्ड बनाउनेहरूको कथा पनि लेख्न लायक नै छ । जापानको यो कथा निकै दर्दनाक नै छ । सतहीरुपमा वा अमूर्त रुपमा यस्ता घटना फाट्टफुट्ट रुपमा मेडियामा आए पनि यसको जरो भेटाउन त्यति सजिलो छैन । किनकि पीडक र पीडित को हो भनेर छुट्याउनै गाह्रो पर्छ । जब सम्म पीडक र पीडित प्रस्ट रुपमा छुट्याउन सकिन्न तब सम्म यो समस्या रहिरहन्छ । सबै तैँ चुप र मै चुप मा चलेका छन् । यहाँ त यी कुक पीडितहरूको कथा मेनन्जाइटिक्स र इन्सिफ्लाइटिक्सको ज्वरोलाई सिटामोलले थामे जस्तै भएको छ । त्यसैले यस विषयमा लामो थनथन गरेर समय खेर फाल्न चाहन्न ।
जापानमा रहेका नेपाली मेडियाकर्मी साथीहरूले व्यस्तताको बिचबाट पनि केही योगदान त अवश्य दिएको देखिन्छ तर पर्याप्त भने छैन । विदेशमा पत्रकारिता गर्नु पक्कै पनि सजिलो छैन तर गाह्रो छ भन्दैमा सजिलो गर्न खोज्नु र अरूले गरे त्यसैले गर्नु पर्छ भन्दै केबल गर्नका लागि गरिएका कुराको कुनै तुक हुँदैन बरू अरुले नगरेकोले गर्नु पर्छ भन्ने मान्यता राख्नु पर्छ । अनलाइन मेडियामा प्रकाशित सामग्रीगरू हेर्दा स्थलगत अध्ययन,भ्रमण र अनुसन्धानबाट आएको सामग्री भेटाउन मुस्किलै पर्छ । यो दुखद कुरा हो । कतिपय अवस्थामा साभार र अनुवादित समाचारले पनि निकै प्रवावकारी भूमिका निर्वाह गर्न सक्छ तर कोठाचोटामा बसेर कपि पेस्ट गरी तयार पारेका समाचारले पाठकहरूलाई गुम्राहमा पार्छ । यसरी पाठकहरूको समयलाई बर्बादी गर्ने अधिकार मेडियालाई हुँदैन । दिनानुदिन आटा न पिठाका धेरै कुरा छाप्नु भन्दा दैनिक रुपमा नसके साप्ताहिक ,पाक्षिक,मासिक त्यो पनि नसके त्रैमासिक भए पनि अनुसन्धानमूलक विषय उठान गर्नु उत्तम हुने देखिन्छ । विदेशमा हुने मेडियाहरूले समन्वय गरी जुन मेडियाका मेडियाकर्मी हरूमा जुन कुराको विशेषज्ञता छ हो,त्यसै विषयमा बढी गहिराइसम्म पुगेर विषयवस्तुको उठान गर्न सके विकसित देशका ज्ञान, सीप,प्रविधि र सकारात्मक सोंचहरूबाट धेरै लाभ लिन सकिन्छ । त्यसैले सस्तो लोकप्रियतामा दौडेर धेरै लाइक कमेन्ट बटुल्नेमा होइन थोरै भए पनि गुणात्मकतामा विश्वास गर्नु पर्छ । मान्छेलाई सही सुचना प्रवाह गरी आम रूपमा मान्छेमा उर्जा भर्ने काममा मेडिया र मेडियाकर्मी साथीहरू अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा कहिले नभुलौँ ।
यहाँ माथि उल्लेख गरिएका सन्दर्भहरू त प्रतिनिधि घटना मात्र हुन । यस्ता अनगिन्ति समस्याहरूको फेहरिस्त जति बयान गरे पनि सकिँदैनन् । यसको मतलब के जापानवासी नेपालीहरू सबैको हालत यस्तै हो त ? प्रश्न उठ्न सक्छ । त्यो सत्य हुँदै होइन । यहाँ मेहनत गरेर स्वाभिमानी पूर्वक जीवनयापन गर्नेहरू पनि छन् । विद्यार्थी जीवनमा काम र पढाइको सन्तुलन मिलाएर प्रतिष्ठित कम्पनिहरूमा काम गर्नेहरू पनि छन् । जेहन्दार छात्रवृत्तिमा उच्च शिक्षा हाँसिल गरी सधै सकारात्मक सोंचका साथ दुई देश बिचको सम्बन्ध विस्तारमा अहोरात्र खट्नेहरू पनि छन् । यहाँका प्रतिष्ठित विश्वविद्यालयहरूमा प्राध्यापन र अनुसन्धानमा व्यस्त भएर योगदान दिने हरू पनि छन् । अति मेहनत र इमान्दारीताका साथ व्यापार व्यवसाय गर्दै जापानिज समुदायमा ‘नेपारूजिन सुगोइ ने’ भन्ने सकारात्मक सन्देश दिनेहरू पनि छन् । विदेश मै वसेर पनि आफ्नो देशको भाषा,संस्कृति,साहित्य,कला प्रति गौरव गर्दै संरक्षण र संवर्धनका निम्ति अहोरात्र खट्नेहरू पनि छन् । कुरो यतिमात्र हो कि संख्यात्मक रुपमा कम भएका मात्र हुन ।
यहाँ समस्या भाषाको भन्दा बढी भाषाप्रतिको दृष्टिकोणको हो । आर्थिक अभावको भन्दा बढी हाम्रो मानसिकताको हो । भर्खर नौ दश, वा एघार बाह्र अध्ययन गर्दै गरेका आम बालबालिका बाबा आमाको डिपेन्डेन्ट भिसामा जापान आएर मस्त सँग पार्टटाइम जब गर्दै छन् । यसले श्रम प्रति सकारात्मक बनाए त राम्रै हुन्थ्यो नि तर अहमता सृजना गरेको छ । भर्खर उच्चशिक्षा प्रवेश गरेका युवा युवतिहरू अविभावक बाट टाढा भइ अति महगा विदेशी स्कुल विद्यालयमा अध्ययन त गर्दै छन् तर सही मार्ग निर्देश नहुँदा आर्थिक चपेटामा परी आफ्नो उर्जाशील समय धौ धौ पूर्ण जीविकोपार्जनमा सीमित गर्न विवश छन् । यसले भोलिका दिनमा समुन्नत समाज निर्माण गर्न निकै गाह्रो छ । त्यसैले समग्र रुपमा स्वयम् व्यक्ति,अभिभावक,समाज,सामाजिक अगुवा,शैक्षिक संघसंस्था र राज्य नै सचेतहुँदै सकारात्मक चिन्तन विकास गर्न आवश्यक देखिन्छ । मान्छेका क्षमता सबैका एउटै प्रकारका हुँदैनन् । कम्तिमा आफ्नो क्षमतामा विश्वास गरौँ । ‘तातै खाउ जल्दी मर’ को सोंचले कसैको हित गर्दैन । सके सम्म राम्रै सोंचौँ राम्रै गरौँ नसके कम्तिमा नराम्रो नगरिदिए पुग्छ । मान्छेको प्राप्ति के र कति भन्ने कुरा उसको अपेक्षा अनि त्यस प्रतिको लगानीले निर्धारण गर्ने कुरा हो । ढिलो चाँडो र थोरै धैरैको कुरा मात्र हो । मैले जापान आएर धंगधंग गर्दै भए पनि आफै हिँड्ने प्रयत्न गरेको मान्छे ड्यांर्यांग लडेको देखेको छैन । हतार र हतास मानसिकता अनि अरुको लहलहैमा रहरले गरिएका कतिपय निर्णयले मान्छेमा वाध्यात्मक स्थिति सिर्जना गरी मानव जीवन नै तहस नहस पार्न सक्छ ।
( राजेन्द्र पौडेल जीले एकवर्ष अघि लेख्नुभएको यो सामग्री पुन: प्रकाशन गरिएको हो)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार