
रातको ११ बजिसकेको थियो । छोराहरू पावन र रासेन मस्त निद्रामा थिए । श्रीमती अफुरोमा बसेर मोबाइलमा टेलि सिरियल हेर्दै थिइन् । प्रेम दिवसको पूर्वसन्ध्यामा प्रेममय बनेका फेसबुकका भित्ताहरू अनि नेपाली आन्दोलन र आमसभाका रङ्गीचङ्गी दृश्यहरूमा म पनि रुमलिई रहेको थिएँ ।
एक्कासी केही कम्पन महसुस भयो । घडी हेर्दा ११:८ भएको थियो । म जुरुक्क उठेँ । हेर्दाहेर्दै भित्तामा झुन्डाइएका फोटाहरू, टेबलमा राखिएका सामानहरू सबै हल्लिन लागे । मैले चिच्याएर भूकम्प आयो । तिमी अफुरोबाट बाहिर छिटो निस्क भन्दै रासेनलाई काखमा समाएर पावनलाई उठाउने प्रयास गर्दै थिएँ । पावनले उठ्न खोजेजस्तो गरेर मेरो काखमा अडेस लागेर निदाइहाल्यो ।
यतिबेला सम्पूर्ण घर नै हल्लिएर खटखटको आवाज रोकिएको थिएन । जापानमा ३, ४ रेक्टर स्केलका भूकम्प आउनु सामान्य नै मानिन्छ । यहाँका भौतिक संरचनाहरू भूकम्प प्रतरोधी भएकाले आत्तिहल्नु पर्दैन । सुतेकाबेला भूकम्पको धक्काले ब्युझाउन नसके पनि मोबाइलमा बज्ने एलर्टको घन्टीले झस्काउँथ्यो तर यसपालि मोबाइलहरू मौन रहे मुटुहरूमा एलर्टका घण्टी बजिरहे । पृथ्वी हल्लिँदा मुटु पनि सँगै हल्लिने रहेछ । जीवनमा पहिलो पटक यति ठूलो झट्का अनुभव गरियो । हामी सकुशल रह्यौँ । अशुभ कतै बाट सुन्न नपरोस् भन्ने कामना गर्यौँ । पृथ्वीको कम्पन अलिक कम हुँदै गए पनि मनमा अनेकन छालहरू उर्लिरहेकै थिए । यस्तो बेला मस्तिष्कका भावी योजनाहरू ठप्प भएर मन ह्वात्तै फ्लेसब्याकमा जाँदो रहेछ ।
परिवार र प्रियजनहरूलाई मनले सर्लक्कै स्क्यान गर्दो रहेछ । कम्पन अलिक कम भए पछि मैले पार्वतीलाई टिभि खोल्न भने । टिभि चलेन । बच्चाहरूले साँझतिर खेल्दा खेल्दै एन्टीनाको तार नै छुटाइदिएका रहेछन् । रिमोट पनि कता परेछ । विपत्ति आउँदा बाजा बजाएर आउँदैन । यस्तै भएर हाेला अनेक प्राकृतिक विपत्तिबाट भुक्तभोगी जापानी जनताले आपातकालीन सामग्रीको झोला सदाबहार तयारी अवस्थामा राख्नु पर्छ भन्ने गरेकाे । आखिर यस्तै त हो नि । कसैले ए, ऐया ! भन्दा भन्दै जानु पर्छ, कसैले त्यही पनि भन्न नपाई । तर जे जे भए पनि पूर्वतयारी र सचेतनाले दुर्घटनाहरूबाट बढी क्षती हुनबाट जोगाउँछ नै ।
मैले बच्चाहरूलाई विस्तारमा छोडेर एन्टीनाको तार तानतुन पारेँ र समाचार हेर्न थालेँ । समाचारमा जापानको फुकुसिमा केनलाई केन्द्र बनाएर ७.१ म्याग्निच्युड को भुकम्प गएको , सुनामीको डर नभएको तर आगलागी लगायतका खतराहरू देखिन सक्ने भएकोले सबै सचेत रहन आग्रह गरिँदै थियो । यस खबरले मनमा केही राहत मिल्यो । मानव मृत्युको खबर नसुनिए पनि घाइते र भौतिक क्षतिका खबरहरु अपडेट हुँदै थिएँ । आङ नै सिरिङ्ग हुनेगरी कम्पनका दृश्यहरू टेलिभिजनमा प्रसारित भइरहेका थिए । प्रियजनहरूका म्यासेजले म्यासेन्जर भरिँदै थियो । फोनमा घण्टी बजिरहेका थिए । एक दुई ठाँउ छोटो कुरा पनि गरेँ अनि तुरुन्त फेसबुकमा हामी सकुशल छौँ भन्ने स्टाटस अपडेट गरिहालेँ ।
यसैबीचमा घटना घटेको आधा घण्टा नबित्दै प्रधानमन्त्री योसिहिदे सुगालगायतको टिम कार्यालय पुगेर काम सुरु गरिसकेको खबर पाए पछि अभिभावक अगाडि आएर उभिएजस्तो अनुभव भयो । एडमा भन्दा एक्सनमा जोड दिने जापानी कार्यशैली सिक्न र सम्झन लायक नै छ ।
अब सुत्नको लागि विस्तारमा पल्टिए पनि मनमा अनेकन दृश्यहरू घुमिरहे । २०११ काे जापानको भूकम्प र सुनामीले क्षतविक्षत पारेका दृश्य,२०१५ मा नेपालमा भूकम्पले पारेको जनधनको क्षति आदि आदि । एउटा गजबको संयोग नै भन्नु पर्छ २०११ मा जापानमा भूकम्प अाउँदा म जापान आइसकेको थिइन अनि २०१५ मा नेपालमा भूकम्प अाउँदा म जापानमा थिएँ । आखिर जीवन भनेकै यस्तै यस्तै संयोगले बाँचेकाहरूको मात्र त हो नि । यस्ता विपत्तिमा अलिक बढी अनुभव गरिने भएर मात्र हो, मृत्यु त सदाबहार जीवनकै ओरिपरि मडारिरहेछ…।
करिब ७,८ रेक्टर स्केलका भूकम्पले जापानको भौतिक पूर्वाधारलाई बढी क्षती गर्न सक्दैन तर भूकम्प पछि आउने सुनामी भयङ्कर नै हुन्छ । अनि यस्तो रातको समयमा यो स्तरको भूकम्प यदि नेपालमा गएको भए कति आपद पर्दो हो ? कति प्रियजनहरूको मृत्यु भइसकेको हुँदो हो ? कति मान्छे उद्धार नपाएर भित्रभित्रै निसासिनु पर्दो हो ? जटिल अवस्थामा फसेकाहरूलाई उद्धार गर्न अझ कतिदिनसम्म अरुको मुख हेरेर बस्न पर्दो हो ? यसैबीचमा विश्वस्तरबाट कति जनाले राहत संकलनका अभियान चलाउन पर्दो हो ? यही नाममा कति समाजसेवी नामधारीहरूले मिडियाबाजी गर्न पाउँदा हुन् ? यस्तो घटनाले कति जना गफाडी नेता उत्पादन गर्दो हो ? यस्तै विषयहरू सोँच्दा सोँच्दै पुन: जापानका परिदृश्य घुम्न थाले ।
करिब १ वर्षदेखि कोरोना भाइरसले थला पारेको जापानका विभिन्न ठाउँमा अहिले पनि आपतकाल लागिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगरौँ भनेर अनुरोध गरिरहेको छ । हामीहरू सकेसम्म पालना पनि गरिरहेका छौँ ।
समग्रमा भन्दा दैनिक जनजीवन सामान्य नै देखिन्छ । मान्छेको दैनिकी र अर्थतन्त्रमा सन्तुलन कायम राख्न रात दिन नभनेर खटिरहेको जापानमा फेरि भूकम्पको क्षति थपिएको छ । यसलाई पनि सरकारले अभिभावकत्व ग्रहण गर्छ नै । यो कुरा विगतका घटना र अहिलेको कोरोना भाइरस महामारीका बेला सरकारले गरेका कार्यबाट हामीलेसम्म अनुभूति गरिसकेका छौँ तर दुःखको साथ भन्नु पर्छ यस्तो देशमा बसेर, आफ्नो जागिर या व्यवसायमा दिन होइन केही घन्टामा हुन जाने घाटाको समेत सरकारबाट क्षतिपूर्ति प्राप्त गरेर जीविकोपार्जन गरिरहेका हामीले नेपालमा अहिले भइरहेका अवाञ्छित गतिविधिहरूमा साथ समर्थन गरिरहेका छौँ । यहाँबाट आफ्नो कित्तामा उभिएर आन्दोलन या आमसभामा सरिक हुन, शक्ति प्रदर्शन गर्न अनुरोध गरिरहेका छौँ । यो भन्दा लाजमर्दो विषय केही हुन सक्ला ? लाख मान्छे भेला पारेर हजार तर्क गरे पनि अहिलेका गतिविधि अवाञ्छित नै छन् ।
के आन्दोलन या समर्थन विरोधका कार्यक्रम गर्न मान्छे भीडभाड गराउनु भन्दा अन्य उपायहरू छैनन् त ? सुन्ने नसुन्ने त उनीहरूको कुरा भयो तर कम्तिमा यसो गरौँ या यसो नगरौँ भनेर आ आफ्ना गुट उपगुटमा अनुरोध गर्न त सकिन्छ होला नि ? तर हामी बुझ पचाउँदै छौँ । त्यसैले हामी नै परिवर्तनका अवरोधक हौँ । हामी नै विकास विरोधी हौँ । हामी नै आत्मघाती हौँ । जतिसुकै स्वाभिमान र सम्वृद्धिका कुरा गरे पनि हामीहरू जबसम्म आत्मनिर्भर हुन सक्दैनौँ तबसम्म यस्ता समस्या बारम्बार दोहोरी रहन्छन् ।
यसका निम्ति सबैभन्दा पहिले नेता देखि जनतासम्म नियत सफा हुनु आवस्यक देखिन्छ तर हामी आम मान्छेको नियत नै खराब देखिन्छ । आज यसले किन नकारात्मक वाक्य धेरै लेख्यो भनेर सोँच्दै हुनुहन्छ होला । मैले जे भोगेको छु, जे देखेको छु त्यही लेख्ने हो । कम्तिमा आफैलाई नढाँटी लेखौँ भन्ने हो भने हामीले यस्तै लेख्नु पर्ने बाध्यता छ ।
धन्यवाद ।
राजेन्द्र पौडेल
जापान टोकियो
२०२१/०२/१३(शनिबार)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




