प्रबिधि र चेतनाको विकास संगसंगै नेपालीहरु संसारका हरेक कुनामा फैलिदै रहेका छन्।भुगोलको हिसावमा सानो सुन्दर भुपरिवेष्ठित राष्ट भएपनी हामी सवै नेपालीहरूका कारण हाम्रो मातृभूमि संसारको लागी अव परिचयको विषय रहेन।विश्व भुगोलको जुन सुकै कुनामा रहे पनी ” जननी जन्म भूमीश्च स्वर्गादपि गरियसी “को मुल मन्त्रमा कटिबद्ध छन्।संसारभर छरिएका फूलरूपी नेपालीहरूका थुँगालाई एकत्रित गर्ने इन्द्रेणी माला हो एनआरएनए । संसारभरका नेपालीहरूको अभिभावकिय संस्थाको रूपमा यसको केहि छोटो यद्यपि गौरवपूर्ण इतिहास छ।जहाँ रहेपनी नेपाल र नेपालीको संरक्षण,संवर्धन र विकासको निमित्त अहोरात्र प्रयत्नशील यस साझा चौतारीमा आवद्ध हुनेको संख्या पनी बढ्दो छ र समय संगै संसारका हरेक देश महादेशमा एनआरएनएको उल्लेखनीय उपस्थिति र योगदान रहदैआएको छ।विश्व भर छरीएर रहेका नेपालीहरूलाई एकताको सुत्र मा समेट्ने महान उद्देश्यका साथ एनआरएनए को स्थापना भएको हो।प्रवासी मात्र नभइ हाम्रो देश अनी सबै नेपालीहरूको निम्ति पनी भइपरीआउने विभिन्न चुनौती हरू र आरोह/अवरोहको एकजुट भएर सामना गर्ने निश्छल अनि विशुद्ध भावनालाई आत्मसाथ गर्दै थोरै समयावधि भित्र केही महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । मातृभूमिमा मानवीयवा या प्राकृतिक विपत्ति आउदां होस वा महामारी को संकट पर्दा होस,एनआरएनएले आफुलाई नेपाली र मातृभूमि प्रतिको उत्तरदायित्व बहन गर्न हरप्रयास प्रयत्न पहल गर्दै अग्रसर हुदै आएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) सबै नेपाली समाज अनी संस्कृतिलाई एक छाता संगठन अन्तर्गत प्रवासी नेपालीलाई एकजुट गर्ने र उनीहरूको ज्ञान, सीप, श्रोतहरू नेपालको हितमा उपयोग गर्ने र नेपाल र नेपाली जनताको आर्थिक विकासमा संलग्न गर्ने गराउने उद्देश्यले स्थापित भएको हो। सन् 2002 मा रुसमा बसोबास गरिरहेका नेपालीहरूले विश्वव्यापी नेपाली संगठन (एनआरएनए) स्थापना गर्ने अवधारणा राखेका थिए, पछि यसलाई विश्वव्यापीकरण र व्यावहारिक बनाउन विश्वका विभिन्न देशहरूमा बसोवास गरिरहेका केही नेपाली समुदायका व्यक्तिहरू सन् 2003 मा लन्डनमा भेटे र निर्णय गरे ‘नेपाली प्रवासी एकताका लागि समन्वय समितिको गठन’, उनीहरूले नेपालमा एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने सम्भावनाबारे पनि छलफल गरे । यो विचारले तुरुन्तै नेपाल सरकार र नेपाल उद्योगवाणिज्य संघको फेडरेशनको समर्थन प्राप्त गर्‍यो। यसले 11~14 अक्टोबर 2003 मा पहिलो गैरआवासीय नेपाली सम्मेलनको संयुक्त संगठनको नेतृत्व गर्‍यो । त्यस सम्मेलनमा भेला भएका एनआरएन प्रतिनिधिहरूले एनआरएनको साझा परिषदको रूपमा एनआरएनएलाई संगठित गर्न सँगै मिलेर काम गर्ने निर्णय गरे । पहिलो एनआरएन ग्लोबल सम्मेलनको उद्घाटन 11 अक्टोबर 2003 मा भएको हुनाले एनआरएनएको स्थापना मिति 11 अक्टोबर 2003 लाई मानिन्छ। 11 अक्टुबरलाई नेपाल सरकारले एनआरएन दिनको रूपमा पनि घोषणा गर्‍यो । नेपाल सरकारले एनआरएनएको औपचारिक दर्ता 20 अक्टुबर 2013 मा गरेको थियो ।
आफ्नो अस्तित्वको 18 वर्ष पूरा गर्ने क्रममा एनआरएनए एक गैर-सरकारी विश्वव्यापी संगठनको रूपमा विकसित भएको छ र आफ्नो हित, चासो र प्रतिबद्धता प्रतिनिधित्व गर्न 82 देशहरूमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) स्थापना गरेर नेपाली मूलको सञ्जालले एकशक्तिशाली शक्तिको रूपमा विकसित गरेको छ जसले विश्वव्यापी रूपमा नेपाली रुचिको प्रतिनिधित्व गर्न सक्छ । यी सबै कुरालाईध्यानमा राखी नेपाल सरकारले गैर आवासीय नेपाली ऐन 2064 घोषणा गरी नेपाली प्रवासीलाई कानुनी दर्जा पनि प्रदान गरेको छ। डा.उपेन्द्र महतो एनआरएनएका संस्थापक अध्यक्ष हुन्। हाल उहाँ संगठनको प्रमुख संरक्षक हुनुहुन्छ। हालसम्म एनआरएनएका अध्यक्ष रहनु भएका व्यक्तित्व हरु:
डा उपेन्द्र महतो आईसीसी 2003-2009 (रसिया बाट) हाल प्रमुख संरक्षक,
देव मान हिराचन आईसीसी 2009 -2011 (जापान बाट) वर्तमान संरक्षक,
जीबा लामिछाने आईसीसी 2011 -2013 (रसिया बाट) वर्तमान संरक्षक,
डा शेष घले आईसीसी 2013 -2017 (अस्ट्रेलिया बाट) हाल प्रमुख संरक्षक,
भवन भट्ट आईसीसी 2017 -2019 (जापान बाट) वर्तमान संरक्षक,
कुमार पन्त आईसीसी 2019-2021( जर्मनी बाट) वर्तमान अध्यक्ष
उहाँहरू लगाएत धेरै व्यक्तित्वहरूको अथाह प्रयास र दृढताले गर्दा नै हामी अहिले विश्व भरीका प्रवासी नेपालीहरू एउटै र एक मात्र छाता संगठन भित्र एकीकृत भएर रहन सफल भएका हौ।
हजुरहरू प्रति निःसन्देह अपार सम्मान र हजुरहरूको अनगिन्ति मिहेनत र विशुद्ध कर्मको अन्तरहृदय देखीनै कदर गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छु । यसो भन्दै गर्दा एनआरएनए ले के गर्यो त भन्ने प्रश्न पनि बारम्बार सामाजिक संजाल मा नआएको भने होइन तर यति चाही भन्न चाहन्छु की उहाँहरूको धेरै आर्थिक,भौतिक सहयोग ,संकलन तथा वितरण,देश विकासका परियोजनाहरू त छंदैछन् अझ बढी उहाँहरूको अमुल्य समयको योगदान पनि रहदै आएको छ।जुन उद्देश्यले यो संस्था संगठन स्थापना गर्नु भयो त्यो नै आदरणीय र सम्मान लायक छ ।

हाल म बिगत १६-१७वर्ष देखी जापान को टोक्यो र खानागावा केनमा बस्दै आएको छु।एनआरएनए जापान को सन्दर्भमा भन्नु पर्दा,जापानको अध्यागमन विभागले हालै जारी गरेको तथ्यांक अनुसार जापान बसोबास गरिरहेका नेपालीहरुको संख्या ९५ हजार ९ सय ८२ रहेको छ ।
जसमध्य हाल एन.आर.एन.ए. रा.स.प. जापान सदस्य संख्या जम्मा ९,३९४ मात्र रहेको छ।यो संख्या केहि निराशजनक नै हो जस्तो लाग्दछ।सायद अस्थिर नेपाली राजनिति संग प्रतक्क्ष वा अप्रत्यक्षरूपको प्रभाव पनी होला ।भात्रुसंगठन ,गुट उपगुट ,राजनीतिक आस्था संगसंगै टुटेका भरोसा अनी परदेसी भुमीमा समय को अभाव या भनौ यस संस्था प्रति को अविश्वस्तता वा अजागरूकता ले हुन सक्छ।केहि अग्रज व्यक्तित्वहरूले आफ्नो अमुल्य समय दिएर समाजमा थोरै नै सही राम्रो कामको सुरूवात गर्नु भयो।समाजसेवा गरेर विदेशी भुमीमा असमानतामा एकता गर्ने जमर्को गर्नु भएकै हो । हाम्रो राष्ट को निमित्त पनी दू:ख सुखमा हातेमालो गरेको हामी सवैमा अवगत नै छ। मात्र केही कोही सिमित् अनैतिक अराजक तत्व हरूले गर्दा नै हाम्रो यो पवित्र संस्थाको अविश्वसनीयता उत्पन्न भएको महसूस गर्दछु ।यसलाई हामी सवैले सोचेझै भनेझै स्वच्छ पारदर्शी ईमानदारीका साथ गर्ने गराउने हो भने अपार समर्थन र मायाको उत्कृष्ट सामाजिक संस्था बन्नेछ भन्ने विश्वास लिएको छु । मैले चाहेको अथवा हामीले चाहेको भन्ने नै हो भने राजा महेन्द्र जस्तो दुर्दशी र विकासप्रेमी, वि.पी.कोइराला,कृष्णप्रसाद भट्टराइ, गणेशमान सिंह ,मदन भण्डारी,मनमोहन अधिकारी ज्यूहरु राजनीतिक आदर्शका पात्र एवं असल राजनीतिज्ञ थिए । देश र जनताको उन्नती हुनु पर्छ भन्ने सोच संगै उहाँहरू संग सरलता,इमान्दारिता, निष्ठा , सिद्धान्त र मुलुक निर्माणको खाका थियो । हो यस्तै नेता जो सवैको भलाई तथा सही काम कर्तव्यको पालना गर्नुहुने ,नेतृत्व प्रधान गर्न सक्षम व्यक्ति पाउछौं भने एउटा उदाहरणीय समाजको परिकल्पना गर्न सक्दछौ । सिद्धान्त सवै राम्रा हुन वस केही स्वार्थी लोभी अधर्मीहरूले गर्दा अपमानित भएका हौ ।
आत्मविश्वास, दृढ संकल्प,तिब्र ईच्छाशक्ति,प्रतिबद्धता र लक्षमा स्पष्टता इत्यादि जस्ता गुणहरुको पूर्णता भएको मानिसले जस्तोसुकै चुनौतिको पनि सामना गर्न सक्छ। हो अहिले हामीलाई हाम्रो देशमा साथै हरेक परदेशमा संगठित एन आर एन ए मा यस्तै निडर अनी सत्यको पक्षमा अग्रसर हुने नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिको आवश्यकता परेको छ । समस्याको होईन समाधानको भागिदार बन्न सक्ने व्यक्तिको खाँचो छ । मैले चाहेको अथवा भनौ हामीले चाहना गरेको एनआरएनए यस्तो संस्था होस कि जहाँ प्रतिनिधित्व गर्नु हुने सम्बन्धित व्यक्तिहरू हामी सबैको भलाइ ,विकाश, संवृद्धि चाहने प्रकृति, स्वभावको हुनुहोस् बोली या कुरा भन्दा काम,कर्तव्य गर्ने अनि लोभ मोहमा नफस्ने होऊन । हामी सवै परदेशीको भविष्यका सुनौलो सपनाहरूमा आशा भरोसा अनी विश्वासमा भ्रम नछरून् साथ सेवाको भावना रहीरहोस ,मानवता को उदाहरण बनी जीवनको हरेक क्षणमा निःस्वार्थ बाँच्ने र बचाऊने प्रकारका हुनुहोस् । हामीहरू मध्ये अैले धेरै निराश नै छौं देशको र प्रवासी संघ संस्था र राजनीतिक गतिविधि देखी । सम्पूर्ण खेल मन मस्तिष्क दिमाग र यसको विचारहरूको हो । यसका लागि हरेक विचारलाई ध्यान दिन आवश्यक छ, हरेक क्षण सचेत रहँदै सोच्नुहोस् र हामी जीवनलाई सहजै बाच्न सक्ने केहि उपायहरू फेला पार्न सक्छौ की?आजको हरेक क्षण भोलिको लागि हाम्रो अग्रजहरूले गर्नु भएका राम्रो कामको अनुसरण गर्ने र गलत कार्यको खबरदारी गर्दै, सचेत गराऊदै सुधार्दै अघि बढ्नु पर्दछ । स्वच्छ मन ,वचन र लगनले काम गर्ने गराऊने नेतृत्वको साच्चै नै आवश्यकता रहेको महसूस गर्दछु । गलत मान्छे ,गलत समय र जटिल परिस्थिति जसको जीवनमा पनि आउँछ तर सधै रहिरहदैन, यि चिजलाई एकदम सूझवूझका साथ सामना गर्न सक्नु पर्छ र यि चिजबाट ठूलो पाठ पनि सिक्नुपर्छ । जसले यस्तो इच्छाशक्ति राख्न देखाउन सक्नु हुन्छ ,त्यो सर्वोच्च शक्तिले हामीलाई जीवन जिउन अनी कठिन परिस्थिति संग सामना गर्न साथै संघर्षमय यात्रा अघी बढ्न प्रेरित गर्दछ । हामीलाई यस्तै नेतृत्व चाहिएको छ । एकातिर परिवार , साथी भाइ साथै रमाईलो र मोज मस्ती पनि हुन्छ, तिनीहरूलाई पनि रमाइलो गर्नुहोस्, आफ्नो कर्तव्य नैतिकता संग । अर्कोतर्फ, हामीले विनम्रताका साथ समाज र राष्ट्रको निमित्त पनी , हाम्रा सबै जिम्मेवारीहरू पूरा गर्ने, घर समाज र विश्वमा मानवता संगै निःस्वार्थ सेवाको भावना पनि दिने प्रयत्न गरौ, सक्छौ लिन होईन केही दिन जाऔं । हुनत,यहाँ धेरैको जीवनको उद्देश्य प्रत्येक क्षण ख़ुशी सुखी बाँच्नु नै हो । त्यस अर्थमा पनि हामीले हामी सबैको भलाइको बारेमा सोच्न पर्छ ।हामी जे रोप्छौं त्यहि नै फल पाउछौ । कसैलाई हानि नगर्नुहोस् वा नसोच्नुहोस्, अनि केवल एउटा नराम्रो काम
नहोस् भनेर सावधान हुनुहोस् । त्यत्ति मात्र हो, कोसिस त गरेर हेर्नुस मन सफा राखेर सवै विकृतिहरू विस्तारै विस्तापित हुदै जानेछन् ।अनेकतामा एकता हुनेछ ,मानवताको बलियो आधार हुनेछ जुन हामी सबैमा लागू हुन्छ ।

हुनत पछिल्लो समयमा यहाँ धेरै महानुभावहरु आफ्नो स्वार्थका लागि जे पनि गर्ने, अनुसशासन ,स्वाभिमान ,नैतिकतालाई पुर्ण वेवास्ता गर्ने मनोवृत्ति व्यापक देखिदै आएको छ । भ्रम माथि बिश्वास गर्ने अनि सत्यको खोजी पनि नगर्ने,अहिले आइसीसी अथवा रासस का पधाधिकारी वा उम्मेदवारहरुले जे जे गरीरहनु भएको छ त्यो हामी सबैलाई थाह छ एकदिन बोल्ने छन भनेर डराऔं।केहि आवाजहरु ,कैयौं प्रश्नहरु उठ्न शुरु भैसकेका छन् । सबैजना जिम्मेवार बहन गर्न पछि नहटि संकटको समाधान गरौं । समस्याका कारणहरु हुन्छ्न र ती कारणको पहिचान गरेर समस्याको निराकरण गरिनुपर्दछ । संकटले मानिसलाई समाधानको लागि राम्रो ब्यबस्थाको अवसरको खोजी गर्ने मौका दिन्छ। यो संयोग लाई चुनौती को रुपमा स्वीकार गर्दै सकारात्मक संदेस दिन तपाई हामी सबै पहल गरौन । एनआरएनएमा जो अग्रज अभिभावकहरू हुनुहुन्छ तपाईहरू पनि आफ्नो जुनियर अनुजहरूलाई सही मार्गदर्शन दिनुहोस । किनभने उहाँहरुले गर्नुहुने गलत कार्यको तपाईंहरु पनि त्यस नतिजाको भागिदार हुनुहुनेछ । सानो देखि ठूलो सम्म सबैको भावनाको कदर सम्मान गर्नुहोस्, कसैलाई चोट नपुर्याउनुहोस्, कसैलाई पनि अपमान नगर्नुहोस्। विवेकी , विनम्र,असल ,इमान्दार र भद्र मान्छे जो समाज र संस्थाका लागि बोल्छन, गर्छन् उनीहरुको हिम्मत बढाउनुहोस् । यदि तपाईं कसैलाई मद्दत गर्न सक्नुहुन्छ भने तब उचित मद्दत दिनुहोस्, अन्यथा राम्रो सल्लाह सुझाव इच्छा व्यक्त गर्नुहोस् ।आनन्ददायक मोहमा नपर्नुहोस् । सबै मा विनम्र बिन्ती गर्दछु । हामीले चाहेको सामाजीक संस्था स्थानीय,क्षत्रिय,राष्ट्रीय र अन्तर्राष्ट्रीय हुदै गर्दा कैयौ उतार चढ़ावहरूको सामना गर्नुपरेको छ । धेरै कठिनता अनी संघर्ष पछी विश्वभर छरीएर रहेका सवै नेपालीहरुलाई एकीकृत गर्ने र सबै संघ संस्था, कूटनीतिक निकाय ,दूतावासहरूसंग हातेमालो गर्दै संयुक्त संगठनको रुपमा स्थापित हुने निःस्वार्थ एवं पवित्र भाव बोकेर स्थापना गरिएको एन आर एन ए अझै पनि वर्तमान परिस्थितिमा अराजनीतिक गुट उपगुट संगै विरोध ,लाल्छना,लोभ मोह,दम्भ घमण्ड,अहम तथा देखावटी वनावटी र शक्ति प्रदर्शनमा बाढिंएर स्वार्थपूर्ण खेल खेल्ने र हामी सोझा प्रवासी नेपालीहरूलाई भ्रमित तुल्याउने कार्य भइनैरहेको छ। एनआरएनए वास्तवमै परदेस मा रहेका हरेक विधार्थीहरू र श्रमिक कामदारहरूको समस्याहरूमा छलफल गर्ने,सल्लाह सुझाव दिने र समाधानको साथी बन्ने । प्रवासमा रहनुभएका दु:खी ,पीड़ित , बिरामीहरूको घाउमा मलम लगाइदिने साथ सहयोग समर्थन गरिदिने ।त्यस्तै विभिन्न ब्यवसायीहरू लगाएत बिभिन्न क्षेत्रमा आवद्द नेपालीहरु बिच ज्ञान, सिप ,अनुभव आदान-प्रदान गर्ने थलो र एकअर्काकोदु:ख सुख को सारथी बन्दै सेवा धर्म कर्म गरी अनेकतामा एकता तथा “नेपाली को लागी नेपाली “भन्ने मुल नारा सहितको वास्तविक निःस्वार्थ अनी पवित्र संस्था बन्नु पर्दछ ।
संस्था भित्र को अराजनीतिक गतिविधि , आर्थिक दुराबस्था र प्रवासी समाजको समस्याको अन्त्य बिकासले व्यवहारमा उतार्ने निष्ठाअनि निःस्वार्थ बिचारधारा र त्यसलाई कार्यन्वयन गर्ने आर्थिक र सामाजिक कार्यक्रमले गर्छ। हाम्रो समाजको बिकास, दृस्ठिकोण ,खाका र कार्यक्रम बिहिन एवं बिचारधाराहिन केही व्यक्तिहरू र उनीहरुलाई समर्थन गर्ने अन्धविश्वासको खोल ओढ्ने संरक्षित केही व्यक्तिहरूले गर्दैनन । वर्तमान स्थितिमा साच्चै नै भन्नु पर्दा ,देख्दा यस गैर नाफामूलक संगठन संस्थामा अनेक नाम देखाएर अनि बिरोधिको बिरोध गरेर प्रवासी समाजलाई आफ्नो सत्तायात्राको माध्याम बनाउन पल्केकाहरु र आफुलाइ स्थापित गर्न उद्ध्तहरु परदेशमा छरीएर रहेका नेपाली को समृद्धि,एकता र रास्ट्रको सेवा होइन बस स्वार्थ राजनीति ,नातावाद ,कृपावाद ,शक्ति प्रदर्शन र आर्थिक अनियमितता जस्तो कुसंकार तथा अनैतिक मौका उपलब्ध गराउने माध्यम बनेका छ्न। अहिले यस गरीमामय संस्थाको आवश्यकता भनेको नै यसलाई हामी सवै एकजुट भएर जुन मौलिदै गरेको स्वार्थ राजनीतिलाइ हिलो र फोहोरको घृणित दलदलबाट निकालेर एकीकृत स्वच्छ विकास एवं सफलताको बाटोमा कसरी लान सकिन्छ भन्ने बौद्धिक र बिज्ञहरुको बहसको आवश्यकता हो जस्ले गैर राजनीतिक संस्थाका नाममा ढांट्ने, छल्ने,झेल् खेल्ने र लुट्नेको नकाब उतारोस र शिक्षित ,निडर ,आदर्श ,इमान्दार व्यक्तित्वहरूलाई नेतृत्वमा पुर्याओस । यस गरीमामय पवित्र संस्था को गौरवपूर्ण इतिहासको सही मुल्याकंन गरी असल कार्यहरूको अनुसरण गर्ने ,विकृति विसंगतिहरूलाई पन्छ्याउने र समयानुकूल यसको संरचना, प्रणाली, संस्कृतिलाई परिमार्जित गर्दै सवैको हृदयमा स्वाभाविक रूपले आस्था अनि सम्मान राख्न सक्षम रहोस । फगत केही व्यक्तिहरूको लापरवाही ,असक्षमता र पदको लोभ लालचले गर्दा नै वर्तमान परिस्थिति सम्म आइपुग्दा कैयौ असमझदारी,असन्तुष्टी,आर्थिक अनियमितता, अपारदर्शीता, अस्वच्छता हुदै रहेको तितो यथार्थलाई मध्य नजर गरी एनआरएनए संस्था प्रति जुन् भ्रम तथा अविश्वास पैदा भएको अवस्था छ यसलाई एक सही मार्गदर्शन प्रदान गर्ने र सत्य तथ्य को पक्षमा सम्बोधन गर्न जरूरी छ।
र अन्त्यमा ,
सोंच र विचार लाई स्वतन्त्र निष्पक्ष पारौं,वर्तमान परिस्थिति र यथार्थलाई बुझौं अनि तथ्यमा रहेर सत्य खोजौं, सामाजिक संस्था को सिंढी चढेर सत्ताको राजनीति गर्नेहरुलाई अस्विकार गरौं।आउनुहोस सबै असल,भद्र भलाद्मी महानुभावहरु एकजुट भएर बुद्धि र बिवेकको आधारमा समृद्ध समाज र संस्था को निर्माण गरौ। धुल्मिलिएको भनौ या धुल्मिलाइएको यस्ता दागहरूलाई जरै देखी उखेलेर हतोत्साहित गर्दै शुद्धीकरणको यात्रा तय गरोस भन्ने अभिलाषा सहित विनम्र निवेदन गर्न चाहन्छु । धेरै आशा,भरोसा अनी विश्वासका साथ यस संस्थाले सवैको मन जितोस अनुकरणीय नेतृत्वको छहारीमा स्वस्फुर्त ऐकबद्दता सदा सर्वदा अनन्ततकाल सम्म रहिरहोस ,शुभकामना ,मानवताको रक्षा होस ,सवैको जय होस।।

जय नेपाल जय देश ।।☯️🙏
विश्वास भट्ट
हाल खानागावा केन जापान

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार