नेपालीको कोमल मन जहाँ पनि पग्लिन्छ । अनि आफूले जे जति सकिन्छ त्यो सहयोग गरीहालौँ न भन्ने हुन्छ । यही बानीले आज नेपालीलाई स्वभाविक रुपमा सहयोगी र दयालुको रुपमा चिनाउन मद्दत मिलेको छ । तर जापानमा देखिएको दयालु र सहयोगीपनले भने केही अस्वभाविक प्रश्नहरु जन्माएको छ ।

आइतबार विहानै एउटा प्रश्न आइपुग्यो फेसबुक म्यासेन्जरबाट । नयाँ विद्यार्थीलाई राहत चाहिएको हो की साथ ? म जापान आइपुगेको जम्मा २ महिना पुरा भयो । प्रश्न जबरजस्त बलियो र तिखो थियो । अझ नयाँ विद्यार्थीलाई यो प्रश्न आउँदा झट्ट उत्तर दिँदा लाग्छ राहत चाहिएको हो । तर यो होइन । भनिन्छ मानिसलाई मारेको माछा लगेर खाउ भन्ने होइन की माछा कसरी पाल्ने र खाने भन्ने सिकाउनु ठूलो कुरा हो । अहिले जापान आउनुभएको नयाँ विद्यार्थीलाई चाहिएको यही हो ।

मेरो अनुभव सहित तर्क राख्दा स्वभाविक रुपमा नयाँ देश त्यसमा पनि १०० प्रतिशतनै जापानीज भाषा चल्ने देश भएकाले हरेक पाइलामा कठिन छ । कठिन यहाँ चामल र दाल नपाउनुको होइन यहाँ भएका काममा आफूलाई सहभागी गराउन नसक्नुको हो । अहिले जापान आउनुभएको नयाँ विद्यार्थीहरुलाई परेको मुख्य समस्या यो हो । तर यहाँका सामाजिक संघ संस्था भने विद्यार्थीलाई दाल चामल वितरणमा अग्रसर हुन खोजेको जस्तो देखिन्छ । सामाजिक संजालमा देखिएका टिकाटिप्पणीले त्यसतर्फ उन्मुख भएको देखिन्छ तर नयाँ विद्यार्थीको वास्तविकता त्यो होइन भन्ने मलाई लाग्छ । सवैलाई नलाग्न सक्छ ।

ओसाकामा बस्ने म आफन्त कोही हुनुहुन्न । जसले गर्दा काम पाउन निकै संघर्ष गर्नुपर्यो । विद्यालयले खोजिदिएको काममा मेनसेचु दिने तर सेलेक्ट नहुने समस्या मात्रै होइन आफैले काम पत्ता लगाएर सवै विवरण तयार पार्दा पनि फोनमा कुराकानी गर्न नसक्दाको पीडा कसलाई कहाँ भन्ने र । हो अहिलेका नयाँ विद्यार्थीको समस्या यहीँ हो । त्यसैले हामीलाई दाल चामल होइन काम खोज्दा र खोजिसकेपछि टेलिफोन गर्ने तरिका, त्यहाँ प्रयोग हुने शब्दको चाहिँ राहत चाहिएको छ । के यहाँका सामाजिक संघ संस्था यो दिन तयार छन् त ? अहँ तयार भएको पाइएन ।

केही महिना अगाडि नेपाल जापान विद्यार्थी समाजको फेसबुक पेजमा मेनसेचु (अन्तरवार्ता) दिँदा बोल्ने नमुना र टेलिफोन कुराकानीको नमुना पोष्ट गरेको पाएँ । त्यही पोष्टको राम्रो अध्ययन र केही युटुव भिडियोको मद्दतले अन्तरवार्ता दिन सकेर अहिले म लसनमा कार्यरत छु केही दिन भयो ।

यो काम पाउन अघि अनलाइनबाट करिव ५० वटा भ्याकेन्सीमा मैले एप्लाइ गरेँ । अव नयाँ विद्यार्थीले भन्न मिल्छ होला त जापानमा काम नै छैन ? पक्कै मिल्दैन । अनि सामाजिक संघ संस्था हाँक्नेहरुले पनि काम नै छैन भन्दै राहत वितरणमा लाग्न मिल्छ होला त ? समस्यानै परेको ठाउँमा दिनुपर्छ तर समस्या एकातिर सहयोग अर्कोतिर हुँदै गयो भने कस्तो सन्देश जाला त ? यसमा पनि ध्यान दिने की ।

अहिले धेरै काम नपाउनुभएको विद्यार्थीहरुले काम पाउने मोवाइल एप, वेवसाइट थाहा पाइसक्नुभएको छ । त्यहाँ देखिएका जवमा एप्लाइ गर्न सक्ने पनि हुनुभयो होला भन्ने लाग्दछ । मैले मेरो अनुभव सहितको लेख सार्वजनिक गर्दा केही दिन अघि देखि सामाजिक संजामा अर्को एउटा पोष्ट आइरहेको छ जहाँ व्यक्ति स्वयम र केही अग्रजको मद्दतबाट काम पाउनुभएको अनुभव शेयर भइरहेको छ ।

मैले लसनमा काम पाउनुअगाडि एप्लाई गरेकोमध्येबाट करिव १५ वटा टेलिफोन कल पाएँ तर सवैमा मैले उत्तर फर्काउन नसक्दा अवसरहरु गुमाइरहेँ । मोसी मोसी वातासीवा रियुगाकुसेइ देश । यति भनेँ अनि उताबाट भनेको नबुझेपछि यतिकै फोन काटेको कयौँ पटकको भागाइ छ । यदि उताबाट भनिने शब्दवारे थाहा भएको भए त ती ५० वटा काममा म एउटामा समावेश भएर अन्यमा अरु साथी सहभागी हुने अवसर मिल्थ्यो होला नि होइनर ? हो अव मैले टुंग्याउँदै गर्दा भन्न खोजेको के हो भने नयाँ विद्यार्थीहरुलाई काम कसरी खोज्ने, कति घण्टा काम गर्न पाइन्छ, यहाँ नियमहरु के के छन् समस्या पर्दा कहाँ कसरी समस्या राख्ने सवै कुराको ज्ञान दिने कार्यक्रम विभिन्न संघसंसथाले विभिन्न ठाउँमा सम्पन्न गरेको मैले देखेको छु । तर त्यसरी खोज्ने कामका लागि कसरी बोल्ने ्, प्रयोग हुने शब्दहरु के हुन्छन्, नबुझ्ने शब्द प्रयोग गरेर फोन गरेमा आफूले सजिलो शब्द प्रयोग गर्नुहोस् न है भनेर कसरी भन्ने, मेनसेचुमा सोधिने शब्दावली के हुन्छन् कसरी प्रस्तुत हुने ? हो यो सिकाउने कार्यमा यहाँका सामाजिक संघ संस्था, अग्रज, समाजसेवीहरु लाग्न मेरो अनुरोध गर्दछु ।

अहिले भाषा विद्यालय हिँड्न थालेबाट धेरै भाषाको विकास हुँदै गएको त छ तर व्यवहारिक अभ्यासमा फरक हुने हुँदा वाहिर कार्यक्रम आयोजना गरेर यो वारेमा अभ्यास गराउन तर्फ लाग्न सके दाल चामलको राहतमा होइन एउटा नयाँ विद्यार्थीले अर्को नयाँ विद्यार्थीलाई जागिर लगाइदिरहेको हुने अवस्था आउँछ भन्ने लाग्दछ ।त्यसैले आशा छ चाँडै फोनमा गरिने कुराकानी, मेनसेचुमा व्यक्त हुने शब्दावली र व्यवहारिक अभ्यासको कार्यक्रम आयोजना हुनेछ र यो समस्यामा मलम बनेर आइदिनेछ ।

अन्त्यमा कम्तिमा सवै विद्यार्थीलाइ ल्याउन नसकेपछि समस्या पाइराख्नुभएका विद्यार्थीहरुबाट छानेर समूहको पनि अलि जान्ने जान्ने विद्यार्थीहरुलाई राखेर अभ्यास गराउने र उहाँले आफू बस्ने होस्टलका अन्य साथीहरुलाई सिकाउने हो भने मात्रै पनि अहिलेका लागि मात्रै होइन जीवनभरका लागि राहत होइन सम्पत्ती हुनेछ । त्यसैलै केही हप्ताको राहत लिने वा दिने नगरी जीवनभरका लाई आवश्यक पर्ने सम्पत्ती आर्जन गर्नतर्फ नयाँ विद्यार्थी लाग्ने र सामाजिक संघसंस्थाले ट पनि सोहि अनुरुप सिकाउने ? सबैले सोच्ने की एक पटक !
धन्यवाद ।

डोलराज रानाभाट, ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार