जापानमा विद्यार्थी भिसामा आउनेहरु र वर्किङ भिसामा नेपाली रेष्टुरेन्टमा काम गर्न आउनेहरुको लागि आ-आफ्नै किसिमका समस्याहरु होलान तर कुक भिसामा आउनेहरुको समस्या न कसैले सुनिदिन्छन न त सुनिदिने सम्बन्धित निकाय नै छ।हामी नेपालीहरु जुन भिसामा आएपनि हाम्रो उद्देश्य भनेको आफुले दुख गर्दै परिवारलाई खुसि राखि केहि आफ्नो सपना पुरा गर्ने आशा बोकेका हुन्छौँ।नेपालबाट जापानमा नेपाली रेष्टुरेन्टमा काम गर्न आउँदा कामदारहरु चर्को रुपमा पैसा तिरि आउने गर्दछन जहाँ कुनै निश्चित सिमा छैन जसले जति पैसा मागे पनि तिर्न बाध्य हुन्छन। आखिर यो समस्या कहिले सम्म चलिरहने ?

विशेषगरी जापानमा नेपाली रेष्टुरेन्टमा कार्यरत एउटा कर्मचारीको सामान्य तलब १० मान(१ लाख) देखि १५/१६ मान (१ लाख ५० हजार/१ लाख ६० हजार )येन सम्म पाएको सुनिन्छ। जहाँ खानको लागि प्राय रेष्टुरेन्टमै व्यवस्था हुने गर्दछ भने आवासको लागि सिङल बाहेक परिवारसँग भएको व्यक्तिहरुले आफैँ तिर्ने गरेको सुनिन्छ।जापानमा कर्मचारी र मालिकहरुविच आ-आफ्नै कमिकमजोरीले गर्दा पनि धेरै समस्याहरु उत्पन्न हुदैँ गएका हुन कि जस्तो पनि लाग्छ। दुवै पक्षमा देखिएका केहि कमिकमजोरी यिनै हुन कि जस्तो लाग्छ मेरो व्यक्तिगत बुझाईमा ।

सम्बन्धित पेशामा सीप तथा अनुभवको कमि

कुनै पनि पेशामा हरेक व्यक्तिहरुको तह उनिहरुको कार्यक्षमताले नै निर्धारण गरेको हुन्छ। कुनै पनि संस्था वा कम्पनीमा कार्यरत कर्मचारीको कार्यसम्पादन अनुसार संस्थाले प्रतिफल पाउने गर्दछ।यसैगरी पछिल्लो समय जापानको वर्किङ भिसा लिई नेपाली रेष्टुरेन्टमा काम गर्न आउने व्यक्तिहरुको संख्या क्रमिक रुपमा बढ्दै गएको देखिन्छ जहाँ कोहि कामप्रति पुर्ण दक्ष रहेको देखिन्छ भने कोहि जापान आएर काम सिक्ने गरेको देखिन्छ। यसरी काम प्रति पुर्ण दक्ष नहुदाँ काममा मानसिक तनाव भोग्नुपर्ने साथै धेरै गालि सहनुपर्ने र काम सिक्न पनि धेरै समय लाग्ने गर्दछ। विशेषगरी जापान आउनु भन्दा पहिले नेपाली तथा इन्डिएन रेष्टुरेन्टमा बन्ने सामान्य परिकारहरु नान, करि लगायत अन्य परिकारहरु बनाउन सक्ने सीप भयो भने केहि सहज हुनसक्छ।

भाषाको कमि

जापानमा काम देखि बाहिरी कुराहरुको लागि भाषा नै सबैभन्दा महत्वपुर्ण रहेको हुन्छ।जापान आउनु भन्दा पहिले नेपालबाट नै सामान्य कुराकानीहरु गर्न सक्ने गरि कम्तिमा पनि ६ महिना भाषा सिकेर आउन सकियो भने धेरै कुराहरुमा सहज हुन्छ। नेपाली रेष्टुरेन्टमा काम गर्न आएका केहि व्यक्तिहरु लाई न अङ्ग्रेजि भाषा आउँछ न त जापानीज भाषा नै !
फलस्वरुप जापान बसाई थप कष्टकर हुनसक्दछ।

आत्मविश्वास तथा आत्मनिर्भर कमि

जापानमा नेपाली रेष्टुरेन्टनमा काम गर्न आउने केहि व्यक्तिहरुमा आत्मविश्वास नै नभएको होकि भन्ने देखिन्छ। जापान आएको ५/६ महिना सम्म काममा पुर्णता हुदै जापानीज रहनसहन सङ्गै घुलमिल हुन सकियो र अन्य नेपाली व्यक्तिहरुस्ँग पनि सम्बन्ध नजिक बनाउदै जान सकियो भने जापानमा सहजै तरिकाले जीवनयापन गर्न सकिन्छ।धेरै व्यक्तिहरुमा भाषाकै कारण अन्य कुराहरुमा पनि अरुमा नै निर्भर रहने गरेको देखिन्छ।केहि व्यक्तिहरुको सोच यस्तो पनि हुन्छ कि यदि मलाई यो रेस्टुरेन्टबाट निकालिदियो भने मैलै अन्त काम पाउन सक्दिन होला मनमा कतै नेपाल नै फर्किनु पर्ने त होइन यस्तै-यस्तै कुराहरु सोच्न बाध्य हुन्छन।
यी कारणहरुमध्ये एउटा कारण नेपालको शैक्षिक स्तर पनि एकदमै कम भएर होकि भन्ने बुझाई छ।केहि व्यक्तिहरु यति सोझा पनि छन कि जहाँ मालिकले गरेका हरेक अभद्र व्यवहार पनि सहेर बसेको देखिन्छ।

पछिल्लो समय जापानमा नेपालीहरुले लगानी गरेर सन्चालनमा ल्याएका धेरै रेष्टुरेन्टहरु छन भने लगानीकर्ताहरु पनि बढ्दै गएका छन तर नेपाली कर्मचारी तथा कामदारलाई दिने सेवा सुविधा तथा उचित पारिश्रमिक बारे भने सम्पुर्ण निकायहरु मौन छन यसै क्रममा धेरै कर्मचारीहरुबाट सुनिने गुनासो एउटै रहेको हुन्छ।

न्युन पारिश्रमिक तथा विदाको कमि

सबै रेष्टुरेन्ट सन्चालकहरु खराब छैनन तर केहि सन्चालकहरु अति नै खराब रहेको कुरा सुनिन्छ। जापानको नियम अनुसार हप्तामा ५ दिन काम ,प्रतिदिन ८ घण्टा काम र १ घण्टा ब्रेक समय रहेको हुन्छ त्यो बाहेकको काम ओभरटाइममा काउन्टिङ भएको हुन्छ तर नेपाली रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरुलाई मुस्किलले हप्तामा १ दिन बिदा मिल्छ भने कसै कसैले आधा विदा दिने गर्दछन ।

यसरी कामदारलाई काममा मात्रै पेलाउदा शारीरिक तथा मानसिक रुपमा नै असर पर्न गएको हुन्छ। यसरी काम गर्दा देशको नियमअनुसार एउटा कामदारले काम गरिरहँदा तलब पनि उच्च हुनेपर्ने हो तर सोहिअनुसार पारिश्रमिक रकम पाएको देखिदैन् र ओभरटाइम काम गरेको पैसा पनि प्राप्त गर्दैनन।जापनमा नेपाली रेष्टुरेन्टमा कार्यरत आम व्यक्तिहरुले आफ्नो मिहिनेत अनुसार पारिश्रमिक पाउन सकिरहेका छैनन तर यो विषयमा किन मौन छन सबै सामाजिक संघ-संस्थाहरु !!

आवासमा उचित व्यबस्थापनको कमि

प्रायजसो रेष्टुरेन्टमा कार्यरत कर्मचारीहरुलाई मालिकले नै बस्नको लागि व्यवस्था गर्दिने गर्दछन तर परिवार सँङ्ग भएकोलाई स्वयम व्यक्तिले नै गरेको देखिन्छ। आवासको व्यवस्था गरेपनि उचित व्यवस्थापन नगरेको भन्ने गुनासो सुनिन्छ जहाँ इन्टरनेटको सुविधाको पैसा आफै तिर्नुपर्ने रुममा एसी पनि जडान नगर्दिने जसले गर्दा गर्मी तथा जाडो महिनामा अत्यन्तै गार्हो भएको भन्ने गुनासो सुनिन्छ। विशेषगरी परिवार सङ्ग बसेका कर्मचारीहरुलाई पनि आवस भत्ता भनेर केहि रकम उपलब्ध गराउन सकेमा केहि सहज हुने थियो कि!

कर्मचारी उत्प्रेरणाको कमि

कर्मचारीलाई मानसिक रूपमा स्वस्थ र ऊर्जावान् बनाएर लामो समयसम्म कम्पनी वा संस्थामा राख्न सक्नु नै कुनै पनि कम्पनीको लागि राम्रो पक्ष मानिन्छ। यदि ऊ आफ्नो काममा खुसी र ऊर्जावान् महसुस गर्दैन भने त्यसको प्रभाव उसको जीवनको अन्य ठाउँमा पनि परेको हुन्छ त्यसैले जापनमा रहेका रेस्टुरेन्ट सन्चालकहरुले यो विषयलाई गम्भिर रुपमा सोच्न जरुरी रहेको देखिन्छ।विशेषगरी नेपाली कर्मचारीहरुलाई काम प्रति अग्रसर बनाउनको लागि सन्चालकहरुले समयसमयमा तलब बृदि गरिदिने, वर्षमा १ पटक भएपनि बोनस प्रदान गरिदिने, वर्षमा कम्तिमा पनि १२ दिन जति भएपनि कर्मचारी विदा दिने कुनै कारण विदा बस्दा प्रयोग गर्न मिल्ने गरी, वर्षको एकपटक २/३ दिन कर्मचारी भ्रमणको व्यवस्था गरिदिने हो भने जापानमा कार्यरत कर्मचारीहरुलाई केहि उत्प्रेरणा मिल्ने थियो कि?

धम्किपुर्ण व्यवहार

जापान आएका नेपालीहरु प्राय १२/१५ लाख सम्म रकम तिरि वर्किङ भिसामा नेपाली रेष्टुरेन्टमा काम गर्न आएका हुन्छन जहाँ कुनै कामदार काममा पुर्ण दक्ष हुन्छन भने केहि व्यक्तिहरु जापान आएर नै काम सिक्ने गर्दछन । सुरु सुरुमा काम सिकाउदा एकदमै रिसाउने , तलब थोरै दिने त्यसैमाथि ढिलो तलब दिने र भिसा नै रद्द गरिदिन्छु भन्ने जस्ता धम्कि दिने गरेको पनि कतै-कतै सुनिन्छ साथै मानसिक यातना दिने, तल्लो दर्जाको व्यवहार गर्ने , कामदारको सालमा एक वा दुईपटक पनि मेडिकल चेकअप अर्थात स्वास्थ्य जाँच नगरिदिने।
यसकारण धेरै कर्मचारीहरुले आफ्नो गुनासो तथा समस्याहरु सुनाउने सम्बन्धित निकाय नभएर नै विभिन्न समस्याहरु सहन बाध्य भएका छन।

यसरी लेखिरहँदा जापानमा रहेका सबै व्यवसायी व्यक्तिहरु गलत नै छन भन्न खोजेको हैन तर धेरै व्यक्तिहरुले भने सुधार गरेर अघि बढ्नुपर्ने देखिन्छ। त्यसो त जापानको यो महङ्गो रहनसहन र हरेक खाद्य वस्तुको उच्च मुल्य सँगै लगानीले प्रतिफल दिने नदिने जोखिम नै मानिन्छ। त्यसैले हरेक मालिकहरुले असल व्यवहार , कर्मचारीप्रति पुर्ण बफादार रहि अघि बढ्न सक्ने हो भने स्वयम कामदारहरुलाई नै मैले मालिकको लागि काम गरेको छु भन्दा मेरै लागि गरेको छु भन्ने भाव हुने थियो कि!

एनआरएनए किन यो विषयमा मौन छ ?

पछिल्लो समय जापानमा धेरै नेपाली संघ-सस्थाहरु छन त्यसैमध्ये पनि NRNA प्रमुख मानिन्छ तर पछिल्लो समय विभिन्न घटना तथा गतिविधिहरुले गर्दा यो संस्था प्रति हेर्ने दृष्टिकोण पनि त्यतिराम्रो मानिदैन जहाँ राजनीतिकरण धेरै भएको देखिन्छ। समाजसेवाको खोल ओढ्दै भित्रभित्रै प्रदुषित गराउने केहि व्यक्तिहरुको गुट उपगुट मौलाउदै गएको यहि संस्था भित्र देखिन्छ। जापानमा रहेका अधिकांश होटेल तथा रेष्टुरेन्टका मालिकहरु नै विभिन्न संघ संस्थाहरुमा आबद्ध रहेको देखिन्छ त्यसैले गर्दा पनि समस्या समाधानको बाटो खोज्ने जिम्मेवारी व्यक्तिहरु नै त्यहि रहेको हुनाले सुनुवाई भएपनि समाधान हुन नसकेको होकि जस्तो लाग्छ। समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने भन्दा पनि आफूहरूले नै समस्या पारिदिने र बाहिर केहि गरेजस्तो देखावटी व्यवहार देखाउने व्यक्तिहरु धेरै रहेका छन। यसरी बाहिर ठुलै संघ-संस्थाको माथिल्लै पदमा रहिँ नेता तथा समाजसेवी बनिरहने र भित्र रेष्टुरेन्ट खोलेर मजदुरहरुलाई चुसिरहने प्रवृति आखिर कहिले सम्म चलिरहने जापानमा ।

जापानमा रहेका विभिन्न सामाजिक संघ- संस्थाहरु , नेपाली दुतावास, विभिन्न व्यवसायीकर्मीहरु, बुद्दिजिबी व्यक्तिहरु र अन्य पेसामा आबद्ध रहनु भएका व्यक्तिहरु मिलेर उचित किसिमको मापदण्ड तयार गर्नुपर्ने आवश्यक देखिन्छ्।
होइन भने जापानमा नेपाली रेष्टुरेन्टमा कार्यरत कामदारहरुले सधैँ श्रम शोषण सहेर बस्नुपर्ने हुन्छ।

मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी हाल जापान

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार