टोकियो । जापानको राजधानी टोकियो स्थित नाकानो सहरको सिकिनो मोरी पार्कमा आयोजित १२ औँ नेपाल फेस्टिवल २०२२ सम्पन्न भएको छ ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा यहि जुलाई ३० र ३१ तारिख २ दिनका लागि आयोजित फेस्टिवल नेपाल र नेपालको धार्मिक, सांस्कृतिक,जातिय तथा प्राकृतिक विविधता र पर्यटन सम्भाव्यता झल्काउने प्रस्तुतीहरु सहित भव्यरुपमा सम्पन्न भएको हो ।

यस पटकको नेपाल फेस्टिवललाई नेपाल सरकार सहित जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो । फेस्टिवल उद्घाटनमा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना उपस्थित भएका थिए । यस बाहेक जापान सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी, फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागीता रहेको थियो ।

दुई दिने नेपाल फेस्टिवलमा नेपालको पर्यटन प्रर्वद्धन, मौलिक कला संस्कृति प्रर्वद्धन सहित सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक सहित खाना परिकारहरु प्रर्दशन गरिएका थिए । झण्डै दुई दर्जन व्यवसायका स्टल समेत स्टलहरु रहेका थिए । यसका अलवा यस पटकको फेस्टिवलमा निःशुल्क स्वास्थ्य शिविर तथा अनेसास जापानको पुस्तकहरुको स्टल पनि राखिएको थियो ।

उच्च गर्मी,बढ्दो कोभिड महामारि सहित मंकिपक्स भाइरसको जोखिमका बाबजुद २ दिने नेपाल फेस्टिवलमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलका अनुसार, यस पटक फेस्टिवल विगतका तुलनामा निकै सभ्य र भव्य रह्यो भने  दर्शकहरु पनि अत्यन्तै उत्साह जनकरुपमा उपस्थित भए।

 

फेस्टिवलमा टोकियो,साईतामा,चिबा, खानागावा सहित सबैभन्दा टाढा रहेका ओकिनावा तथा होक्काइदोबाट समेत मानिसहरु मेला भर्न आएका थिए ।फेस्टिवलमा,नेपालीहरुका साथै जापानी, बेलायती, अमेरिकी, ईण्डियन, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन देशहरु तथा युरोपियन लगायत जापानमा रहँदै आएका दर्जनौं विदेशी नागरिकहरुको समेत सहभागीता रहेको पाइएको छ।

फेस्टिवल सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले फेस्टिवलको आय/व्यय लगायतका विषयमा छिट्टै सम्पूर्ण विवरण पारदर्शि रुपमा सार्वजनिक गर्ने बताएका छन् । तस्बिरहरुः राजन/सुमीत्रा/शान्त/सजिना

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार