विश्वको जुनसुकै क्षेत्रमा पनि हरेक व्यवसायको प्रमुख लक्ष्य भनेको ग्राहकलाई सन्तुष्टी प्रदान गर्दै नाफा कमाउनु रहेको हुन्छ।कुनै पनि व्यावसायीले आफ्नो व्यवसाय सफलतापूर्वक सन्चालन गर्न आफ्ना ग्राहकहरुको आवश्यकता तथा चाहना अनुरुप वस्तु उत्पादन तथा उपलब्ध गराउनुपर्दछ।एउटा सफल व्यावसायीले सबैभन्दा पहिला ग्राहकको आवश्यकता पत्ता लगाउँछ र त्यही अनुसार वस्तु वा सेवा प्रदान गर्दछ।

पछिल्लो समय जापानको विभिन्न शहरहरुमा पनि नेपाली हलाल पसलहरु बढ्दो क्रममा रहेका छन जसले गर्दा हामी नेपालीलाई निकै सुविधा भएको छ। विशेषगरी नेपाली हलाल पसलहरुले नेपाली तथा इन्डिएनहरुको भान्सामा दैनिक रुपमा प्रयोग हुने खानेकुराका सामानहरु बेच्ने गर्दछन र त्यस्ता पसलहरुमा केहि जापानीजहरुले पनि सामान किन्ने गरेको पाइन्छ।

विभिन्न किसिमका व्यवसायहरु सन्चालन गर्दा सुरुमा केहि कठिनाइहरु भएतापनि व्यवस्थित तरिकाले चलाउन सक्ने हो भने फाइदा हुने आधारहरु पनि धेरै रहेका हुन्छन त्यसैले पनि जापानमा यस्ता किसिमका पसलहरुको संख्या बढिरहेका छन तर नाफाको दर भने क्षेत्र तथा नेपालीहरुको संख्यामा भर पर्दछ। नेपाली हलालहरुले पनि इन्डिया ,बङ्गलादेश लगायत विभिन्न देशहरुबाट आयात गरिएका सामानहरु बिक्री गर्ने हुदाँ लागत खर्च पनि अलि बढि लाग्ने र जापानमा घरभाडा पनि महङ्गो हुने भएकोले वस्तुको बिक्री मुल्य पनि केहि उच्च रहेको हुन्छ । विशेषगरी भान्सामा प्रयोग हुने विभिन्न सामाग्री तथा परिकारहरु ,मासुजन्य वस्तु , खाद्य वस्तु ,मादक पदार्थ , पुजाआजाका भाडाँहरु तथा कपडाहरु लगाएत विभिन्न सामान बेच्ने गर्दछन। केहि वर्ष अघि जापानमा यस्ता किसिमका पसलहरु थोरै मात्रा भएको हुनाले वस्तुको मुल्य निर्धारणमा एकाधिकार जस्तै देखिन्थ्यो तर आजभोलि पसलहरुको संख्या बढे सङ्गै व्यापारीहरु विच बस्तु बिक्रीमा प्रतिस्पर्धा भएको हुनाले वस्तुको मुल्य निर्धारणमा विचार गर्नुपर्ने भएकोले ग्राहकहरुलाई पनि केहि सहज भएको देखिन्छ तर अझै पनि केहि पसलेहरुले भने आ-आफ्नै तरिकाले मुल्य निर्धारण गर्ने गरेको पनि देखिन्छ। त्यसैले तपाईहामी पनि यि कुराहरुमा सजग हुन जरुरी रहेको छ।

विशेषगरी जापानमा रहेका हलाल पसलहरुका धेरै राम्रा पक्षहरु हुदाँहुदैँ पनि केहि पसलका व्यक्तिहरुको खराब र गलत नियतले गर्दा सम्पुर्ण व्यापारीहरु विच नै नकारात्मक प्रभाव पर्न गएको देखिन्छ त्यसैले गर्दा पनि ग्राहकहरुले सामान किनमेल गर्दा ध्यान दिन जरुरी देखिन्छ।

समान वस्तुको मुल्यमा भिन्नता

जापानमा रहेका नेपाली पसलहरुमा हरेक वस्तुहरुको ठाउँअनुसार बिक्री मुल्य फरक- फरक रहेको देखिन्छ क्षेत्र अनुसार केहि रकम फरक हुनु स्वभाविक नै हो तर यहाँ एउटै क्षेत्रमा पनि वस्तुको मुल्य फरक रहेको देखिन्छ। खाद्य पदार्थहरुमा थोरै मात्रामा फरक देखिएतापनि अल्कोहल , पुजाआजा, वर्तबन्ध लगायतका भान्सामा प्रयोग हुने भाडाँकुडाँहरुको मुल्यमा धेरै अन्तरको रकम नै फरक हुने गरेको पाइन्छ। त्यसैले हामीहरुले सामान किन्दा निकै सजग हुन जरुरी देखिन्छ। हामी ग्राहकहरु नै मुल्यबारे सजग भई आफ्नो नजिकका पसलहरु लगायत साथीहरुको सहयोगबाट अन्य ठाउँका पसलहरुमा पनि मुल्यबारे जानकारी लिने हो भने व्यापारीहरु पनि समान मुल्य निर्धारण गर्न बाध्य हुन्छन।सामान्यतया कुनै पनि बस्तुको खरिद मुल्यबाट केहि प्रतिशत मार्जिन राखेर बेच्नु स्वभाविक भएतापनि यहाँ सामानहरुको अत्याधिक मुल्य तोकि व्यक्ति हेरेर पनि बिक्री गरेको देखिन्छ। त्यसैले जापानमा भएका हलाल पसलहरुले पनि क्षेत्र अनुसार वस्तुहरुको समान मुल्य निर्धारण गरेर अघि बढ्न सक्ने हो भने स्वच्छ प्रतिस्पर्धा हुनुको साथै हामी नेपालीहरुलाई पनि विस्वासको आधार बन्दछ।

म्याद गुज्रिन लागेका खाद्य पदार्थ

जापानमा रहेका हलाल पसलका व्यापारीहरुले नेपालीहरुलाई लक्षित गरेर विभिन्न किसिमका वस्तुहरुको आपूर्ति गरेपनि सोहिअनुसार सबै वस्तुहरुको माग समान नहुन सक्दछ भने केहि वस्तुहरुको मागलाई सिजन, समय र चाडपर्वहरुले पनि प्रभाव पार्ने गर्दछ फलस्वरुप केहि खाद्य बस्तुहरु लामो समयसम्म बिक्री नभई स्टकमा नै रहने गर्दछ।यि सामानहरु लामो समय राख्दा म्याद पनि सकिन लाग्ने र ग्राहकहरुले किनेर प्रयोग गर्दा पनि खासै स्वाद नहुने साथै स्वास्थ्यमा पनि असर पुर्याउने सम्भावना रहेको हुन्छ।

हामी नेपालीहरु धेरैले जे-जस्तो अवस्थामा भेटिन्छ, त्यही खरिद गरी खाने त हो भन्ने सोचलाई बदली हरेक वस्तुको उत्पादन गरिएको मिती र त्यसको म्याद कति समयसम्म रहेको छ राम्रोसँग चेक गरि किन्ने बानी बसाल्नुपर्दछ। साथै व्यापारीहरुले पनि सामान बिक्री गर्दा हरेक वस्तुहरुको म्याद हेरि बिक्री गर्न मिल्ने नमिल्ने चेक गरेर बेच्न आवश्यक रहेको देखिन्छ।

हामीलाई पनि आफु बसेको नजिकका हलाल पसल होस या अन्यन्त्र ठाउँका पसलहरु राम्रोसँङग व्यापार भैदियोस, जापानीज ग्राहकहरुलाई राम्रोसँङ्ग व्यवहार गरिदिए हुन्थ्यो , आफ्ना नजिकका साथिहरुलाई पनि त्यहि पसल नै चिनाउन पाए हुन्थ्यो जस्तो लाग्छ तर केहि व्यापारीहरुले ग्राहक प्रति गरेको व्यवहार देख्दा त्यहीँ ठाउँमा फेरि पनि जान नपरोस जस्तो महसुस हुने गर्दछ। त्यसैले बस्तु तथा सेवा प्रदान गर्दै गर्दा ग्राहक प्रति गरिने व्यवहारमा पनि व्यापारीहरु सजग पो हुने होकि!

पछिल्लो समय जापानमा हलाल पसलहरु बढे सङ्गै व्यापारीहरु विच पनि एउटा समुह बनाएर क्षेत्र अनुसार हरेक वस्तुहरुको समान मुल्य निर्धारण गरेर अघि बढ्न सक्ने हो भने ग्राह्कलाई पनि सजिलो हुने थियो साथै व्यापारीहरु विच पनि सदभाव पुर्ण व्यवहार को वातावरण सिर्जना हुने थियो तर यहाँ आफ्नाहरु नै एक आपसमा रिस ,इर्ष्या र द्वन्दको भावना राखेर अघि बढेका हुन्छन।

कुनै ठाउँमा हलाल पसल खोल्न पनि नजिक अर्को पसल छ कि छैन भनेर डराउनु पर्ने छ कतिपय व्यक्तिहरु पसल निर्माण तयारीको काम गर्दै गर्दा त्यहि गएर झगडा गर्ने गरेको पनि सुनिएको छ। त्यसैले सबै मिलेर केहि आधारभुत नियम तय गरेर अघि बढ्ने हो भने सबैलाई सहज हुनुको साथै सुरक्षित पनि हुने थियो कि?

जापानमा रहेका हरेक नेपालीहरुले स्वच्छ र गुणस्तरीय खानेकुरा नै स्वस्थ्य जीवनको आधार हो भन्ने तथ्य मनन गरी सोही अनुसार खाद्य पदार्थको छनोट, खरिद र उपभोग गरेर अघि बढ्ने कि?

मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार