टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानमा यस वर्ष कुल ११ हजार ३ सय ७९ जनाले साधारण सदस्यताको लागि आवेदन दिएका छन् ।

यस पटक एनआरएनए जापानले गत फेब्रुअरी १६ बाट मे ५ तारिखसम्मका(पहिलो चरणको) लागि सदस्यताको आह्वान गरेको थियो। तर मे ५ तारिखसम्म पनि त्यतिधेरै सदस्यहरु नसमेटिएपछि समय अपुग भएको भन्दै पुनः यहि मे २१ तारिखसम्मका लागि समय थप गरिएको थियो। यस थप गरिएको समयमा सदस्यताको लागि उत्साह जनक आवेदन परेको देखिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार,२१ तारिखसम्म कुल ११ हजार ३ सय ७९ जनाले आवेदन दिएका छन् । प्राप्त आवेदन मध्ये २ हजार ७ सय ८५ जनाको सदस्यता प्रमाणित भईसकेको छ भने,१ हजार २ सय ४५ जनाको आवेदन पेन्डिङ(छानबिन समितिले हेरेर,अपुग कागजात पुर्याउन मेल पठाईएहरु)मा रहेका छन्। त्यसैगरि हालसम्मको छानबिनमा १५ वटा आवेदन अस्विकार (विद्यार्थी लगायतका सदस्य बन्ने मापदण्ड नपुगेका) भएका छन् भने ४ हजार १ सय ८ वटा आवेदनहरु प्राप्त भएका छन् तर छानबिन समितिले छानबिन गर्नै बाँकी छ। त्यस्तै ३ हजार २ सय २६ वटा आवेदनहरु भने ड्राफ्ट(आवेदन दिने प्रकृयामा गएर पनि आवेदन पुर्ण नगरेका )को सूचीमा रहेका छन् ।

महासचिव श्रेष्ठका अनुसार,नयाँ आवेदन लिने सिस्टम २१ तारिखदेखि बन्द भएको भएपनि पेन्डिङमा रहेका तथा ड्राफ्टमा रहेकाहरुलाई आवेदन पुर्ण गराउन केहि समय दिईनेछ। त्यस समय भित्र पुर्णता हुने आवेदनहरुको मापदण्ड पुगेमा सदस्यता प्रमाणित गरिनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार